मलेसियामा जारी अन्तरराष्ट्रिय महिला ट्वान्टी–२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ । नेपालले मलेसियालाई छ विकेटले हराएको हो ।
क्वालालम्पुरस्थित बायुमास मैदानमा शनिबार सम्पन्न खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गर्दै पहिलो जित हासिल गरेको हो । शुक्रबार भएको शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग तीन रनले पराजित भएको थियो ।
मलेसियाले जितका लागि दिएको ९२ रनको लक्ष्य पच्छ्याएको नेपाल १६ दशमलव दुई ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
नेपालका लागि पूजा महतोले सर्वाधिक ३९ रन बनाइन् । त्यस्तै कप्तान इन्दु बर्मा २७ रनमा अविजित रहिन् भने रुबी पोद्दारले १५ रन बनाइन् । मलेसियाकी आयना हमिजाले दुई विकेट लिइन् भने नुर दानिया स्युहादा र नुर आलियाले समान एक÷एक विकेट लिए ।
त्यसअघि ‘टस’ हारेर पहिले ‘ब्याटिङ’को निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ९१ रनको योगफल बनाएको थियो । मलेसियाका लागि आइना हमिजाले सर्वाधिक ५० रन योगदान दिएकी थिइन् । त्यस्तै कप्तान विनिफ्रेड दुरासिंघमले १५ रन बनाइन् ।
नेपालकी सोमु विष्टले दुई तथा तथा कविता कुँवरले एक विकेट लिए । योसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृङ्खला १–१ को बराबरीमा छ ।
नेपालले आगामी जनवरीमा घरेलु मैदानमा नै हुने आइसिसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको तयारीस्वरुप उक्त शृङ्खला खेलेको हो ।



प्रतिक्रिया राख्नुहोस्