अर्थजन सरोकार

जापानको सीप र कमाइ नेपालमा लगानी

जापानमा १९ वर्षदेखि रेष्टुरेन्ट व्यवसाय गरेको एक परिवारले चितवनमा होटल सञ्चालनमा ल्याएको छ । जापानमा सात रेष्टुरेन्ट सञ्चालन गरिरहेको चिरञ्जीवी आचार्य र प्रकाश आचार्यको परिवारले यहाँ होटल सञ्चालनमा ल्याएको हो ।

भरतपुर–१० दीपेन्द्र चोकमा ‘चितवन स्पाइसी हर्ब’ नामबाट होटल सञ्चालनमा आएको छ । होटलमा १२ डिलक्स कोठा रहेका छन् । होटलमा दुईवटा गोलो आकारका फरक ढङ्गका कोठा पनि रहेका छन् । होटलमा ६० जना क्षमताको एउटा र ३०-३० जना क्षमताका दुई वटा हल रहेका छन् ।

एक सय जना क्षमताको रेष्टुरेन्ट र २०० जना क्षमताको रुफटप रेष्टुरेन्ट होटलमा रहेका छन् । यस्तै बाहिरी भागमा एक सय जनाभन्दा बढी अट्ने ओपन रेष्टुरेन्ट रहेको छ ।

होटल परिसरमा २५ वटा कार र एक सय वटा मोटरसाइकल पार्किङ गर्ने क्षमता रहेको सञ्चालक प्रकाश अचार्यले बताउनुभयो । चार कट्ठा क्षेत्रफलमा रहेको यस होटलमा जग्गाबाहेक रु पाँच करोड लगानी भएको उहाँले जानकारी दिनुभयो ।

दुई दशक लामो जापानको रेष्टुरेन्ट व्यवसायको अनुभव हासिल गरेको आचार्य परिवारले यस होटलमा जापानिज, इन्डियन, चाइनिजसहित दक्षिण एसियाली परिकारहरुको फ्युजन गरी परिकारहरु पस्कने सञ्चालक चिरञ्जीवी आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा अन्य रेष्टुरेन्टको भन्दा फरक स्वाद दिने गरी हामीले मेनु तयार गरेका छौँ ।”

चिरञ्जीवीले आफूले जापानमा ४२ वटा रेष्टुरेन्ट बनाएर ३५ वटा बिक्री गरेको र हाल सात वटा सञ्चालनमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश नेपालीले मेरा रेष्टुरेन्ट किन्नु भएको हो, त्यसमध्ये दुई वटा बन्द छन् भने बाँकी राम्रो चलेका छन् ।” एउटा बिल्डर्सले भवन भत्काएको र अर्काे चलाउन नसकेको भए पनि बाँकी राम्रोसँग चलेको उहाँले बताउनुभयो ।

कोभिडपछि रेष्टुरेन्ट बनाएर बिक्री गर्न छाडेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नयाँ मानिसलाई रेष्टुरेन्ट बनाउन र प्रशासनिक काम गर्न अनुभव नहुने भएकाले हामीले यसलाई पेसाका रुपमा लिएका छौँ ।”

जापानको कमाइ र सीप नेपालमा ल्याएर काम गर्ने योजना रहेको उहाँ बताउनुहुन्छ । भरतपुरको यो होटल पूर्ण रुपमा सञ्चालनमा आएपछि अन्य ठाउँमा होटल र रेष्टुरेन्ट सञ्चालन गर्ने योजना उहाँले सुनाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.