अर्थ

अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत

चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ । चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको हो ।

यसअघि ६ कात्तिकमा काठमाडौँमा बसेको बैठकले तय गरेको मूल्यलाई छ दिनपछि नै परिमार्जन गर्दै सङ्घले बिहीबार पोखरामा बसेको बैठकबाट अण्डाको नयाँ समर्थन मूल्य तोकेको सङ्घका अध्यक्ष विनोद पोखरेलले बताउनुभयो ।

नयाँ समर्थन मूल्यअनुसार एक्सएल, ठूलो र मिडियम अन्डाको मूल्य प्रतिपेटी (कार्टुन) रु दुई सय बढेको छ भने सानो अण्डाको मूल्य प्रतिपेटी रु एक सय वृद्धि भएको छ ।

अध्यक्ष पोखरेलले ६ कात्तिकमा रु तीन हजार ७०० रहेको १४.५ देखि १४.८ किलोको एक्सएल अण्डाको समर्थन मूल्य अब रु तीन हजार ९०० पुगेको छ । १३.५ देखि १३.८ किलोको ठूलो अण्डाको समर्थन मूल्य रु तीन हजार ६०० बाट बढेर रु तीन हजार ८०० पुगेको छ ।

१२.५ देखि १२.८ किलोको मिडियम अण्डाको समर्थन मूल्य रु तीन हजार ५०० बाट बढेर रु तीन हजार ७०० पुगेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । एघार किलोभन्दा माथिको सानो अण्डाको समर्थन मूल्य भने रु तीन हजार १०० बाट बढेर रु तीन हजार २०० पुगेको छ ।

उपभोक्ता मूल्य ठूलो अण्डा प्रतिगोटा रु २५ र मिडियम अण्डाप्रति दुई वटाको रु ४५ कायम गरिएको छ । फार्म मूल्य प्रतिपेटी रु २०० बढे पनि उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने कुनै परिवर्तन नगरिएको उहाँले बताउनुभयो ।

पर्वहरुसँगै चिसो सुरु भएपछि बजारमा खपत बढेका कारण होलसेल मूल्य बढाइएको उहाँले बताउनुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.