काठमाडौंको बूढानीलकण्ठस्थित एक घरबाट प्रहरीले २१ किलोभन्दा बढी सुन बरामद गरेको छ। सुन तस्करीमा संलग्न रहेको आशङ्कामा तीन चिनियाँ नागरिक र एक नेपाली महिलासहितलाई पक्राउ गरिएको छ।
बरामद सुनमध्ये करिब ११ किलो प्रशोधित अवस्थामा र १० किलो प्रशोधन गर्न बाँकी अवस्थामा रहेको प्रहरीले जनाएको छ। सो घरबाट सुन प्रशोधन गर्ने उपकरण पनि बरामद भएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले विशेष सूचनाका आधारमा बूढानीलकण्ठको चपलीस्थित घरमा छापा मारेर सुन र त्यसलाई प्रशोधन गर्न प्रयोग गरिने उपकरण बरामद गरेको हो।
प्रहरी अनुसन्धानअनुसार चिनियाँ नागरिकहरूले नेपाली नागरिकको सहयोगमा उक्त घरमा सुन राखेका थिए। सुन कहाँबाट ल्याइएको हो र यसको अन्तिम गन्तव्य कहाँ थियो भन्नेबारे अनुसन्धान भइरहेको छ।
नेपालमा सुन तस्करीका घटनामा यसअघि पनि चिनियाँ नागरिक पक्राउ पर्दै आएका छन्। २०७९ पुसमा विद्युतीय चुरोट ९भेप० भित्र लुकाएर करिब नौ किलो सुन ल्याइएको प्रकरणमा चिनियाँ नागरिक ली हान सोङ पक्राउ परेका थिए। उक्त प्रकरणमा सुन तस्करीको अनुसन्धान अघि बढेको थियो।
त्यस्तै, २०८० साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब एक क्विन्टल सुन तस्करी प्रकरणमा पनि चिनियाँ नागरिक पक्राउ परेका थिए। मोटरसाइकलका ब्रेक सुमा लुकाएर ल्याइएको सुन प्रकरणमा चिनियाँ तथा अन्य विदेशी र नेपाली नागरिकसमेत अनुसन्धानको दायरामा आएका थिए।
बूढानीलकण्ठमा बरामद भएको सुन प्रकरणमा पक्राउ परेकाहरूको भूमिका, सुनको स्रोत, तस्करीको सम्भावित मार्ग र यसमा संलग्न अन्य व्यक्तिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया राख्नुहोस्