जापान

मंगल ग्रहका चन्द्रमाबाट नमुना ल्याउने जापानको ऐतिहासिक अभियान

जापानले मंगल ग्रहका दुई चन्द्रमध्येको एकबाट सतहको नमुना सङ्कलन गरी पृथ्वीमा ल्याउने उद्देश्यसहित ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ। जापानको एच–३ रकेटले मङ्गलबार बिहान तानेगासिमा अन्तरिक्ष केन्द्रबाट मानवरहित अन्तरिक्षयान प्रक्षेपण गरेको हो।

जापानको स्थानीय समयअनुसार बिहान ४ बजेर ४१ मिनेटमा प्रक्षेपण गरिएको रकेटबाट एक घण्टाभन्दा बढी समयपछि ‘मार्सियन मुन्स एक्सप्लोरेसन’ (एमएमएक्स) नामक अन्तरिक्षयान छुट्टिएको थियो। त्यसपछि अन्तरिक्षयान मंगल ग्रह र त्यसका चन्द्रतर्फको यात्रामा अघि बढेको छ।

जापानको अन्तरिक्ष अनुसन्धान निकायका वैज्ञानिक मारि आइडाले प्रक्षेपण सफल भएपछि खुसी र राहत महसुस गरेको बताउनुभयो।

अभियानअनुसार अन्तरिक्षयान आगामी वर्ष अगस्टतिर मंगल ग्रहको आसपास पुग्ने अपेक्षा गरिएको छ। त्यसपछि यसले मंगल ग्रहको चन्द्र फोबोसको परिक्रमा गर्दै अध्ययन गर्नेछ।

फोबोसको सतहमा सुरक्षित रूपमा अवतरण गर्न सकिने स्थान पहिचान गर्न फ्रान्स र जर्मनीको सहकार्यमा बनाइएको ‘इडेफिक्स’ नामक सानो यान पनि अभियानमा समावेश छ।

‘इडेफिक्स’ नाम प्रसिद्ध फ्रान्सेली हास्यकथा ‘एस्टेरिक्स’ मा देखिने कुकुरको नामबाट राखिएको हो। यो यान फोबोसको सतहमा गुडेर त्यहाँको अवस्था र बनावटको अध्ययन गर्नेछ।

एमएमएक्सले मंगल ग्रहको आसपास तीन वर्षसम्म सञ्चालन हुने योजनाबद्ध अभियानका क्रममा फोबोसको सतहबाट कम्तीमा १० ग्राम पदार्थ सङ्कलन गर्ने लक्ष्य राखेको छ। त्यसपछि ती नमुना पृथ्वीमा ल्याएर वैज्ञानिक अध्ययन गरिनेछ।

यस अभियानमा जापानसँगै अमेरिका र युरोपका अन्तरिक्ष अनुसन्धान निकाय, विश्वविद्यालय तथा प्रविधि कम्पनीहरू पनि सहभागी छन्। वैज्ञानिकहरूका अनुसार यसबाट प्राप्त जानकारीले भविष्यमा मानिसलाई मंगल ग्रहसम्म पुर्‍याउने अभियानको तयारीमा समेत सहयोग पुग्न सक्छ।

अमेरिकी अन्तरिक्ष निकाय नासाको विज्ञान अभियान निर्देशनालयकी प्रमुख निकी फक्सले नमुनाहरूको अध्ययनले आगामी धेरै पुस्तासम्म वैज्ञानिक बुझाइमा परिवर्तन ल्याउन सक्ने बताउनुभयो। उहाँका अनुसार नासाले मंगल ग्रहमा पहिलो मानव अभियानको तयारी गरिरहेका बेला यस्तो अनुसन्धान विशेष महत्त्वको छ।

मंगल ग्रह र यसका चन्द्र कसरी बने ?

यो अभियानको प्रमुख उद्देश्य मंगल ग्रहका चन्द्रहरूको उत्पत्ति र तिनको निर्माण प्रक्रियाबारे रहस्य पत्ता लगाउनु हो।

फोबोस र डिमोस नामका यी दुई चन्द्र कसरी बने भन्ने विषयमा वैज्ञानिकहरूबीच अझै मतैक्य छैन। एउटा मान्यताअनुसार कुनै ठूलो खगोलीय पिण्ड मंगल ग्रहसँग ठोक्किँदा निस्किएका पदार्थबाट यी चन्द्र बनेका हुन सक्छन्।

अर्को मान्यताअनुसार मंगल ग्रहको गुरुत्वाकर्षणले अन्तरिक्षमा घुमिरहेको कुनै पिण्डलाई आफ्नो प्रभावमा तानेपछि यी चन्द्र बनेका हुन्।

यीमध्ये कुन मान्यता सही हो भन्ने पत्ता लगाउन फोबोसबाट ल्याइने नमुनाले महत्त्वपूर्ण प्रमाण दिन सक्ने वैज्ञानिकहरूको अपेक्षा छ।

सौर्यमण्डलका बुध, शुक्र, पृथ्वी र मंगलजस्ता चट्टानी ग्रहहरूको निर्माण र विकासक्रम बुझ्न पनि यस अध्ययनले सहयोग पुर्‍याउन सक्छ।

फोबोस भविष्यमा मंगल ग्रहमा जाने अन्तरिक्षयानका लागि सम्भावित प्राकृतिक अन्तरिक्ष केन्द्रका रूपमा समेत उपयोगी हुन सक्ने वैज्ञानिकहरूको धारणा छ।

अभियानले फोबोसमा मुख्य ध्यान केन्द्रित गरे पनि अर्को चन्द्र डिमोसको पनि अवलोकन गर्नेछ। तर डिमोसको सतहमा भने अवतरण गर्ने योजना छैन।

मंगल ग्रहबाट नमुना ल्याउने प्रतिस्पर्धा

मंगल ग्रहबाट नमुना सङ्कलन गरी पृथ्वीमा ल्याउने प्रयासमा जापान एक्लो छैन। अमेरिकी अन्तरिक्ष निकाय नासाको ‘पर्सिभरेन्स’ यानले सन् २०२१ देखि मंगल ग्रहको सतहमा नमुना सङ्कलन गर्दै आएको छ।

तर ती नमुना पृथ्वीमा ल्याउने योजनामा भने कठिनाइ देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले प्रस्तावित अभियान रद्द गर्ने दिशामा कदम चालेपछि त्यसको भविष्य अनिश्चित बनेको छ। जनवरीमा अमेरिकी कङ्ग्रेसको मतदानपछि अभियान रद्द गर्ने निर्णय अघि बढाइएको थियो।

यसैबीच, चीनले सन् २०२८ तिर ‘थ्यानवेन–३’ अभियान प्रक्षेपण गर्ने योजना बनाएको छ। उक्त अभियानले सन् २०३१ सम्ममा मंगल ग्रहबाट नमुना पृथ्वीमा ल्याउने लक्ष्य राखेको छ। योजना सफल भए चीनले जापानभन्दा पहिले नै मंगल ग्रहका नमुना पृथ्वीमा ल्याउन सक्नेछ।

जापानको एमएमएक्स अभियान सफल भए मंगल ग्रहका चन्द्रहरूको उत्पत्तिबारे नयाँ तथ्य पत्ता लाग्नुका साथै भविष्यमा मानिसलाई मंगल ग्रहसम्म पुर्‍याउने प्रयासका लागि आवश्यक वैज्ञानिक ज्ञान र प्रविधि विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.