मेलाबाट उठेको रकम पर्यटनमा लगानी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ मा रहेको मणिबराही युवा क्लबले मेला सञ्चालन गरेर बचत भएको रु २० लाखभन्दा बढी रकम पर्यटन विकासमा परिचालन गरेको छ ।
विसं २०८१ र २०८२ मा क्लबले दसैँ पर्वको अवसरमा आयोजना गरेको मेलाबाट भएको आम्दानी पर्यटन पूर्वाधार निर्माणमा लगानी गरेको हो । क्लबका सचिव विकास पुनले पछिल्लो दुई वर्षमा क्लबमार्फत दोवाको पर्यटन, भौतिक पूर्वाधार, सामाजिक कामका लागि रु २० लाख सात हजार ७१० खर्च भएको जानकारी दिनुभयो ।
“दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्गको पूर्वाधार निर्माण र प्रवर्द्धनका लागि क्लबले दुई वर्षमा सबैभन्दा बढी रु सात लाख ५८ हजार २५० खर्च गरेका छौँ”, उहाँले भन्नुभयो “क्लबसँग हाल रु पाँच लाख ४९ हजार ९३७ बचत रहेको छ ।”
२०८१ मा रु १५ लाख १९ हजार आम्दानी भएकोमा रु १२ लाख २२ हजार २५० र २०८२ मा रु १० लाख ३८ हजार ६४७ आम्दानी भएकोमा रु सात लाख ८५ हजार ४६० खर्च भएको छ ।
पर्यटकीयस्थल सुर्केमेलामा रु तीन लाख ८१ हजार खर्चेर खानेपानीको व्यवस्था मिलाएको क्लबले दोवाको प्रवेशद्धार भीरकाटेस्थिल सडक पुलमा रु एक लाख तीन हजार खर्चेर सूचनामूलक बोर्ड राखेको सचिव पुनले बताउनुभयो ।
रु दुई लाख ७४ हजार खर्चेर दोवाका विभिन्न पर्यटकीयस्थलमा राख्नका लागि ४१ वटा सूचना बोर्ड तयार पारिएको छ । दोवा पोखरा समाजको भवन निर्माण तथा जग्गा खरिदका लागि रु सात लाख सहयोग गरेको क्लबले रु चार लाख १९ हजार खर्चेर आफ्नै भवन मर्मत गरेको अध्यक्ष ठबहादुर गर्बुजाले बताउनुभयो । यस वर्ष क्लबको नाममा जग्गा खरिदको अन्तिम चरणमा रहेको छ ।
दोवादेखि पातलखर्क, गरेकखर्क, देउरालीडाडा, ठूलोखानी, धैरासिर, गुराँसिनीखोला, भिराउटो, सुर्केमेला र हल्टुडे क्षेत्रमा पदमार्ग निर्माणका लागि गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित योजनामा क्लबले योगदान गरेको छ ।
अन्नपूर्ण गाउँपालिकाले रु १० लाख बजेट विनियोजन गरेको यस योजनाका लागि क्लबले रु चार लाख २५ हजार ७६५ सहयोग गरेको र रु एक लाख २४ हजार बराबरको श्रमदान भएको सचिव पुनले बताउनुभयो ।
“दोवामा पर्यटक भित्र्याउने र बसाइ लम्बाइ ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउने तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले पर्यटकीय पूर्वाधार निर्माणमा जुटेका हौँ”, उहाँले भन्नुभयो, “सोवाङ धुरी र धौलागिरि आइसफललाई दोवासँग जोड्ने उद्देश्यले थालिएको पदमार्ग निर्माण कार्यलाई निरन्तता दिन आवश्यक छ ।”





प्रतिक्रिया राख्नुहोस्