– यादब देवकोटा

केही वर्षअघिसम्म हृदयघात बुढ्यौलीमा लाग्ने रोग भनिन्थ्यो र यसबाट बच्न चिकित्सक तथा विज्ञहरु स्वस्थ खानेकुरा र नियमित व्यायामलाई उच्च प्राथमिकता दिन्छन् तर नियमित व्यायाम गने गर्नेहरु किन हृदयघातकै कारण मृत्युको शिकार हुन्छन् ? यो अहिलेको पुस्ताका लागि नयाँ चुनौति भएको छ ।
अहिले ३०–५० वर्ष उमेर समूहका व्यक्तिहरुमा हृदयघात बढिरहेको छ । आफ्नो स्वास्थ्यप्रति निकै सचेतहरु पनि यसको शिकार भैरहेका छन् । हुन त हृदयघात व्यक्तिको आफ्नो आनीबानीले पनि हुन्छ भने आनीबानी राम्रो भएकाहरुमा अनुवांशिक रुपमै यसले आक्रमण गर्छ ।
मुटु मांसपेशीको डल्लो हो । यसले पम्पको काम गर्दछ र शरीरभर रक्तसञ्चालन गराउँदछ । मुटुलाई यो काम निर्वाह गर्न उर्जा (शक्ति) चाहिन्छ । यो उर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका ३ वटा कोरोनरी रक्तनलीमा प्रवाहित हुने रगत मार्फत ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ ।
मुटुलाई आवश्यक पर्ने उर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनलीहरू स्वस्थ हुनु जरूरी छ । यी रक्तनलीभित्र विभिन्न कारणहरूबाट कोलेस्टेरोल (बोसो) जमेर साँगुरो भएको खण्डमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ जसका कारण पर्याप्त मात्रामा मुटुका मांसपेशीहरूमा ग्लुकोज र अक्सीजनको अभाव हुन्न पुग्छ । जसका कारण हृदयघातको सम्भावना बढ्दै जान्छ । तर, सो कुरा व्यक्ति स्वयंले पत्तै पाउँदैन ।
नेपाल लगायत विश्वभर नै अहिले कम उमेरका मानिसहरु हृदयघातको शिकार भैरहेका छन् । २०७४ सालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको ३६ वर्षको उमेरमा हृदयघातका कारण निधन भयो । त्यसको केही वर्षअघि चर्चित संचारकर्मी तथा कानुन व्यवसायी इन्द्र लोहनी ४२ वर्षको उमेरमा हृदयघातकै कारण निधन भयो । इन्द्रको हृदयघातबाट निधन भएपछि नेपालमा हृदयघात हुने उमेर र कारणहरुका बारेमा नयाँ बहस सुरु भएको थियो ।
अझ प्रकाशको निधनपछि पनि त्यस्तै बहस भयो । ३६ वर्षको उमेरमा कसरी हृदयघात हुन्छ भन्ने प्रश्न उठिरहेको थियो । यसबीचमा सोही उमेर समूहका धेरैलाई हृदयघात भएका समाचारहरु सार्वजनिक भैरहे । हृदयघातका परम्परापरागत मान्यता र यसबाट जोगिने उपायहरुका विषयमा पनि नयाँ नयाँ बहसहरु चलिरहेका छन् ।
अहिले हृदयघात अहिले एक्सेसिभ एक्ससाइज र फिटनेस गर्नेहरुमा पनि देखिन थालेको छ । ‘सिक्स प्याक’को लोभमा अत्याधिक हर्मोनको प्रयोग गरिरहँदा हृदयघात हुनसक्छ । एक्ससाइजसँगै हाइप्रोटिन, हाईफ्याट भएको चिजहरु अण्डा, माछा, मासुको प्रयोग गरिरहेका हुन्छन् । अत्याधिक एक्ससाइजले गर्दा मुटुको मांशपेशी एकदमै बाक्लो भइरहेको हुन्छ । त्यसले गर्दा पनि कहिले काहीँ रक्तसञ्चार नभएर हृदयघात हुन सक्छ ।
एक रिपोर्टका अनुसार खराब जीवनशैलीका कारण युवाहरुमा मुटुसम्बन्धी रोगहरु लाग्न सक्छ । जीवनशैलीका कारण मुटुसम्बन्धी रोग लाग्ने सम्भावना ७५ प्रतिशत धेरै हुन्छ । सबैले भन्ने कुरा यही हो तर अत्यधिक ‘फिटनेस’मा ध्यान दिएर शरीरले धान्नेभन्दा बढी परिश्रम गर्नु र त्यसका लागि सोही अनुसारका खाद्यवस्तु प्रयोग गर्नु पनि हानिकारक नै देखिएको छ । जब मानिसको मुटुमा समस्या आउँछ तब केही सेकेण्डको ढिलाईले पनि उसको ज्यान जानसक्छ- त्यसैले हृदयघातलाई विश्वकै नं. १ हत्यारा रोग भनिन्छ । विश्वमा सबैभन्दा धेरै संख्यामा मानिसहरूको मृत्यु हुने रोग हृदयघात हो । विश्वमा हुने मानव मृत्युको २५–३५ प्रतिशत कारण हृदयघात हो ।
हृदयघात खराब जीवशैलीले त हुन्छ नै आफ्नो जीवनशैली सामान्य र स्वस्थ अनि ‘फिटनेस’ प्रति सचेत रहेर अत्यधिक व्यायाम गर्दा पनि हुन्छ । गत शुक्रबार विहान भारतको कन्नड चलचित्रका लोकप्रिय अभिनेता पुनित राजकुमारको हृदयघातका कारण निधन भयो । निकै फिट र नियमित शारीरिक व्यायाम गर्ने ४६ पुनितको व्यायामकै क्रममा हृदयघात भएर अस्पताल लगिएको थियो । अघिल्लो महिना भारतकै चर्चित अभिनेता सिद्धार्थ मलहोत्राको पनि हृदयघातकै कारण निधन भएको थियो । यी दुबै अभिनेता ‘फिटनेस’मा अत्यधिक ध्यान दिन्थे ।
हृदयघात अनुवांशिक पनि हुन्छ । जतिसुकै फिटनेसमा ध्यान दिए पनि जतिसकै व्यायाम र खानपानमा ध्यान दिए पनि हृदयघातबाट बच्न गाह्रो छ भन्ने उदाहरण धेरै छन् र पछिल्लो उदाहरण पुनित राजकुमार हुन् ।
हृदयघात व्यक्ति स्वयंका कारण मात्र हैन कि प्राकृतिक वातावरण पनि जिम्मेवार रहेको छ । अहिले जलवायु परिवर्तनका कारण उत्पन्न वातावरणीय प्रदूषण, व्यस्त अनि मस्त जीवनशैली अनि भौतिक सुविधालाई सर्वोपरी ठान्नेहरु यसको शिकार भैरहेका छन् ।
यद्यपि मुटुका धेरैजसो रोगहरु जीवनशैलीसँग सम्बन्धित छन् । आजकल जीवनशैली व्यवस्थित छैन । अव्यवस्थित जीवनशैलीको नतिजा हो मुटुरोग । आधुनिक जीवनशैली, व्यस्त जीवन, महत्वकांक्षा, भोजभतेर, कम्प्युटर, टेलिभिजन, अत्यधिक मानसिक तनाव, व्यायामको कमी आदि मुटुरोग बढ्नुका थप कारणहरु हुन् ।
प्रतिक्रिया राख्नुहोस्