धराने सुकुटीको व्यापारमा सामाजिक सञ्जालको योगदान
सामाजिक सञ्जालको सही सदुपयोगले व्यापार प्रवर्द्धनमा ठूलो सहयोग पुग्न सक्छ भन्ने उदाहरण धरानका सुकुटी व्यवसायी बनेका छन्। घरमै राँगाको सुकुटी र त्यसबाट अचार तयार पारेर बिक्री गर्ने महिलाले टिकटक, फेसबुक र इन्स्टाग्रामलाई निःशुल्क प्रचारको माध्यम बनाउँदै व्यापार विस्तार गरिरहेका छन्।
सामाजिक सञ्जालमा उत्पादनको प्रचार गरेकै भरमा स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट अर्डर आउन थालेपछि उनीहरूको आम्दानीसमेत बढेको छ।
धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको कारोबार पछिल्लो समय फस्टाउँदै गएको छ। धरान उपमहानगरपालिकाको मुख्य चोक भानुचोकबाट पूर्वतर्फ रहेको निकेतन गल्लीमा सुकुटी बेच्ने पसल लस्करै छन्।
बिहानदेखि बेलुकासम्म ग्राहकको चहलपहल हुने यस क्षेत्रमा पसलबाट बिक्री गर्ने मात्र होइन, घरमै सुकुटी र अचार बनाएर सामाजिक सञ्जालमार्फत अर्डर लिने महिलाको सङ्ख्यासमेत बढ्दै गएको छ।
धरान उपमहानगरपालिका–१५ की निता तामाङले सुकुटी बिक्री गर्न थालेको छ वर्ष भयो। उहाँ निकेतन गल्लीमा सुकुटीसँगै त्यसबाट बनाइएको अचार बिक्री गर्दै आउनुभएको छ।
उहाँले तयार पारेको सुकुटी र अचारको माग नेपालमा मात्र नभई विदेशमा समेत रहेको बताउनुभयो। विशेषगरी बेलायत, अमेरिका र हङकङबाट अर्डर आउने गरेको उहाँको भनाइ छ।
“दिनभर गल्लीमा बसेर ग्राहक पर्खनुभन्दा टिकटक र फेसबुकमार्फत उत्पादनको प्रचार गर्न सके धेरै ग्राहकसम्म पुग्न सकिन्छ। सामाजिक सञ्जालमा सुकुटी र अचार देखेर अनलाइनबाट अर्डर गर्ने ग्राहक धेरै छन्,” तामाङले भन्नुभयो।
उहाँका अनुसार, सामाजिक सञ्जालले व्यवसायको प्रचार गर्न सहज बनाएको छ। पहिले सीमित क्षेत्रमा मात्र पुग्ने उत्पादन अहिले अनलाइनकै माध्यमबाट टाढाका ग्राहकसम्म पुग्न थालेको छ। यसले विज्ञापनमा ठूलो रकम खर्च नगरी आफ्नो उत्पादन चिनाउने र नयाँ ग्राहक जोड्ने अवसर दिएको छ।
तामाङले एक पटकमा १२० केजीसम्म राँगाको मासु किनेर घरमै सुकुटी बनाउने गर्नुभएको छ। घाम लागेका बेला तीन दिनमै सुकुटी सुक्ने भए पनि जाडोयाममा एक हप्तासम्म लाग्ने उहाँले बताउनुभयो।
घाम नलाग्दा आगोमा सुकाउनुपर्ने भएकाले समय र खर्च दुवै बढ्ने उहाँको अनुभव छ। सुकुटीको व्यापारबाट मासिक ८० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो।
धरान–१५ कै बिनिता गिरीले पनि नौ वर्षदेखि सुकुटी र त्यसबाट बनाइएको अचार बिक्री गर्दै आउनुभएको छ। उहाँका अनुसार, गुणस्तरअनुसार सुकुटी प्रतिकिलो एक हजार ६०० देखि तीन हजार रुपैयाँसम्म र सुकुटीको अचार प्रतिकिलो एक हजार ६०० देखि दुई हजार रुपैयाँसम्ममा बिक्री हुन्छ।
गिरीले तयार पारेको सुकुटी धरान, इटहरी, झापा र काठमाडौंसम्म पुग्ने गरेको छ। हङकङ र बेलायतलगायतका देशमा समेत सुकुटी पठाउने गरिएको उहाँले बताउनुभयो। टिकटक, फेसबुक र इन्स्टाग्रामको प्रयोग बढेसँगै अनलाइनबाट ग्राहक खोज्न र अर्डर लिन सहज भएको उहाँको अनुभव छ।
यद्यपि, सामाजिक सञ्जालबाट व्यापार विस्तार भए पनि उत्पादन लागत व्यवसायीका लागि चुनौती बनेको छ। घाम नलाग्दा दाउरा किनेर सुकुटी सुकाउनुपर्ने भएकाले खर्च बढ्ने र नाफा घट्ने गरेको गिरीले बताउनुभयो। त्यसैले अनलाइनबाट ग्राहक बढाउनुका साथै उत्पादनको लागत, गुणस्तर र आपूर्तिमा समेत ध्यान दिनुपर्ने उहाँको अनुभव छ।
निकेतन गल्लीमा सुकुटी बिक्री गर्दै आउनुभएकी दिलकुमारी तामाङले बिहानदेखि बेलुका ६ बजेसम्म व्यापार गर्दा राम्रो आम्दानी हुने बताउनुभयो।
“सुकुटीको व्यापारबाटै घरव्यवहार चलाउँदै आएकी छु। सुकुटी तयार पार्न धेरै समय र मेहनत लाग्छ,” उहाँले भन्नुभयो। उहाँका अनुसार, मेहनत र निरन्तरता भए सुकुटीको व्यापारबाट स्वरोजगार बन्न सकिन्छ।
धरानमा सुकुटीको व्यापार गर्ने अधिकांश महिला छन्। उनीहरूले राँगाको मासु किनेर घरमै सुकुटी तयार पार्ने र बजारमा बिक्री गर्ने गरेका छन्।
कतिपयले सुकुटीसँगै अचार बनाएर एउटै उत्पादनबाट थप आम्दानीसमेत गर्दै आएका छन्। भानुचोक र निकेतन गल्लीमा पसल सञ्चालन गर्ने महिलासँगै घरबाटै अर्डरअनुसार बिक्री गर्ने व्यवसायी पनि छन्।
सुकुटी र अचारको व्यापारले महिलालाई स्वरोजगार बन्न, घरखर्च चलाउन र व्यवसाय विस्तार गर्न सहयोग पुर्याएको छ। सामाजिक सञ्जालले उनीहरूलाई स्थानीय बजारको सीमाभन्दा बाहिरका ग्राहकसम्म पुग्ने अवसर दिएको छ।
उत्पादनको आकर्षक प्रस्तुति, नियमित प्रचार र ग्राहकसँगको प्रभावकारी संवादले उनीहरूको व्यवसायलाई थप विस्तार गर्न मद्दत गरेको छ।
सामाजिक सञ्जाल आफैँमा नाफा वा घाटाको कारण होइन, यसको प्रयोग गर्ने तरिका महत्त्वपूर्ण हुन्छ। यसको दुरुपयोगले समय, पैसा, प्रतिष्ठा र व्यक्तिगत सुरक्षामा समेत क्षति पुर्याउन सक्छ।
तर सावधानीपूर्वक र उद्देश्यपूर्ण प्रयोग गर्न सके यही माध्यम व्यापार प्रवर्द्धनको प्रभावकारी र निःशुल्क साधन बन्न सक्छ। धरानका सुकुटी व्यवसायीको अनुभवले सामाजिक सञ्जालको सही प्रयोगले साना उद्यमीलाई कम खर्चमा धेरै ग्राहकसम्म पुग्न र आम्दानी बढाउन सहयोग पुर्याउन सक्ने देखाएको छ।
सामाजिक सञ्जालको सदुपयोगले व्यापार प्रवर्द्धनमा निःशुल्क सहयोग पुर्याउन सक्छ भने दुरुपयोगले आर्थिक क्षति, ठगी, गोपनीयता भङ्ग र प्रतिष्ठामा आँच आउने जोखिम पनि उत्तिकै हुन्छ।
त्यसैले सावधानीपूर्वक, जिम्मेवार र उद्देश्यपूर्ण ढङ्गले यसको प्रयोग गर्न सके साना उद्यमीले कम खर्चमा धेरै ग्राहकसम्म पुगेर आम्दानी बढाउन सक्छन्। धरानका सुकुटी व्यवसायी यसको उदाहरण बनेका छन्।




प्रतिक्रिया राख्नुहोस्