विकलको स्मृतिमा विद्यार्थीको सिर्जना : अरुणिमा–विकल स्थलगत चित्रकला प्रतियोगिता
वरिष्ठ आख्यानकार तथा कुशल चित्रकार रमेश विकलको स्मृतिमा आयोजित अरुणिमा–रमेश विकल अन्तरविद्यालयस्तरीय स्थलगत बाल चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित नव अरुणिमा माध्यमिक विद्यालयमा शनिबार सम्पन्न प्रतियोगितामा २९ विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत ५६ जना विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका थिए।
प्रतियोगिताको प्रमुख आतिथ्य नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्यले गर्नुभएको थियो। कार्यक्रममा अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुंगाना र नव अरुणिमा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद बरालले प्रतियोगिताको उद्देश्य तथा पृष्ठभूमिबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा अरुणिमा शैक्षिक प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछाने, रमेश विकल साहित्य प्रतिष्ठानका सचिव आलोक चालिसे, गोकर्णेश्वर नगरपालिका–९ का वडाध्यक्ष राजीव थापालगायतको उपस्थिति थियो।

सहभागी विद्यार्थीले तयार पारेका चित्रको मूल्याङ्कन सृजना कलेज अफ फाइन आर्टस्का प्राध्यापक कृष्णगोपाल श्रेष्ठ र भिजुअल आर्टिस्ट सम्झना राजभण्डारीले गर्नुभएको थियो।
प्रतियोगितामा जिनियस इङ्लिस स्कुलकी सम्झना तामाङ प्रथम, अरुणिमा माध्यमिक विद्यालयकी स्वीकृति तामाङ द्वितीय, शिक्षालय नेपालका युजधोज थापा तृतीय र हिमशृंखला एकेडेमीकी रश्मि श्रेष्ठ चतुर्थ हुनुभएको छ।
यस्तै, द सेलिब्रेसन को–एडकी लोमस पुडासैनीले निर्णायक प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभएको छ। विजेता विद्यार्थीलाई प्रमाणपत्र, ट्रफी तथा मेडल प्रदान गरिएको थियो।

अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुंगानाले विद्यार्थीमा सिर्जनशीलता र कलाप्रतिको रुचि विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितालाई आगामी दिनमा समेत निरन्तरता दिइने बताउनुभयो।





प्रतिक्रिया राख्नुहोस्