जन सरोकार

भोटेकोशी बाढी : ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’

भोटेकोशीको बाढी धेरै साम्य भयो तर त्यसले दिएको पीडा झन् बढ्दो छ । बाढीका कारण सम्पर्कविहीन भएकाहरूको परिवारमा रुवावासी र छट्पटी छ । घटनाको दुई साता बित्दासमेत सम्पर्कविहीन भएकाको कुनै नयाँ सूचना नआएपछि महोत्तरीका १० घरपरिवारमा अहिले सन्नाटा छ ।

“हे भगवान्, जे सजाय दिनुछ, मलाई देऊ ! गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्,” सम्पर्कविहीन पतिका बारेमा कुनै जानकारी प्राप्त नहुँदा विचलित बनेकी महोत्तरीको पिपरा–३ की इन्दिरा यादव जतिखेर पनि यस्तै पुकारा गरिरहनुहुन्छ ।

छ महिनाको गर्भ हुर्काइ रहनुभएकी इन्दिराका पति विकासकुमार यादव यही भदौ १० गतेको भोटेकोशी बाढीका दिन आफू कार्यरत् त्रिशुली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन हुनुभएको हो ।

“म अब काममा जान्छु, तिमी ढोका लगाएर बस भनेर काममा जानुभएको थियो,” घटनाको दिन सम्झँदै इन्दिरा भन्नुहुन्छ, “क्वाटरबाट १० मिनेटजति लाग्ने दूरी हो, फेरि मलाई ढोका खोल भन्न आउनुभएन,” कार्यरत स्थानमा आवास सुविधा भएपछि विकासले पत्नी र छोरीलाईसँगै जैजानुभएको थियो ।

“कामबाट फुर्सद भयो कि फोन गर्नुहुन्थ्यो, अहिले उहाँको एक वचन सुन्न मन तड्पिरहेछ,” हाल पिपरा–३ स्थित घरमा रहनुभएकी इन्दिरा विलाप गर्दै भन्नुहुन्छ, “न छोरीले राम्रोसँग बोलाएकी छ अहिलेसम्म, न यो गर्भको बच्चाले बाबु चिन्न पाउने भयो । हे भगवान् ! गर्भे बच्चालाई न्याय गर ।”

आवासगृहका सुरक्षागार्डले माथिबाट ठूलो बाढी आउँदैछ, डाँडातिर चढ्नोस् भनेपछि छोरी काखमा च्यापेर हस्याङफस्याङ हुँदै थुम्कोमा पुगेर तलतिर हेर्दा आयोजना परिसर बाढीले ढाकेको इन्दिरालाई सम्झना छ ।

“क्वाटरमा भएका हामी निस्क्यौँ, उहाँ पनि कतै निस्कनु भयो होला भन्ने आसमा पर्खे तर न फोन आयो, न मैले गर्दा लाग्यो,” इन्दिरा भक्कानिँदै भन्नुहुन्छ, “साँझसम्म उहाँको कुनै अत्तोपत्तो नभएपछि तल झरेर खोजी गरे तर केही पाइएन ।” त्यसपछि इन्दिरा र छोरीलाई सेनाले काठमाडौँ ल्याइदिएको र त्यहाँबाट उहाँका दाजुले घर ल्याउनु भएको हो ।

विकास सम्पर्कविहीन भएको खबर फैलिएसँगै अहिले इष्टमित्र र आफन्तजन उहाँको घरमा पुरिरहेका छन् । कोही नयाँ मान्छे घर आयो कि विकासको खबर आयो कि भन्ने परिवारजनलाई पर्छ । दुई साता नाघ्दासम्म कुनै थप खबर नपाउँदा परिवार पूरै विचलित बनेको छ ।

केही महिना पहिलेमात्र पाठेघरको शल्यक्रिया गराइएकी आमा बिनादेवी यादव इन्तु न चिन्तु भएर लड्नु भएको छ । छिनछिनमा ‘मेरो विकास बाबु आयौ’ भन्दै बर्बराउने बिनाका आँखामा आँसु सिद्धिएर डिल सुन्निएका छन् । पिता शम्भुनाथ र भाइ सुवासको अवस्था पनि उस्तै छ ।

“हामीले आफ्नोतर्फबाट पनि निकै खोजी गर्यौं, दाजुको केही पत्ता लागेन,” बर्बरी आँसु झार्दै भाइ सवास भन्नुहुन्छ, “आमा र भाउजूलाई के गरी सम्हाल्ने होला ?” अवकाश प्राप्त शिक्षक शम्भुनाथ पत्नी बिना र बुहारी इन्दिराका अगाडि ‘बाबु आउँछ’ भन्ने गरे पनि लुकेर गह भिजाउँदै आफ्नो पीडा व्यक्त गर्नुहुन्छ ।

“अब छोरा काममा लाग्यो, हाम्रा दुःखका दिन गए भनेर दङ्ग पर्थे, परमात्मालाई हाम्रो खुसी मञ्जुर रहेनछ, यो बुढेसकालमा विलाप गर्नु परेको छ,” शम्भुनाथ भन्नुहुन्छ, “बुबा, अब तपार्ईं दुःख नगर्नोस भन्थ्यो, अहिले रुवाइ रहेको छ ।”

विकास पढाइमा सधैँ अब्बल रहेको र आफ्नो कक्षामा कहिल्यै दोस्रो नभएको शम्भुनाथ बताउनुहुन्छ । “खै यो उमेरमा के भोग्न लेखेको रहेछ,” शम्भुनाथ छोरा सम्झँदै भन्नुहुन्छ ।

भोटेकोशी बाढीले विकासको जस्तै महोत्तरीका १० घरमा विलाप सुनिन्छ । यहाँका १० जना रसुवा र नुवाकोटबाट सम्पर्कविहीन हुनुभएको छ । बाढीमा परी मधेस प्रदेशका १७८ जना सम्पर्कविहीन भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै, तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

दिन बित्दै गएपछि परिवारजनमा आफ्ना मान्छे सकुशल भेटिने हो होइन भन्ने द्विविधा बढेको छ । सम्पर्कविहीनको खोजी गरी जेजस्तो अवस्था भए पनि आपूmहरूले देख्न पाऊँ भन्ने परिवारजन सरकार र खोज उद्धारकर्तासँग अनुनय विनय गर्दैछन् । आफ्ना मान्छे सुशल भेटिएको चमत्कारिक खबरको पर्खाइमा उनीहरूको विलौनामा सुनिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.