बाढीमा हराएका व्यक्तिको ‘डिएन परीक्षण’को प्रतिवेदन कहिले आउँछ
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान दिन आग्रह गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले बाढीमा हराएका व्यक्तिको डिएनको परीक्षणको प्रतिवेदन कहिले आउँछ भन्ने प्रश्न पीडित परिवारबाट आफूहरूलाई प्रश्न आउन थालेको बताउनुभयो ।
आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद इन्दिरा राना मगरले विपत्तिमा परेकाहरूका लागि मानसिक स्वास्थ्यको उपचारलगायत अत्यावश्यक विषयको सम्बोधन सरकारले गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समीक्षा बाँस्कोटाले अस्पतालको बाढीमा परेर घाइते भई अस्पतालको सघन उपचार कक्षमा रहेका बिरामीसँग अन्तर्वार्ता लिने कार्यले स्वास्थ्य र सञ्चार क्षेत्रका संहितामाथि गम्भीर प्रश्न खडा गरेको टिप्पणी गर्नुभयो ।
नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले भोटेकोशी बाढीमा बेपत्ता रहेका व्यक्तिहरूको पीडा जटिल बन्दै गएकाले खोजीमा तीव्रता दिन आग्रह गर्नुभयो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले मोटरसाइकलमा सल बेरिएर मृत्यु भएका महिलाको उदाहरण प्रस्तुत गर्दै यस्ता घटना हुन नदिन सडक सुरक्षालगायत विषयमा ध्यान दिन आग्रह गर्नुभयो ।
नेकपाका सांसद पार्वती विकले सहरमा दलितहरूले कोठा नपाउने समस्यालाई लिएर एक चेली लामो समयदेखि सडकमा रहेकाले यस्ता माग सम्बोधनका कानुन ल्याउन माग गर्नुभयो ।
रास्वपाका सांसद मनिष खनालले आफ्नै श्रीमतीलाई समेत हत्या गर्ने प्रवृत्ति देखिएकाले यस्ता घटना किन दोहोरिन्छ भनेर अध्ययन र कडा कारवाही गर्न माग गर्नुभयो ।
सोही पार्टीका सांसद सुनील केसीले मनोहरा खोलामा गए राति आएको बाढीका कारण असुरक्षा भएकाले सचेतना अपनाउन आग्रह गर्नुभयो ।
सांसद दीपकुमार साह (महोत्तरी) ले व्यक्ति सम्बन्ध वा सामाजिक विवाद कारण ज्यानै लिने जस्ता घटनामाथि अनुसन्धान र कारबाही गर्न आग्रह गर्नुभयो ।
नेकपा (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले दैवी प्रकोपका घटनामा स्थानीय तहसँग पर्याप्त नहुने भएकाले राहत र उद्धार कामले तीव्रता पाउन नसकेको बताउनुभयो ।
रास्वपाका सांसद मोहनलाल आचार्यले बाँडेगङ स्थितिबारे ध्यानाकर्षण गराउनुभयो । सोही समयमा नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढा, रास्वपाका सांसद गोविन्द पन्थी, नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले बाढी पहिरो र रोकथामका साथै सडक दुर्घटनाको गम्भीर अवस्थाबारे ध्यान दिन आग्रह गर्नुभयो ।





प्रतिक्रिया राख्नुहोस्