असोज महिनामै भयो हुम्लामा हिमपात
अन्त्य हुनुपर्ने मनसुन पुनः सक्रिय भएपछि देशका अधिकांश भूभागमा भारी वर्षाको चेतावनी दिइएको छ भने हिमाली क्षेत्रमा हिमपात सुरु भैसकेको छ ।
समाचार अनुसार बिहीबार रातिबाट पानी पर्न सुरु भएपछि शुक्रबार बिहानदेखि हुम्लाको उच्च क्षेत्रमा हिमपात सुरु भएको छ ।
सदरमुकाम सिमकोटभन्दा माथिका उच्च डाँडा तथा हिमालहरुमा हिमपात भएको सिमकोट गाउँपालिका–२ का लोग भण्डारीले बताउनुभयो । सदरमुकाम सिमकोटको पश्चिमतर्फको बोक्सीडाँडा, पञ्चमुखी, रलिङ हिमालमा हिउँ परेपछि सेताम्मे देखिएका उहाँले बताउनुभयो ।
त्यसै गरी नाम्खा गाउँपालिका सबै वडाका उच्च क्षेत्रमा पनि हिमपात भएको वडा नम्बर ६ को वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।
बिशेष गरी नारा, न्यालु, लाप्चा क्षेत्रमा हिमपात भएपछि जमिन सेताम्मे देखिन थालेको छ । अब हिउद लाग्न सुरु भएको बताउदै उहाँले यस वर्षको पहिलो हिमपात सुरु भएको बताउनुभयो ।
जमिनमा चार इन्चीसम्म हिउँ जमेको बताउँदै मौसम सफा भए चाँडै सो हिउँ पग्लिने उहाँले बताउनुभयो । यो पछिल्लो वर्षाको पहिलो दिनमै हिमपात भएको छ । अग्ला डाँडा र हिमालमा हिमपात सुरु भएपछि चिसो बढेको छ ।




प्रतिक्रिया राख्नुहोस्