कृषि

मौसम पूर्वानुमानको सूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

केही वर्ष अघिसम्म धान काट्ने निर्णय गर्दा आकाश नियाल्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित सरस्वती टोलका निलम कार्की अहिले मौसम पूर्वानुमानको सूचनाले ढुक्क हुनुहुन्छ ।

कहिले पानी पर्छ, कति पर्छ र वर्षाको सम्भावना कस्तो छ भन्ने जानकारी उहाँको मोबाइलमै आइपुग्छ । मौसमबारे जानकारी लिन म्यासेजका अलावा फोन गर्न सकिन्छ । “पहिला धान काट्न आकाशको बादल हेरेर निर्णय गर्नुपथ्र्यो अहिले मौसमको पूर्वसूचनाले सहज भएको छ,” कार्कीले भन्नुभयो, “११५५ मा फोन गरेर जानकारी लिएपछि धान काट्ने समय तय हुन्छ ।”

पाँच कट्ठा जग्गामा धानखेती गर्नुभएका उहाँले हाल जल तथा मौसम विज्ञान विभागबाट जानकारी लिएर मात्रै खेतीपातीको निर्णय गर्ने गरेको जानकारी दिनुभयो । खेती भित्र्याउन मात्रै होइन नदीमा बाढी आएपछि साइरन बज्ने र मोबाइलमा म्यासेज आउने गरेको उहाँको भनाइ छ ।

मौसम पूवार्नुमानको सूचनाले कार्की जस्तै कृष्णपुरकै निर्मला बडूलाई खेतमा काम गर्न सहज भएको छ । “११५५ मा मौसमबारे जानकारी लिएपछि मात्रै धान काट्ने समय तह हुन्छ,” बडूले भन्नुभयो, “आवश्यक जानकारी लिएर नै खेतमा धान काटेका छौँ ।”

उहाँले विभागले दिने पूर्वजानकारीले हाल खेतीपातीको काम गर्न धेरै सहज र भएको बताउनुभयो । उहाँले चार कट्ठा जमिनमा धानखेती गर्नुभएको छ । विभागले बुधबार कञ्चनपुरमा पानी पर्ने सम्भावना रहेको जानकारी गराएपछि कञ्चनपुरका किसान सचेत भएका छन् ।

मौसम पूर्वानुमानको सूचनाले अन्नबालीमा हुने क्षति कम भएको बेदकोट नगरपालिका–७ का किसान विसन पन्त बताउनुहुन्छ । उहाँले विभागले जारी गर्ने पूर्वसूचनाले किसानको बालीनालीको सुरक्षा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वसूचनाले एकातर्फ किसानको अन्नबाली सुरक्षित भयो अर्कोतर्फ बाढीबाट हुने क्षति कम भएको छ ।”

विभागबाट आउने सूचना भरपर्दो भएपछि किसानका लागि वरदान साबित भएको छ । “केही वर्षअघि सम्म काटेका धान खेतमै डुब्थे अहिले त्यो समस्या झेल्नु परेको छैन,” उहाँले भन्नुभयो, “तर पछिल्लो समय सामाजिक सञ्जालमा आउने मौसमसम्बन्धी सूचनाले सत्य हो कि होइन विश्वास गर्नै गाह्रो हुन्छ ।”

जिल्लाको कुल एक लाख ६१ हजार ६२४ हेक्टर क्षेत्रफलमध्ये ५६ हजार ३६३ हेक्टर खेतीयोग्य रहेको छ । जसमध्ये ४८ हजार ४९६ हेक्टरमा धानखेती हुने गरेको छ । यस्तै, ३१ हजार २१० हेक्टरमा गहुँखेती हुने गरेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.