नोबेल विजेता जापानी साहित्यकार कावाबाताको ‘इजुकी नर्तकी’ नेपालीमा प्रकाशित
नेपाल–जापान दौत्य सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा नोबेल पुरस्कार विजेता जापानी साहित्यकार यासुनारी कावाबाताको आख्यानकृति ‘इजुकी नर्तकी’को नेपालीमा अनुवादित पुस्तक लोकार्पण गरिएको छ ।
नेपाल वाङ्मय फाउन्डेसन र नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अरुणा वैद्यले अनुवादन गर्नुभएको उक्त कृति लोकार्पण गरिएको हो ।
नेपालका लागि जापानी राजदुत तोरु माएदाले उक्त कृति लोकार्पण गर्दै नेपाल र जापानबीच जनस्तरमा ऐतिहासिक प्रगाढ सम्बन्ध रहेको बताउनुभयो । उहाँले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध मात्रै नभई सांस्कृतिक, साहित्यिक र बौद्धिक अन्तर–सम्बन्ध रहेको स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार पछिल्लो समय अध्ययनका लागि जापान जाने नेपाली विद्यार्थीको सङ्ख्या बढ्दो रहेको र यसले दुई देशबीचका सामाजिक सम्बन्ध घनिष्ठ बनिरहेको धारणा राख्नुभयो ।
प्रतिष्ठानका कुलपति कुमार नगरकोटीले नेपाल र जापानका साहित्यलाई एकअर्का देशमा प्रोत्साहन गर्न सरकारीस्तरमै सहमति कायम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले दुवै देशका साहित्य अनुवादलाई बृहत्तर बनाउन कार्यको नेतृत्व प्रतिष्ठानले गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।
पूर्वमन्त्री एवं फाउन्डेसनका विशिष्ट सल्लाहकार शङ्करप्रसाद कोइरालाले जापान भाषा साहित्यमा समृद्ध रहेको जनाउँदै नेपाली बजारमा जापानी कृतिको उपस्थित बढाउँदै लैजानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
जापानका लागि पूर्वरादूत डा मदनकुमार भट्टराईले नेपाल र जापानको कूटनीति सम्बन्ध विस्तार भएको ७० वर्ष भए पनि सामाजिक, सांस्कृतिक र जनस्तरको सम्बन्ध भने १२७ वर्षदेखि प्रारम्भ भएको बताउनुभयो ।
उहाँले दुई देशबीच आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिकलगायत क्षेत्रमा सहकार्य रहिआएको बताउनुभयो ।
फाउन्डेसनका प्रमुख संरक्षक उमेश श्रेष्ठले नेपाले जापानको शिष्टाचार र साहित्य शैली अध्ययन गर्न आवश्यक रहेको हुँदा अनुवादित कृतिले त्यसमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
विश्वभाषा क्याम्पसका जापानी भाषा विभाग प्रमुख योसिहारु कामिसुराले जापानी साहित्य अनुवाद नेपालमा थोरै रहेका अवस्थामा आख्यान कृति ‘इजुकी नर्तकी’ले जापानी साहित्य बुझ्न चाहने पाठकलाई सान्दर्भिक पाठ्य सामग्री हुनसक्ने धारणा राख्नुभयो ।
अनुवादक वैद्यले चार वटा कथा समेटिएको इजुकी नर्तकी आख्यान नेपाली अनुवादमा जापानी साहित्यको मर्म जीवित राखेको प्रष्ट पार्नुभयो । उहाँका अनुसार अनुवाद शब्द रुपान्तरण गर्नु मात्रै नभई कथा र पात्रमाथि न्याय गरी जनस्तरले महशुस गर्नसक्ने बनाउनु महत्वपूर्ण कला भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मैले जापानको साहित्यिक कृति अनुवादमा सामाजिक परिवेश र पात्रप्रतिको भाव मर्न दिएको छैन ।”




प्रतिक्रिया राख्नुहोस्