जापान

रुसको भ्रमण गर्ने जापानी सांसदको निन्दा

जापान सरकारले मस्कोको अचानक भ्रमण गरेर त्यहाँका उपविदेशमन्त्रीसँग भेट गर्ने एक जापानी सांसदको निन्दा गरेको छ ।

गत वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेयता युद्धमा मस्कोमाथि प्रतिबन्ध लगाउन पश्चिमी सहयोगीहरूसँग जापान सामेल भएपछि जापानी सांसदका रूपमा मुनेओ सुजुकीको पहिलो रुस भ्रमण भएको हो ।

“सरकारलाई सुजुकीले अघि वा पछि यसपटकको रुस भ्रमणका बारेमा जानकारी गराउनुभएको थिएन”, सरकारी प्रवक्ता हिरोकाजु मात्सुनोले भन्नुभयो, “उद्देश्य जे भए पनि रुसको यात्रा रद्द गर्न हामी चेतावनी जारी गर्दैछौँ, सबै जापानी नागरिकहरूलाई रुसको भ्रमण नगर्न आग्रह गर्दछौँ ।”

रुसको विदेश मन्त्रालयले सुजुकीले सोमबार रुसी उपविदेशमन्त्री आन्द्रे रुदेन्कोसँग भेट गरेको बताएको छ । “द्विपक्षीय सम्बन्धको विकासमा जापानी सांसदको उल्लेखनीय योगदानलाई रुसी पक्षले उल्लेख गरेको छ” ।

मन्त्रालयले मङ्गलबार भनेको छ, “दशकौँदेखि कायम दुई मुलुकबीचको विरासत ‘सामूहिक पश्चिम’ को रुसविरोधी कार्य र अमेरिकालाई खुसी पार्न टोक्योले लागू गरेको प्रतिबन्ध नीतिले उद्देश्यपूर्णरूपमा क्षति पुर्याइरहेको छ ।”

जापानको प्रतिपक्षी दल जापान इनोभेसनका सांसद सुजुकीले लामो समयदेखि जापान–रुसबीचको दीर्घकालीन सम्बन्धको पैरवी गर्दै आउनुभएको थियो । दोस्रो विश्वयुद्धपछि रुससँगको क्षेत्रीय विवादहरू समाधान गर्ने उद्देश्यले विदेश मन्त्रालयका कार्यक्रमहरुमा उहाँ गहिरोरूपमा संलग्न हुनुहुन्थ्यो ।

उहाँका सचिव सिन्जी अकामात्सुले माथिल्लो सदनका सदस्य सुजुकी ‘निरीक्षण भ्रमण’ का लागि आइतबार मस्को प्रस्थान गर्नुभएको जानकारी दिनुभएको छ । “सुजुकीले राष्ट्रिय स्वार्थको दृष्टिकोणले आफ्नै विश्वासमा भ्रमण गर्नुभएको हो”, उहाँले भन्नुभएको छ ।

सुजुकीको पार्टीले उहाँ मस्कोबाट फर्केपछि भेट गर्ने जनाएको छ । पार्टीका एक अधिकारीले रुस प्रस्थान गर्नुअघि सुजुकीले भ्रमण योजना पेश नगरेर पार्टीको नियम उल्लङ्घन गरेको हुनसक्ने सङ्केत गरेका छन् ।

सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीका महासचिव तोसिमित्सु मोतेगीले सुजुकीको भ्रमण ‘वाञ्छनीय’ नभएको बताएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.