एआईको तीव्र विस्तारसँगै बढ्दै जोखिम, पानी र ऊर्जादेखि मानव बौद्धिक क्षमतामाथि प्रश्न
क्यानबेरा । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र र व्यापक विस्तारसँगै यसको सुरक्षा, वातावरणीय प्रभाव र मानव जीवनमा पर्न सक्ने दीर्घकालीन असरबारे विश्वभर चिन्ता बढ्न थालेको छ।
एआईले कामलाई सहज र उत्पादनशील बनाइरहे पनि यसको अत्यधिक प्रयोगले मानवको आफ्नै सोच्ने, विश्लेषण गर्ने र निर्णय गर्ने क्षमता कमजोर बनाउनेदेखि पानी र ऊर्जाको अत्यधिक खपत तथा जलवायु परिवर्तनलाई थप तीव्र बनाउन सक्ने जोखिमतर्फ पनि ध्यान जान थालेको छ।
एआई प्रणाली सञ्चालन गर्न आवश्यक डाटा सेन्टरमा ठूलो मात्रामा विद्युत् र पानी खपत हुने गर्छ। विशेषगरी ठूला एआई मोडलको प्रशिक्षण र सञ्चालनका क्रममा प्रयोग हुने डाटा सेन्टरलाई चिसो राख्न उल्लेख्य मात्रामा पानी आवश्यक पर्छ।
एआईको प्रयोग र पूर्वाधार विस्तार तीव्र हुँदै जाँदा त्यसले स्थानीय खानेपानी तथा सिँचाइका लागि उपलब्ध पानीको स्रोतमा समेत दबाब सिर्जना गर्न सक्ने चिन्ता बढेको छ।
त्यस्तै, एआई प्रणाली सञ्चालनका लागि आवश्यक विद्युत्को माग निरन्तर बढ्दा जीवाश्म इन्धनमा आधारित ऊर्जा उत्पादनमा निर्भरता कायम रहेमा हरितगृह ग्यास उत्सर्जन बढ्न सक्ने र त्यसले जलवायु परिवर्तनको समस्या थप जटिल बनाउन सक्ने विज्ञहरूले औँल्याउँदै आएका छन्।
त्यसैले एआईको विकासलाई केवल प्रविधिगत उपलब्धिका रूपमा नभई ऊर्जा, पानी, वातावरण र दिगोपनासँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने आवश्यकता देखिएको छ।
एआईको व्यापक प्रयोगले मानव बौद्धिक क्षमतामा पार्न सक्ने प्रभाव पनि उत्तिकै महत्वपूर्ण प्रश्न बनेको छ। लेखन, गणना, अनुसन्धान, विश्लेषण, निर्णय र समस्या समाधानसम्मका काम एआईमा निर्भर हुँदै जाँदा मानिसले आफैँ सोच्ने, प्रश्न गर्ने, तर्क गर्ने र नयाँ समाधान खोज्ने अभ्यास कम हुन सक्ने चिन्ता व्यक्त हुन थालेको छ।
विशेषगरी शिक्षा र सिर्जनात्मक क्षेत्रमा एआईलाई सहायकभन्दा विकल्पका रूपमा प्रयोग गर्ने प्रवृत्तिले दीर्घकालमा व्यक्तिको मौलिक सोच र बौद्धिक क्षमतालाई खुम्च्याउन सक्ने जोखिम देखिन्छ।
यस्ता बहुआयामिक जोखिमबीच अस्ट्रेलियाको साइबर गुप्तचर निकायले भने एआईबाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिमका लागि समयमै पूर्वतयारी गर्नुपर्नेमा जोड दिएको छ।
अस्ट्रेलियन सिग्नल्स डाइरेक्टोरेटकी महानिर्देशक अबिगेल ब्राडशाले सोमबार क्यानबेरामा आयोजित एक सम्मेलनमा एआईसँग सम्बन्धित सम्भावित आक्रमणले सरकारी निकाय तथा व्यवसायहरूले प्रयोग गरिरहेका पुराना प्रविधिमा रहेका कमजोरीलाई लक्षित गर्न सक्ने बताउनुभयो।
उहाँले एआईलाई सरकारी निकाय तथा व्यवसायको सुरक्षा क्षमता अभिवृद्धि गर्ने उपयोगी माध्यमका रूपमा प्रयोग गर्न सकिने भए पनि यसको सम्भावित जोखिम प्रारम्भिक चरणमै पहिचान गरी आवश्यक तयारी गर्नुपर्ने बताउनुभयो।
ब्राडशाले साइबर सुरक्षामा प्रयोग हुँदै आएको पूर्वचेतावनी प्रणालीलाई एआईसँग सम्बन्धित सम्भावित जोखिम पहिचान र व्यवस्थापनका लागि पनि व्यवस्थित रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले गुप्तचर तथा सुरक्षा निकायले एआई प्रविधि विकास गर्ने कम्पनीसँग सहकार्य बढाउँदै जोखिमसम्बन्धी सूचना समयमै आदानप्रदान गर्नुपर्ने बताउनुभयो।
उहाँको भनाइ एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले एआई विकासको गति केही संयमित बनाउन तथा स्वतन्त्र मूल्यांकनकर्तामार्फत एआई मोडलको सुरक्षा परीक्षण गर्न आग्रह गरेको केही दिनपछि आएको हो।
अमोडेईको धारणालाई ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान र एक्सएआईका प्रमुख एलन मस्कले पनि समर्थन जनाएका छन्।
यसैबीच, अस्ट्रेलियाका विज्ञान, प्रविधि तथा डिजिटल अर्थतन्त्र सहायक मन्त्री एन्ड्र्यु चार्लटनले एआईसम्बन्धी सुरक्षा मापदण्ड निर्धारणको जिम्मेवारी कुनै एक प्रविधि कम्पनी वा देशमा मात्र सीमित गर्न नहुने बताउनुभएको छ।
उहाँले एआईको सुरक्षित, जिम्मेवार र दिगो विकासका लागि सरकार, प्रविधि क्षेत्र, सुरक्षा निकाय तथा अन्तर्राष्ट्रिय समुदायबीच संवाद, सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो।
एआईको विकास रोक्नेभन्दा यसको प्रयोगलाई जिम्मेवार, सुरक्षित र दिगो बनाउने विषय अहिलेको प्रमुख चुनौती बनेको छ। यसका लागि साइबर सुरक्षासँगै एआईले खपत गर्ने ऊर्जा र पानीको व्यवस्थापन, कार्बन उत्सर्जन न्यूनीकरण, खानेपानी तथा सिँचाइका स्रोतको संरक्षण र मानवको मौलिक बौद्धिक क्षमताको संरक्षणलाई समेत नीतिगत बहसको केन्द्रमा राख्नुपर्ने देखिन्छ।
एआईले मानिसको क्षमता विस्तार गर्ने साधन बन्ने कि मानिसलाई आफ्नै सोच र निर्णयका लागि प्रविधिमा अत्यधिक निर्भर बनाउने भन्ने प्रश्न पनि यसको आगामी विकाससँगै अझ महत्वपूर्ण बन्दै गएको छ।
त्यसैले एआईको भविष्य निर्धारण गर्दा प्रविधिको गति मात्र होइन, मानव क्षमता, प्राकृतिक स्रोत र पृथ्वीको वातावरणीय सीमालाई समेत ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। (रासस/सिन्ह्वा)




प्रतिक्रिया राख्नुहोस्