बिचार

दशैंको रौनकसँगै एनपिएल क्रिकेटले बढाएको उमङ्ग

दशैंको रौनकसँगै नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटको तेस्रो संस्करण अन्तर्राष्ट्रिय क्रिकेट परिषद -आइसिसी)को औपचारिक मान्यतासहित काठमाडौँमा आयोजना हुने भएपछि नेपाली क्रिकेटप्रेमीहरू थप उत्साहित बन्न पुगेका छन् ।

राजु सिलवाल

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको प्रतिस्पर्धामा शीर्ष छ मा रही एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउँदै उच्च मनोबलका साथ स्वदेश फर्केका नेपाली राष्ट्रिय टिमका खेलाडीहरू अब विभिन्न आठ फेन्चाइज टिममा संलग्न भई एनपिएल क्रिकेटमा प्रतिस्पर्धा गर्दैछन् ।

नेपालमा व्यावसायिक खेलकुदको जग बसाउने क्रममा महत्त्वपूर्ण भूमिका खेलिरहेको …एनपिएल क्रिकेट २०२६Ú का लागि आइसिसीको मान्यताले समग्रमा नेपालको क्रिकेटको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्नुका साथै एनपिएललाई अन्तर्राष्ट्रियस्तरमा थप स्थापित गर्न सहयोग हुने विश्वास गरिएको छ ।

परिवार तथा आफन्तसँगको भेटघाट र चाडपर्वको उल्लाससँगै नेपाली खेलप्रेमीहरूले अर्को उत्सवका रूपमा एनपिएल क्रिकेटलाई लिएका छन् । परिवारसँग बसेर खेल हेर्ने नयाँ संस्कृतिको विकास हुने भएको छ ।

नेपाली क्रिकेटको सबैभन्दा प्रतीक्षित फ्रेन्चाइज प्रतियोगिताले खेलप्रेमीहरूमा उमङ्ग थपेको छ । नेपालमा वर्षभरिमा दशैंको मौसम सबैभन्दा उपयुक्त मानिएको छ । आउँदै गरेको तिहारको उल्लासका साथै चिसो विस्तारै सुरु हुँदै गएको अवस्थामा क्रिकेटको माहोलले वातावरण विस्तारै तताउँदै जाने विश्वास गरिएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपालका सबै प्रदेशको प्रतिनिधित्व गरेका विभिन्न आठ टोलीबीचको प्रतिस्पर्धा र समर्थकको उत्साहले एनपिएललाई केवल क्रिकेट प्रतियोगितामा सीमित नराखी नेपाली खेलकुदको एउटा विशेष पर्वका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ ।

दशैं र तिहारको बीचमा एनपिएल परेकाले यसले दर्शकहरूको उपस्थितिमा असर पर्ने आँकलन पनि गरिएको छ । तर नेपाल क्रिकेट सङ्घ -क्यान)ले भने अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डर, अन्य फ्रेन्चाइज लिगहरू र विदेशी खेलाडीहरूको उपलब्धतालाई ध्यानमा राखेर मिति तय गर्दा दसैं–तिहारको समय उपयुक्त देखिएको जनाएको छ । एनपिएल लगत्तै नेपालमा पहिलोपटक ‘यु १९ महिला विश्वकप’ पनि हुने भएकाले नेपालप्रति विश्वको ध्यान निरन्तर आकृष्ट हुने विश्वास गरिएको छ ।

एनपिएलको तेस्रो संस्करणले नेपाली क्रिकेटमा नयाँ उत्साह र नयाँ सम्भावनाको खोजी गर्नेछ । नेपाली खेलाडीका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने यो महत्त्वपूर्ण अवसरमा क्रिकेट समर्थकहरूले नेपाली तथा ख्यातीप्राप्त विदेशी खेलाडीहरूको रोमाञ्चक खेल हेर्ने अवसर प्राप्त गर्ने छन् । नेपाली क्रिकेटका लागि व्यावसायिकताको नयाँ अध्याय थप्ने अवसरका रूपमा यस संस्करणलाई लिन सकिन्छ ।

तेस्रो संस्करण विशेष

यही कात्तिक ९ गतेदेखि सुरु हुन गइरहेको एनपिएलको तेस्रो संस्करण नेपालको खेलकुद इतिहासमा ऐतिहासिक बन्ने अपेक्षा गरिएको छ । एनपिएल २०२६ ले आइसिसीको आधिकारिक मान्यता पाएर आधिकारिक टी २० को हैसियत प्राप्त गर्नु सामान्य सन्दर्भ होइन । हाललाई सन् २०२६ को प्रतियोगितालाई मात्र औपचारिक मान्यता दिइएता पनि यसपालिको प्रतियोगिताको समग्र पक्ष सन्तोषजनक रूपमा सम्पन्न भएमा आगामी दिनमा एनपिएलको आधिकारिक मान्यताले निरन्तरता पाउने सम्भावना देखिन्छ ।

आइसिसी एशिया सम्मेलन

एनपिएल सञ्चालन भइरहँदा काठमाडौंमा क्रिकेटसँग सम्बन्धित आइसिसी एशिया सम्मेलन पनि आयोजना हुनु अर्को सुखद पक्ष मानिएको छ । आगामी मङ्सिर ३ गतेदेखि ५ गतेसम्म आयोजना गरिने उक्त सम्मेलनमा एशियाका टेष्ट क्रिकेट खेल्ने सबै मुलुकका पदाधिकारीका साथै एशोशिएट राष्ट्रका प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ ।

उनीहरूले एनपिएलको मङ्सिर ६ गते हुने फाइनललगायत अन्य खेल हेर्ने कार्यक्रम रहेकाले यसबाट नेपालको क्रिकेटको थप सम्भावनाका ढोका खुल्न जाने अपेक्षा गरिएको छ । अन्य टेष्ट मान्यता प्राप्त मुलुकबाट समेत एनपिएल हेर्न प्रतिनिधिहरू नेपाल आउँदैछन् ।

पहिलोपटक डिआरएसको प्रयोग

एनपिएलमा पहिलोपटक नेपालमा डिसिजन रिभ्यु सिस्टम -डिआरएस) प्रयोग गरिने भएको छ । अम्पायरले गरेको निर्णय पुनरावलोकन गर्न सकिने यो प्रविधि प्रयोग भएपछि प्रतियोगिताको निष्पक्षता र विश्वसनियता अझ बढन जाने विश्वास गरिएको छ । विश्वका प्रायः महत्त्वपूर्ण क्रिकेट प्रतियोगिताहरूमा डिआरएस प्रविधिको प्रयोग भएपछि खेलाडीहरूले उचित निर्णय पाउँदै आएका छन् ।

विदेशी खेलाडी बढे

एनपिएलका लागि विभिन्न टिमहरूबीच अनुभवी विदेशी खेलाडीलाई आकर्षक पारिश्रमिक दिएर अनुबन्ध गराउने होडबाजी चलेको बेला विदेशी खेलाडी बढी सङ्ख्यामा खेलाउन पाइने भएपछि टिमहरूलाई अझ सहज भएको छ ।

अघिल्ला संस्करणमा प्रत्येक सहभागी टिममा चारदेखि छ जनासम्म विदेशी खेलाडी समावेश गर्न पाइने व्यवस्था थियो । तर अब हरेक टिमले छदेखि आठ जनासम्म विदेशी खेलाडी राख्न पाउने भएका छन् । यस अनुसार टेष्ट खेल्ने मुलुकका बढीमा सात जनासम्म खेलाडी टिममा राख्न पाइनेछ । यसमा एकजना एशोशियट राष्ट्रका खेलाडी हुनु पर्नेछ ।

प्रत्येक टिममा सात जना नेपाली खेलाडी हुनु पर्नेछ । गत छ महिनाको अवधिमा आइसिसीबाट अनुमति नलिएका प्रतियोगितामा खेलेका खेलाडीले एनपिएल खेल्न पाउने छैनन् । विदेशी खेलाडी तथा सन्यास लिइसकेका खेलाडीले समेत आफ्नो गृह क्रिकेट बोर्डसँग समन्वय गरेर अनुमति लिनु पर्ने व्यवस्था गरिएको छ ।

नेपालीलाई लाखौं पारिश्रमिक

एनपिएल २०२६ मा प्रत्येक फ्रेन्चाइज टिममा टिममा सहभागी हुने नेपालीहरूले पनि लाखौं रुपैंया पारिश्रमिक लिएर खेल्ने अवसर प्राप्त गरेका छन् । एउटा टिममा बढीमा १६ जना खेलाडी समावेश हुनसक्ने नियम रहेको छ ।

यसमा एक–एक जना नेपाली राष्ट्रिय क्रिकेट टिमका स्थापित खेलाडीहरूलाई मार्की खेलाडीका रूपमा आबद्ध गरिएको छ । अन्य खेलाडीहरूको चयन अगाडि नै मार्की खेलाडीहरूलाई टिममा समावेश गरिएको थियो । उनीहरूका लागि न्यूनतम् मूल्य २० लाख रुपैंया तोकिएको थियो ।

यस्तै अन्य नेपाली खेलाडीहरूलाई ए, बी र सी श्रेणी अनुसार बोलकबोल गरेर टिममा अनुबन्धित गरिएको थियो । फ्रेन्चाइज टोलीहरूले नेपाली खेलाडीलाई बढीमा २० लाख रुपैंयासम्म प्रदान गर्ने भएका छन् ।

बोलकबोलमा प्रस्तुत १५५ खेलाडीमध्ये सबैभन्दा बढी २० लाख रुपैंयामा आसिफ सेख लुम्बिनी लायन्स टिममा अनुबन्धित भए थिए । यस्तै चार खेलाडी १५ लाख रुपैंयामा अनुबन्धित भएका थिए । यस्तै प्रत्येक टिममा दुई–दुई जना स्थानीय युवा खेलाडीले पनि खेल्ने मौका पाएका छन् । यसका लागि प्रतिभा छनोट शिविर सञ्चालन गरिएको थियो ।

पूर्वाधार थप

बिगत २५ वर्षदेखि क्रिकेट प्रतियोगिता हुँदै आएको कीर्तिपुरस्थित क्रिकेट मैदानमा गत वर्ष बनाइएका पूर्वाधारमा थप निर्माण तथा मर्मतसम्भार गरिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति गरेर अघिल्लो संस्करणका व्यवस्थापकीय कमजोरीहरू सुधार्ने प्रयास गरिएको छ ।

विशेषतः प्याराफिटमा दर्शक क्षमता बढाउनुका साथै छाना छाउने काम र शौचालयहरू थपिएका छन् । व्यवस्थित मिडिया बक्स बनाइएको छ । मैदान वरपर धुलो नउड्ने अवस्था आओस् भनी आवश्यक ब्यवस्था मिलाइएपछि आगामी दिनमा कीर्तिपुरमा आयोजना हुने अन्य प्रतियोगिताका लागि पनि सहज हुने भएको छ ।

करोडौं पुरस्कार

एनपिएल क्रिकेट नेपाली खेलकुद जगतमा हालसम्मकै सर्वाधिक करोडौं नगद पुरस्कार प्रदान गर्ने प्रतियोगिता बन्न पुगेको छ । प्रतियोगितामा सर्वोत्कृष्ठ खेल प्रदर्शन गर्ने एकजना नेपाली खेलाडीलाई मोटर कार पुरस्कार प्रदान गरिने भएपछि यो प्रतियोगिताप्रति खेलाडीहरूको आकर्षण अझ बढ्न पुगेको छ ।

पहिलो प्रतियोगितामा दिपेन्द्रसिंह ऐरी र दोस्रो प्रतियोगितामा रोहित पौडेलले प्रतियोगिता अवधिभरकै सर्बोत्कृष्ट खेलाडी बनेर मोटर कार पुरस्कार पाएका थिए । यसरी लाखौंको पुरस्कार पाएपछि ती खेलाडीहरूलाई आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्न प्रोत्साहित गर्नेछ । नयाँ पिंढीलाई पनि खेलकुदतर्फ आकर्षण गर्न यस्ता पुरस्कारले भूमिका खेल्न सक्दछ ।

विगतका वर्ष जस्तै यसपालि पनि एनपिएलका विजेता टिमले करोडौं राशिको नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा दोस्रोदेखि चौथो हुने टिमहरूले पनि लाखौं पुरस्कार पाउने छन् भने उत्कृष्ठ व्यक्तिगत प्रदर्शन गर्नेहरूले पनि विभिन्न आकर्षक पुरस्कार प्राप्त गर्न् छन् ।

नेपाली खेलाडीको अवसर

एनपिएल नेपाली खेलाडीकालागि ठूलो अवसर मानिएको छ । अन्तर्राष्ट्रिय रूपमा ख्याती आर्जन गरिसकेका खेलाडीसँग ब्यक्तिगत रूपमा चिनाजानी हुनुका साथै एउटै टिममा रहेर खेल्न पाउनु नेपाली खेलाडीहरूका लागि पनि गौरवको विषय हो ।

सञ्चार माध्यममा देखेका प्रसिद्ध खेलाडीहरूको खेल शैली तथा व्यावसायिक संस्कारबाट नेपाली खेलाडीहरूले धेरै कुरा सिक्न सक्छन् । यसबाट भोलिको दिनमा नेपालको घरेलु क्रिकेटलाई महत्वपूर्ण योगदान पुग्न सक्दछ ।

नेपाली खेलाडीले आफ्नो खेल देखाउने अवसरका रूपमा पनि एनपिएललाई लिन सकिन्छ । यदि राम्रो खेल प्रदर्शन गर्न सकिएको खण्डमा विश्वका विभिन्न मुलुकमा हुने फ्रेन्चाइज प्रतियोगिताहरूमा प्रवेश पाउनसक्ने सम्भावना पनि देखिएको छ ।

प्रतिभा पहिचानको माध्यमबाट एनपिएल खेल्ने मौका पाएका युवा खेलाडीका लागि आगामी दिनमा राष्ट्रिय टिम टिमको ढोका खोल्ने माध्यम यही प्रतियोगिता बन्न सक्दछ ।

सबैले सबैसँग खेल्नुपर्ने

एनपिएल क्रिकेटमा कूल ३२ वटा खेल हुनेछन् । आठ टोलीले लिग चरणमा एक–अर्कासँग खेल्नेछन् । यसरी सबैले सबैसँग खेल्न पाउनु यो प्रतियोगिताको विशेषता हो । त्यसपछि शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन्, जसमा २८ सिंगल राउण्ड रोबिन तथा चार …प्ले अफÚ खेल सञ्चालन गरिने छ । अन्तिममा फाइनलले बिजेता निर्धारण गर्नेछ । यो प्रतियोगिता आइसिसीको नियम अनुसार हुनेछ ।

फेन्चाइज क्रिकेट धेरै खेल्ने नेपाली

नेपाली क्रिकेट खेलाडीहरूमध्ये सन्दिप लामिछानेले सबैभन्दा धेरै विदेशी फ्रेन्चाइज लिग खेलेका छन् । उनले विभिन्न क्लबमा व्यावसायिक खेलाडीका रूपमा आबध्द भएर विभिन्न प्रिमियर लिग खेलिसकेका छन् ।

भारतको इण्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सका तर्फबाट खेलेका लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग मेलबर्न स्टार्स र होबार्ट हेरिकेन्सका तर्फबाट खेलिसकेका छन् । क्यारेबियन प्रिमियर लिगमा सेण्ट किटस एण्ड नेभिस पेट्रियट्स, बार्बाडोस ट्राइडेण्टस तथा जमैका तालावाजबाट खेलेका लामिछानेले पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सबाट तथा लङ्का प्रिमियर लिगमा जाफ्ना किंग्सबाट तथा ग्लोबल टी २० क्यानडामा भ्यानकुभर नाइटसका तर्फबाट खेलिसकेका छन् ।

अन्य नेपाली क्रिकेट खेलाडीहरूले पनि विभिन्न विदेशी फ्रेन्चाइज क्रिकेट खेलिसकेका छन् । नेपाली अलराउण्डर दिपेन्द्रसिंह ऐरीले ग्लोबल टी २० क्यानडा, इण्टरनेशनल लिग टि २० युएई, स्कटिस सुपर १०, युरोपियन टी २० लगायतका फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

यसैगरी रोहित पौडेल र सोमपाल कामीले ग्लोबल टी २० क्यानडालगायतका फ्रेन्चाइज लिगमा सहभागिता जनाएका थिए । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खडकाले टी १० लिग अबुधावीमा खेलेका थिए ।

प्रसिद्ध फ्रेन्चाइज लिगहरू

विश्वका विभिन्न मुलुकमा फेन्चाइज लिग क्रिकेट प्रतियोगिता सचालन हुने गरेका छन् । विश्वकै सबैभन्दा ठूलो फ्रेन्चाइज लिगका रूपमा इण्डियन प्रिमियर लिग आइपिएललाई लिने गरिएको छ । सन् २००८ मा भारतमा आइपिएलको सुरुवात भएको थियो ।

भारतमा महिलाहरूको वुमन्स प्रिमियर लिग पनि आयोजना हुँदै आएको छ । यस्तै सन् २०११ मा अष्ट्रेलियामा बिग व्यास लिग बिबिएल सुरु भएको थियो ।

सन् २०१२ मा बङ्गलादेशमा बङ्गलादेश प्रिमियर लिग बिबिएल, सन् २०१३ मा वेष्ट इण्डिजमा क्यारेबियर प्रिमियर सिपिएल तथा सन् २०१६ मा पाकिस्तानमा पाकिस्तान सुपर लिग पिएसएल प्रारम्भ भएको थियो । सन् २०२० मा श्रीलङ्कामा लङ्का प्रिमियर लिग एलपिएल सुरु भएको थियो । इङ्गल्याण्डमा सन् २०२१ देखि द हन्ड्रेड सुरु भएको थियो । सन् २०२३ देखि दक्षिण अफ्रिकामा एसए २० सुरु भएको थियो ।

नयाँ ब्राण्ड स्थापित

नेपाली खेलकुद जगतमा एनपिएल एउटा ठूलो ब्राण्डका रूपमा स्थापित हुन पुगेको छ । निजी क्षेत्रको विशेष चासो तथा लगानीका कारण एनपिएल ब्राण्ड दिनहुँ बृहत बन्दै गइरहेको छ ।

एनपिएलको माध्यमबाट मनोरन्जनका साथै व्यवसाय प्रवद्र्धनको उचित सम्भावना बढदै गएको छ । सामाजिक माध्यम, टेलिभिजन होस् वा डिजिटल प्लेटफार्मको माध्यमबाट एनपिएल ब्राण्ड ब्यापक बनिरहेको छ ।

एनपिएलमा मिलोमतोमा खेल खेले आइसिसीको नियमअनुसार कारबाही गरिने भएपछि यो प्रतियोगिताको विश्वसनियता बढने भएको छ । क्रिकेट म्याचका बेला कुनै प्रकारको सट्टाबाजी हुन नदिन विशेष सतर्कता अपनाइने भएको छ ।

यस प्रतियोगिताले नेपाल अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताहरू आयोजना गर्न उपयुक्त स्थल रहेको सन्देश विश्व अन्तर्राष्ट्रिय समुदायलाई दिनेछ । यही प्रतियोगिताको माध्यमबाट नेपाल आउने विभिन्न देशका खेलाडी, अम्पायर लगायत अन्य पदाधिकारीले नेपालको अनुभव विदेशमा फैलाउने छन् ।

टेलिभिजनको प्रत्यक्ष प्रसारणबाट नेपालको सकारात्मक सन्देश विश्वमाझ फैलाउने यो स्वर्णिम अवसर हो । क्रिकेटका ख्याती प्राप्त अन्तर्राष्ट्रिय टेलिभिजन कमेण्टेटरहरूले एनपिएल क्रिकेटका क्रममा गरेको प्रत्यक्ष प्रसारणको माध्यमबाट नेपालको ब्यापक मात्रामा प्रचार प्रसार हुनेछ ।

दशैंको टीका–जमराको रौनकपछि अब नेपाली क्रिकेट मैदानमा चौका–छक्काको रौनक छाउनेछ । नेपाली क्रिकेटले नयाँ उचाइको खोजी गर्नेछ । एनपिएल एउटा प्रतियोगिता मात्र नभई क्रिकेटको नयाँ पर्वको रूपमा पनि स्थापित हुँदैछ । यसले नेपाली क्रिकेटको व्यावसायिक यात्रालाई समायोचित रूपमा अगाडि बढाउँदै अन्तर्राष्ट्रिय पहिचानको सम्भावनालाई समेत थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

अबको चुनौती भनेको एनपिएललाई हरेक वर्ष आयोजना गर्ने प्रतियोगितामा मात्र सीमित नराखी नेपाली क्रिकेटको दीर्घकालीन विकाससँग पनि यसलाई जोडनु पर्दछ ।

यस प्रतियोगिताको माध्यमबाट घरेलु प्रतिभालाई निरन्तर अवसर दिँदै व्यावसायिक वातावरण निर्माण गर्न सकियो भने एनपिएल नेपाली क्रिकेटको भविष्य निर्माण गर्ने महत्त्वपूर्ण आधार बन्नसक्ने कुरामा आशावादी हुन सकिन्छ ।

नेपाली समाजलाई एकतामा जोडेको दशैंको सेरोफेरोमा आयोजना गरिएको एनपिएलले नेपाली क्रिकेटप्रेमीलाई एउटै भावनामा जोड्ने अवसर दिएको छ ।

यो प्रतियोगितालाई केवल उपाधिका लागि हुने प्रतिस्पर्धाका रूपमा मात्र नहेरी नेपाली क्रिकेटको नयाँ सम्भावना, नयाँ सपना र नयाँ यात्राको उत्सवका रूपमा हेर्नु पर्नेछ । यसबाट नेपाली क्रिकेटले नयाँ उचाइको खोजी गर्ने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.