नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि मलेसियामा जारी एसिसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गरेको छ । अब नेपालले उपाधिको लागि यूएईसंग खेल्नेछ ।
बिहीबार मलेसियाको वायुमास क्रिकेट ओभल मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा १ सय ४७ रनमा अल आउट भयो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले ७६ बलमा ४ चौकाको मद्दतमा ५१ रनको अर्धशतकीय पारी खेले भने बसिर अहमदले ८८ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४७ रन बनाए ।
नेपाल ३६-४ को को दयनिय अवस्थामा हुँदा यी दुईले पाँचौं विकेटको लागि ९३ रनको साझेदारी गरेका थिए । यस्तै देव खनालले १३ र आसिफ शेखले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् सकेन । नेपालले लगातार रुपमा विकेट गुमाउँदा खेलमा ओमान हाबी भएको थियो ।
ओमानका लागि जय ओडेडरा र हस्नैन शाहले समान ३-३ विकेट लिए भने मुहम्मद इमरानले २ विकेट लिँदा शकील अहमद र मुजिबुर अलीको भागमा समान १-१ विकेट रह्यो । नेपालले दिएको १ सय ४८ रनको लक्ष्य लिएर मैदान उत्रेको ओमान २८ दशमलव १ ओभरमा ६० रनमा अलआउट हुन पुग्यो ।
ओमानको लागि जतिन्दर सिंहले २५ र जितेन रामानन्दीले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालको लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३-३ विकेट लिए भने रोहित पौडेल र ललितनारायण राजवंशीको भागमा समान २-२ विकेट रह्यो ।
अब उपाधिको लागि नेपालले शनिबार यूएईसंग खेल्नेछ । बिहीबारै भएको पहिलो सेमिफाइनलमा यूएईले हङकङलाई ७ विकेटले पराजित गरेको थियो । प्रतियोगिताको उपाधि जित्ने टोली बंगलादेशमा हुने एसिया कपमा छनोट हुनेछ ।
नेपाल समूह चरणमा तीन खेल जित्दै सेमिफाइनलमा पुगेको हो । नेपालले बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गर्दा हङकङसँग भने हार व्यहोरेको थियो ।





प्रतिक्रिया राख्नुहोस्