सरकारले निजी विद्यालय सञ्चालकहरूको संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई निलम्बन गरेको छ।
गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम अर्को निर्णय नभएसम्मका लागि संगठन निलम्बन गर्ने निर्णय गरेको हो।
मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै एन–प्याब्सनले सरकारबाट जारी निर्देशन बारम्बार पालना नगरेको तथा संगठनका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीतका गतिविधि गरेको जनाएको छ।
मन्त्रालयका अनुसार राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सरकारको स्वीकृति लिएर सञ्चालनमा रहेको एन–प्याब्सनले ऐनको दफा ५ अनुसार मन्त्रालयबाट जारी निर्देशन पालना गरेको देखिएको छैन।
संगठनका पदाधिकारीबाट स्वीकृत विधान तथा संस्थाको उद्देश्यविपरीतका कामसमेत भएको मन्त्रालयको सूचनामा उल्लेख छ।
यस विषयमा मन्त्रालयले २०८३ असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरेको थियो। उक्त छलफलमा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी निर्देशनबमोजिम काम गर्न संगठनलाई आग्रह गरेको थियो। तर, त्यसअनुसार कार्य नगरेको भन्दै मन्त्रालयले ऐनको दफा ६ को उपदफा (२) बमोजिम निलम्बन गरेको जनाएको छ।
मन्त्रालयले निलम्बनसम्बन्धी सूचना जारी भएपछि एन–प्याब्सनको नाममा कुनै पनि समूह वा गुटबाट गतिविधि सञ्चालन भए गैरकानुनी हुने चेतावनीसमेत दिएको छ। त्यस्ता गतिविधि भएको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ।
सरकारको यो निर्णयसँगै एन–प्याब्सनको संस्थागत गतिविधि अर्को निर्णय नभएसम्मका लागि रोकिएको छ। मन्त्रालयले भने संगठनले सरकारी निर्देशन पालना नगरेको र स्वीकृत विधानविपरीत काम गरेको आधारमा कानुनी व्यवस्था प्रयोग गरी निलम्बन गरिएको जनाएको छ।





प्रतिक्रिया राख्नुहोस्