जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन
सन् २००७ देखि २००८ सम्म जापानको प्रधानमन्त्री रहनुभएका तथा आफ्नो कार्यकालमा र त्यसपछि पनि चीनसँगको सम्बन्ध सुदृढ बनाउन प्रयास गर्नुभएका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन भएको छ।
उहाँका छोराले सोमबार निधनको जानकारी दिनुभएको हो। स्थानीय सञ्चारमाध्यमका अनुसार फुकुदाको बिहीबार टोकियोस्थित एक अस्पतालमा हृदयाघातका कारण निधन भएको थियो।
जापानका पूर्वप्रधानमन्त्री ताकेओ फुकुदाका छोरा यासुओले सन् २००७ सेप्टेम्बरमा सिन्जो आबेले अचानक राजीनामा दिएपछि प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो। बाबु र छोरा दुवै प्रधानमन्त्री बन्ने जापानको पहिलो जोडी उहाँहरू नै हुनुहुन्थ्यो।
प्रधानमन्त्री सानाए ताकाइचीले फुकुदाको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको अनुभव र असाधारण दूरदर्शिताको प्रशंसा गर्नुभयो। जापानको राजनीतिक स्थिरता र विकासमा उहाँले महत्त्वपूर्ण योगदान पुर्याउनुभएको उल्लेख गर्दै ताकाइचीले सामाजिक सञ्जाल एक्समा राष्ट्र र जनताप्रति उहाँले लामो समयसम्म गर्नुभएको समर्पणका लागि हार्दिक आभार व्यक्त गर्नुभयो।
चीनसँगको सम्बन्ध सुदृढ बनाउन सक्रिय
फुकुदा चीनसँगको सम्बन्ध विस्तार गर्ने प्रयासका लागि परिचित हुनुहुन्थ्यो। उहाँले सन् २००८ मेमा चीनका तत्कालीन राष्ट्रपति हु जिन्ताओलाई जापानको राजकीय भ्रमणमा स्वागत गर्नुभएको थियो।
त्यस क्रममा दुवै नेताले साझा रणनीतिक हितमा आधारित पारस्परिक लाभदायक सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धतासहित संयुक्त वक्तव्य जारी गर्नुभएको थियो।
सोही वर्ष जुलाईमा फुकुदाले होक्काइदोमा आयोजित समूह आठ (जी–८) शिखर सम्मेलनको अध्यक्षता गर्नुभएको थियो। सम्मेलनमा सहभागी नेताहरूले सन् २०५० सम्म हरितगृह ग्यास उत्सर्जन कम्तीमा ५० प्रतिशतले घटाउने विश्वव्यापी लक्ष्य अघि बढाउन सहमति जनाएका थिए। त्यसपछि जलवायु परिवर्तन जी–८ को प्रमुख कार्यसूचीमध्ये एक बनेको थियो।
प्रधानमन्त्री पदबाट हटेपछि पनि फुकुदाले चीन भ्रमण गर्ने र त्यहाँको नेतृत्वसँग सम्पर्क कायम राख्ने कामलाई निरन्तरता दिनुभयो। उहाँले दुई देशबीच अनौपचारिक संवादको माध्यमका रूपमा भूमिका निर्वाह गर्नुभएको थियो।
सन् २०१४ जुलाईमा उहाँले बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग गोप्य भेट गर्नुभएको थियो। उक्त भेटले सोही वर्ष नोभेम्बरमा तत्कालीन जापानी प्रधानमन्त्री आबे र सीबीच पहिलो शिखर वार्ताको वातावरण बनाउन सहयोग पुर्याएको थियो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार फुकुदाको निधनप्रति समवेदना व्यक्त गर्नुभयो। उहाँले फुकुदालाई चिनियाँ जनताको पुरानो मित्रका रूपमा उल्लेख गर्दै दुई देशबीचको सम्बन्धमा उहाँले पुर्याउनुभएको सकारात्मक योगदानको प्रशंसा गर्नुभयो।
घरेलु नीतिमा पनि योगदान
जापानमा फुकुदा नेतृत्वको सरकारले दूषित रगतजन्य औषधि तथा उत्पादनका कारण हेपाटाइटिस सीबाट संक्रमित भएका व्यक्तिलाई क्षतिपूर्ति दिने कानुन पारित गराउन सहयोग गरेको थियो।
यस विषयमा वर्षौँदेखि कानुनी लडाइँ चलिरहेको थियो। प्रधानमन्त्री रहँदा फुकुदाले पीडितहरूसँग दुईपटक व्यक्तिगत रूपमा माफीसमेत माग्नुभएको थियो।
खाद्य सुरक्षासम्बन्धी विभिन्न विवादपछि उपभोक्ताको हित संरक्षणलाई बलियो बनाउने उद्देश्यले उपभोक्ता मामिला निकाय स्थापना गर्ने आधार पनि उहाँको सरकारले तयार गरेको थियो। फुकुदा पदबाट हटेपछि सन् २००९ मा उक्त निकाय औपचारिक रूपमा सञ्चालनमा आएको थियो।
प्रधानमन्त्री बन्नुअघि फुकुदाले योसिरो मोरी र जुनिचिरो कोइजुमी नेतृत्वका सरकारमा मुख्य मन्त्रिपरिषद् सचिवका रूपमा काम गर्नुभएको थियो। उहाँ सन् १९९० मा गुन्मा प्रिफेक्चरको निर्वाचन क्षेत्रबाट पहिलोपटक प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो।
राजनीतिक गतिरोधका कारण छोटियो कार्यकाल
प्रधानमन्त्री बनेपछि सुरुमा फुकुदाको लोकप्रियता उच्च थियो। तर संसद्का दुई सदनबीचको राजनीतिक विभाजनले उहाँको सरकारलाई काम गर्न कठिन बनायो। विपक्षी दलहरूको माथिल्लो सदनमा नियन्त्रण थियो।
ज्येष्ठ नागरिकका लागि नयाँ स्वास्थ्य बिमा प्रणाली ल्याउने विषयमा उत्पन्न विवाद तथा सार्वजनिक पेन्सनका लाखौँ अभिलेखमा देखिएको गडबडीसम्बन्धी पुरानो प्रकरणका कारण सरकारप्रतिको जनसमर्थन घट्दै गयो।
प्रधानमन्त्री बनेको एक वर्ष पनि नपुग्दै फुकुदाले सन् २००८ सेप्टेम्बरमा राजीनामाको घोषणा गर्नुभयो। उहाँपछि तारो आसो प्रधानमन्त्री बन्नुभयो। फुकुदाले सन् २०१२ मा सक्रिय राजनीतिबाट अवकाश लिनुभएको थियो।




प्रतिक्रिया राख्नुहोस्