जन सरोकार

टनेलभित्र १२१ जना फसेको आशंका, ‘ब्रेक थ्रु’ नभएसम्म उद्धार नरोकिने : नेपाली सेना

नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ‘ब्रेक थ्रु’ नभएसम्म खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने जनाएको छ।

बाढी प्रभावित विभिन्न जलविद्युत् आयोजनाका टनेलमा करिब १२१ जना नागरिक फसेको हुनसक्ने अनुमान गर्दै सेनाले खोज तथा उद्धारलाई तीव्रता दिएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा सहायक रथी सुवाशजङ्ग थापाले सरकारले काम रोक्ने निर्णय नगरेसम्म टनेलमा ‘ब्रेक थ्रु’ नभएसम्म खोज तथा उद्धार कार्य जारी रहने बताउनुभयो। उहाँका अनुसार टनेलभित्र तीव्रताका साथ निरन्तर खोजी भइरहेको छ।

बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका टनेलमा करिब १२१ जना नागरिक फसेको हुनसक्ने अनुमान सेनाले गरेको उहाँले जानकारी दिनुभयो।

सहायक रथी थापाका अनुसार रसुवागढी जलविद्युत् आयोजनामा खोज तथा उद्धार टोली र आयोजनाका प्रतिनिधिसहितको टोलीले ‘पावरहाउस’ तथा ‘कन्ट्रोल प्वाइन्ट’ (नियन्त्रण कक्ष) सम्म पुगेर खोजी गरेको छ।

नेपाली सेनाले विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई हवाई, जमिन र टनेल गरी तीन क्षेत्रमा विभाजन गरेर अघि बढाएको जनाएको छ।

सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले नेपाल सरकारको निर्देशनअनुसार विपद्सँग सम्बन्धित सबै निकायसँग समन्वय र सहकार्य गर्दै खोज तथा उद्धार कार्य भइरहेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “नेपाली सेनाले नेपाल सरकारको निर्देशनबमोजिम विपद्मा सहयोग गर्ने सम्बद्ध सबै निकायसँग समन्वय र सहकार्य गरेर कार्य गरिरहेको छ। हवाई, जमिन र टनेल खोज तथा उद्धार गरी तीन वटा क्षेत्रमा बाँडेर काम गरिरहेका छौँ।”

सहायक रथी बस्नेतका अनुसार विदेशबाट नेपाल आएका उद्धारकर्मीसँग समेत सहकार्य गरेर उद्धार कार्य अघि बढाइएको छ। उहाँले विपद्का क्रममा नेपाली सेनाका ४५ जना सैनिकसमेत बेपत्ता भएको जानकारी दिनुभयो।

अधिकांश प्रभावित क्षेत्रमा राहत पुगेको दाबी

पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत सामग्री पुगिसकेको जानकारी दिनुभयो।

उहाँका अनुसार अहिले हेलिकप्टरलाई खोज तथा उद्धार कार्यमा प्राथमिकता दिइएकाले हेलिकप्टरमार्फत राहत पुर्‍याउनुपर्ने केही दुर्गम क्षेत्रमा भने राहत सामग्री पठाउन कठिनाइ भइरहेको छ।

त्यस्ता क्षेत्रमा त्रिशूली, रसुवालगायत हेलिकप्टर पुग्न सक्ने नजिकका स्थानबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उहाँले बताउनुभयो। स्थानीय सरकारसँग निरन्तर समन्वय गरी राहत वितरणको काम अघि बढाइएको उहाँको भनाइ छ।

विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य निरन्तर भइरहेको जानकारी दिँदै डा. उप्रेतीले छिमेकी मुलुकसँग समन्वय गरी खोज, उद्धार तथा राहतका लागि आवश्यक सहयोग लिइरहेको बताउनुभयो।

राज्यका तर्फबाट खोज, उद्धार र राहतमा कुनै कसर बाँकी नराखिएको उल्लेख गर्दै उहाँले सुरक्षा निकायलाई चौबीसै घण्टा परिचालन गरिएको जानकारी दिनुभयो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.