बिचार

बहुआयामिक महत्व बोकेको राष्ट्रिय पर्व दशैं

धर्म, संस्कृति, परम्परामा नेपाली समाज समुन्नत छ । विविध धर्म, जातजाति रहेको भए पनि यहाँ जातीय–धार्मिक सहिष्णुताको बेजोड नमूना छ । ‘विविधतामा एकता नेपालीको विशेषता’लाई आत्मसात गर्दै प्रमाणित रुपमा प्रकट गर्ने राष्ट्रिय पर्व हो दशैं ।

हरेक वर्षको आश्विन शुक्लपक्षको प्रतिपदाबाट घटस्थापना गरी प्रारम्भ हुन्छ । नवरात्रको आरम्भ हुने घटस्थापनाको दिनमा आआफ्ना कूलाचार–देशाचार मान्यता अनुसार सबै वर्ग–वर्णका जातजातिले घरघरमा घटस्थापन गरिसकेपछि नौदिनसम्म महाकाली, महालक्ष्मी, महासरस्वती, चण्डिका, चामुण्डा, दुर्गा देवीको पूजा आराधना गरी दशौं दिन दुर्गाभवानीको प्रसादस्वरुप टीका–जमरा लगाइन्छ ।

धार्मिक, सांस्कृतिक, सामाजिक सद्भावको यो महान पर्वको अनेकानेक महिमा रहेको छ । दशैंको जमरा, दही¬मा मुछेको रातो टीका अनि नौ दिनसम्म गरिने दुर्गा भवानीको पूजा मानव स्वास्थ्य, असत्यमाथि सत्यको जीत तथा मातृशक्तिको आराधनाको प्रतीक हो । नेपाली समाजमा महिलालाई उच्चस्थानमा राखिएको प्रमाण दशैंका अवसरमा गरिने नवदुर्गा पूजा हो ।

महिला पुरुषसमान मात्र होइन, पुरुषभन्दा शक्तिशाली पनि छन् र सुरक्षाका लागि मातृशक्तिकै अगाडि नतमस्तक पर्नुपर्छ भन्ने गम्भीर सामाजिक सन्देश पनि हो । यो सन्देशलाई व्यवहारमा उतार्नसके महिला हिंसा त के असमानता भन्ने नै रहँदैन कि !

नौदिनसम्म नौवटा देवीको पूजा आराधना गरेर मनाइने दशैं ऋतु, प्रकृति र मातृ शक्तिको महिमा गाउँदै नतमस्तक भएर भक्ति गर्ने पर्व भएकाले यो मातृशक्तिको उपनासनाको क्षण पनि हो । मातृशक्तिको भक्ति गरेरै यसैको प्रसादका रुपमा विजया दशमीका दिन टीका र जमरा लगाइन्छ । यसलाई मातृशक्तिको सुरक्षाकवच मानिन्छ ।

दशैंको आरम्भ दिन घटस्थापना गरेदेखि महानवमीको दिनसम्म दुर्गाकवच पाठ गरी सुरक्षाको प्रार्थना गरिन्छ । यसले पूर्वीय समाज र शास्त्रले नारीप्रति कस्तो मान्यता स्थापित गरेको छ भन्ने प्रमाणित हुन्छ । त्यस्तै नारीप्रति कुनै भेदभाव नहोस् भनेर नै शास्त्रहरुमा अनेक कथा प्रसंगहरु लिपिबद्ध गरिएका छन् ।

देवासुर संग्राम होस् वा महिसासुर बध वा रावण बध ! कुनै पुरुष शक्तिले गरेको हैन, मातृशक्तिले नै गरेको हो । त्यसैले शास्त्रहरुले महिलालाई उच्च स्थान दिएको छ– शक्ति, सामथ्र्य र दायित्व निर्वाहका लागि अनि यसैको भक्तिस्वरुप पनि दशैं मनाइन्छ । पौराणिक मान्यताको यो वास्तविकता संस्कृत साहित्यमा लिपिबद्ध भएको छ र व्यवहारतः हरेक चाडपर्वमा नारीलाई उच्च स्थान दिने गरेकै छ ।

विडम्बना यो मान्यता, सम्मान र स्थान चाडपर्वमा नै सीमित भएको पाइन्छ । राज्यदेखि घरसम्म नै यस्तै व्यवहार छ । वास्तविकता के हो भने आफ्नो शक्ति आफैंले चिन्न नसकेर आजभोलि हामीहरु हेपिएको, दबिएको, दासत्व स्वीकार्न बाध्य भएको अनेक फुर्कावाला आरोप र टिप्पणी गर्ने पश्चिमाहरुको नाराको पछि कुदेर सांस्कृतिक अतिक्रमणलाई निम्ता दिइरहेका छौं । मातृशक्तिको महिमा पनि गाउने तर आफ्नो शक्ति आफैं नचिन्ने अवस्था छ ।

जबसम्म मानिसले आफ्नो क्षमता चिन्न सक्दैन तबसम्म उ अरुको दयाको पत्र बनिरहन्छ । विश्वमै महिलाका कुरा यस्तै पाइन्छ । यसको कारण महिलाले आफ्नो शक्ति र सामथ्र्य नबुझ्नु हो । पश्चिमा मुलुकले घोकाइदिएको स्वतन्त्रताको पाठ पढेर नेपाली महिला कहिल्यै माथी पुग्दैन् । यसका लागि आफूले आफूलाई चिन्नुपर्छ ।

लक्ष्मी, सरस्वती र दुर्गाको एउटै रुप मै हुँ र ममा नै सबै शक्ति र अधिकार निहीत छ भन्ने चेतना जागृत हुनु आवश्यक छ । यी पौराणिक कुराहरुलाई मनन् गर्ने हो भने महिलाले चर्चामा ल्याउने गरिएका महिला अधिकारका समस्या स्वतः समाप्त भएर जान्छ । महिलामा शक्ति छ, ज्ञान छ र धन पनि छ भने उनीहरु किन कमजोर र कसरी कमजोर ?

एउटा सानो उदाहरणका रुपमा हरेक पुरुषले दशैंको नौ दिनसम्म पाठ गर्ने दुर्गाकवचलाई लिन सकिन्छ । मानव शरीरका हरेक अंगको नाम देवीसंग जोडिएको छ र यसको रक्षाका लागि देवीकै पुकार गरिन्छ । जस्तो कि–

पूर्व दिशातर्फ ऐन्द्रिदेवीले आग्नेय कोणतर्फ अग्नि शक्तिले, दक्षिण दिशातर्फ वाराही देवीले, नैऋत्यकोणतर्फ खड्गधारिणी देवीले, पश्चिम दिशातर्फ वारूणी देवीले, वायव्य कोणतर्फ मृगवाहिनी देवीले, उत्तरदिशामा कौमारी देवीले इशान कोणतर्फ शूलधारिणी देवीले, माथिपट्टि ब्रह्माणी देवीले, तलतिर वैष्णवी देवीले, दशैदिशामा चामुण्डादेवीले, अगाडिबाट जयाले, पछाडिबाट विजयाले, वायाँतर्फ अजिताले, दायाँतर्फ अपराजिताले शिखाको उद्योतिनीले शिरको उमाले, निधारको मालाधरीले, आँखीभौको यक्षस्वतीले, निधारको मध्यमागमा त्रिनेत्राले, नाकको प्वालको यमघण्टाले, आँखाको बीचमा शंखिनीले, कानको द्वारवासिनीले, गालाको कालिकाले, कानको शांकरीले, नाकको सुगन्धाले, माथिल्लो ओंठ चर्चिकाले, तल्लो ओठ अमृतकलाले, जिब्रोको सरस्वतीले, दाँतको कौमारीले, कण्ठको चण्डिकाले, चित्रघण्टाले रूद्रघण्टीको, तालुको महामायाले, चिउडोको कामाक्षी र सर्वमंगलाले वाणीको रक्षा गरून् भनेर स्तुति गरिन्छ ।

यसरी नै भद्रकालीले घाँटीको, धनुर्धारीले मेरूदण्डको, घाँटीको बाहिर नीलग्रीवाले र घाँटीको नसानसामा नलकुवरीले रक्षा गरून् । खड्गिनीले काँधको, बज्रधारिणीले पाखुराको, दण्डिनीले हातको, अम्बिकाले औंलाहरूको, सुलेश्वरीले नङको र कूलेश्वरीले कोखा (काखी)को रक्षा गरून् । महादेवीले स्तनको, शोक विनासिनीले मनको, ललिताले हृदयको, शूलधारिणीले भुँडीको रक्षा गरून् भनेर पाठ गरिन्छ ।

त्यस्तै कामिनीले नाभीको, गुहेश्वरीले गुह्य भागको, पूतना र कामिकाले लिंगको, महिष वाहिनीले गुदद्वारको, भगवतीले कम्मरको, विन्ध्यवासिनीले, घुँडाको, महाबलाले तिघ्राको, नरसिंहीले गोलीगाँठाको, तेजसीले पाउको, श्रीदेवीले पृष्टभागको, तलवासिनीले पैतालाको रक्षा गरून् । द्रष्टाकरालिनीले गोडाका नङको, उद्र्धकेशिनीले कपालको रौंको, रौंका प्वालमा कौवेरी र छालाको वागेश्वरीले रक्षा गरून् ।

त्यसै गरी पार्वतीले रगत, मज्जा, बोसो, मासु, हाड र मासी कालरात्रिले आन्द्रा, मुकुटेश्वरीले पित्त, पद्मावतिले मूलधारदेखि सहस्रारसम्मका कमल कोशको रक्षा गरून् भनिन्छ भने चुडामणिले कफको, ज्वालामुखीले नङको, तेजको अभेद्याले, शरीरका सम्पूर्ण जोर्नी, सन्धि स्थानको रक्षा गरून् ।

ब्रह्माणीले वीर्यको, छत्रेश्वरीले छायाँको, धर्मधारिणीले अहँकारको, मन र बुद्धिको, बज्रहस्ताले प्राणको, अपानको, व्यानको, उदानको समस्त वायुको रक्षा गरून् । प्राणको रक्षा कल्याण शोभनाले, अनुभवजन्य विषय जस्तै रस, रूप, गन्ध, स्पर्श, शब्द लगाययतका विषयबोध गर्दा योगिनीले, गुणात्मक सत्वगुण, रजोगुण, तमोगुणको मात्रा र गुणवत्ताको नारायणीले, आयुको रक्षा वाराहीले, धर्मको रक्षा वैष्णवीले, यश, कीर्ति, धन, विद्याको रक्षा चक्रिणीले, गोत्रको रक्षा इन्द्राणीले गरून् ।

पशुहरूको रक्षा चण्डिकाले, छोराको रक्षा महालक्ष्मीले, पत्नीको रक्षा भैरवीले, बाटो हिंड्दा सुपथाले, राजमार्गमा क्षेमकरीले, राजभवनमा महालक्ष्मीले, सम्पूर्ण प्रकारका भयबाट त्राण दिन विजयाले रक्षा गरून् । कवचद्वारा प्रतिरक्षा हुन नसकेका अन्य सबै अवयव र स्थानमा जयन्तीले रक्षा गरून् ।

यसरी पाठ गर्नेहरुले पनि आफूलाई चिन्नै सकेका छैनन् । महिला वा पुरुष दुबैले बुझ्नुपर्ने कुरा के हो भने जीवन निर्वाहका लागि आवश्यक तीन प्रमुख पक्ष ज्ञान, धन र शक्तिको स्रोत कुनै पुरुष नभएर महिला नै हुन् । ज्ञानका लागि सरस्वती, धनका लागि महाक्ष्मी र शक्तिका लागि दुर्गा भवानीको आराधना गरिन्छ । दशैं यसको प्रमुख पक्ष हो । दशैंमा महाकालीको मात्र होइन, महालक्ष्मी, महासरस्वतिको पनि आराधना गरिन्छ ।

गम्भीर रुपमा विश्लेषण गर्ने र दशैं मनाउने विधिलाई सूक्ष्मरुपमा हेर्ने हो भने यो समानता, सहिष्णुता, शान्ति र मेलमिलापको पर्व हो र यस्तो महत्वपूर्ण कार्य केवल मातृशक्तिले मात्र गर्न सक्दछ भन्ने अकाट्य तथ्य स्थापित गरिएको छ । मातृशक्तिबाटै मानिसको जीवनरक्षा हुन्छ, मातृ शक्तिबाटै जगतको कल्याण हुन्छ भन्ने मान्यता स्थापित गर्दै मनाउन थालिएको दशैं कुनै जात विशेषको पर्व नभएर यो सिंगो मानव समुदायको पर्व हो ।

दशैंको सबैभन्दा महिमामय पक्ष नै यही हो र यसले दिएको स्पष्ट सन्देश पूर्वीय सभ्यता मातृसत्तात्मक थियो भन्ने नै हो र यसको धार्मिक–सामाजिक अनुष्ठानहरुमा यो परम्परा अझै कायम छ । तर, आफैं देवी भवानीको पूजा गर्ने स्वयं महिला नै आफ्नो अस्तित्वप्रति, आफ्नो शक्तिप्रति बेखबर जस्तै छन् । महिलाले आफूले आफूलाई चिन्न नसकेको भन्न कुनै अप्ठ्यारो पर्दैन ।

घटस्थापन गरेर जमरा राखेको दिनदेखि महानवमीसम्म मातृशक्तिको उपासना गरेर जीवनलाई गतिशील बनाउन उर्जा प्राप्त गर्ने र परिवार, समाज र छर–छिमेकमा सद्भाव शुभकामना आदान–प्रदान गर्दै आनन्दले रमाउने दशैंमा लगाइने जमराको औषधीय गुण प्रचूर हुन्छ । आजभोलि विभिन्न किसिमका दीर्घरोग लागेकाहरु जमराको रस खाने गरेका छन् ।

हामीले सदियौंदेखि दशैंमा प्रयोग गर्दैआएको जमराका विषयमा अमेरिकाको विज्ञान प्रविधि स्रोत अनुसन्धान संस्थाले गरेको अनुसन्धान अनुसार यसमा भिटामिन, खनिज, क्लोरोफिलको हुन्छ ।

जमरामा गाईको दूधमा भन्दा ३० गुना बढी भिटामिन बि, तथा पालुंगोको भन्दा ३ दशमलव ३ गुना भिटामिन पाइन्छ । त्यस्तै ६ दशमलव ५ गुण बढी क्यारोटिन, ५ गुणा बढी आइरन पाइन्छ । त्यस्तै गाईको दूधमा भन्दा ११ गुणा बढी क्याल्सियम, सुन्तलामा भन्दा ७ गुणा बढी भिटामिन पाइन्छ ।

यी विविध पक्षले के देखाउँछ भने दशैं कुनै जात, धर्म र सम्प्रदाय विशेषको मात्र चाड नभएर यो प्रकृतिप्रदत्त, सृष्टि संरचनालाई गतिशील, अनुशासित र मर्यादित बनाउँदै शान्ति कायम गराउन भूमिका निर्वाह गर्ने अद्भूत पर्व हो ।

प्रकृतिका निकट रहेर सुरम्य वातावरणमा मनाइने बडा दशैं केवल खाने–लाउने मात्र नभएर यसको तात्विक अर्थ बुझेर सबैले आआफ्नो गच्छेअनुसार मनाउनु पर्दछ । विजया दशमीको सम्पूर्ण नेपालीमा शुभकामना !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.