विश्व समाचार

युरोपमा जनअसन्तुष्टि बढ्दै, फेरि विरोध प्रदर्शनको लहर

जीवनयापनको अवस्था, सार्वजनिक संस्थासम्बन्धी विवादलगायत विभिन्न विषयमा असन्तुष्टि जनाउँदै शनिबार युरोपका प्रमुख सहरहरूमा फेरि विरोध प्रदर्शन भएका छन्।

सामाजिक सञ्जालमार्फत प्रदर्शनका लागि आह्वान गरिएपछि केही सहरमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ। धेरैजसो प्रदर्शनमा सार्वजनिक सेवा, बढ्दो महँगी र आवासको सहज उपलब्धता प्रमुख मुद्दाका रूपमा उठेका थिए।

जर्मनीमा शनिबार ३० भन्दा बढी सहरमा प्रदर्शन भएका थिए। प्रदर्शनकारीहरूले सार्वजनिक सेवामा थप लगानी गर्न, बढ्दो महँगी नियन्त्रण गर्न र अनिवार्य सैन्य सेवाको व्यवस्था लागू नगर्न माग गरेका थिए।

दिउँसो अबेरसम्म १२ सहरबाट प्राप्त विवरणका आधारमा ६८ हजारभन्दा बढी मानिस सहभागी भएको आयोजकहरूले बताएका थिए। फ्रान्समा जस्तै जर्मनीका प्रदर्शन पनि अधिकांशतः शान्तिपूर्ण रहे। तर साँझ केही सहरमा झडप भएका थिए।

जर्मन समाचार संस्था डीपीएका अनुसार फ्र्याङ्कफर्टमा प्रहरी अधिकारीहरू घाइते भएका थिए भने ह्याम्बर्गमा अवरोधका लागि राखिएका संरचनामा आगजनी गरिएको थियो। ब्रेमेनमा प्रहरीमाथि आक्रमण भएको थियो।

फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबार भएको प्रदर्शनमा देशभर करिब तीन लाख २० हजार मानिस सहभागी भएका थिए। तीमध्ये करिब ७० हजार पेरिसमा सहभागी थिए।

तर आयोजकहरूले देशव्यापी सहभागिता करिब पाँच लाख र राजधानी पेरिसमा मात्रै दुई लाख पुगेको दाबी गरेका छन्।nnफ्रान्सभर करिब ७० हजार प्रहरी तथा जाँडार्म परिचालन गरिएको थियो।

अधिकांश र्‍याली शान्तिपूर्ण रहे पनि केही सहरमा प्रहरीसँग झडप र अन्य अव्यवस्था भएको खबर आएको छ। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले प्रारम्भिक विवरणअनुसार देशभर ४२२ जना पक्राउ परेको पत्रकारहरूलाई जानकारी दिनुभएको छ।

इटालीमा जीवनयापनको बढ्दो खर्च र सार्वजनिक सेवासम्बन्धी माग राख्दै देशव्यापी प्रदर्शन भएपछि शनिबार पनि रोमस्थित कोलोसियम नजिक प्रदर्शनकारीहरूले धर्ना जारी राखेका थिए।

इटालीको समाचार संस्था एएनएसएका अनुसार युनियोने सिन्डाकाले दी बासे (यूएसबी) ले आह्वान गरेको आमहडतालका क्रममा शुक्रबार ६० भन्दा बढी सहरमा मजदुर तथा विभिन्न समूहले प्रदर्शन गरेका थिए।

उक्त युनियनले १५ लाख मानिस सहभागी भएको अनुमान गरेको छ भने गृह मन्त्रालयले सहभागीको संख्या करिब दुई लाख ५५ हजार रहेको जनाएको छ।

पोर्चुगलको लिस्बन र पोर्टोमा शनिबार आवाससम्बन्धी माग राखेर भएका प्रदर्शनमा प्रत्येक सहरमा एक हजारभन्दा बढी मानिस सहभागी भएका थिए।

लिस्बनमा प्रदर्शनकारीहरू रुसियो स्क्वायरतर्फ जुलुससहित अघि बढेका थिए। उनीहरूले त्यहाँ रातभर धर्ना दिने योजना बनाएका थिए। प्रहरीले अक्टोबर २५ मा दुवै सहरमा प्रदर्शनकारीले बनाएका अस्थायी शिविर हटाएको थियो।

विभिन्न देशका प्रदर्शनमा राजनीतिक असन्तुष्टिका विषय पनि प्रमुख रूपमा उठेका थिए। अल्बानियाको राजधानी तिरानामा शिक्षा सुधार, जीवनयापनको अवस्था सुधार र प्रधानमन्त्री एदी रामाको राजीनामाको माग गर्दै लगातार १९औँ दिन शनिबार पनि प्रदर्शन जारी रहेको अल्बानियन टेलिग्राफिक एजेन्सीले जनाएको छ।

केही प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा र पेट्रोल बम प्रहार गरेका थिए। प्रहरीले जवाफमा अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। विपक्षी डेमोक्रेटिक पार्टीले आन्दोलनलाई समर्थन गरेको छ।

पोल्यान्डमा संवैधानिक न्यायाधिकरणको संरचना र नेतृत्वलाई लिएर विवाद चर्किएपछि राजधानी वार्सामा प्रदर्शन भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीहरू शुक्रबार साँझदेखि शनिबारसम्म संवैधानिक न्यायाधिकरणबाहिर भेला भएका थिए।

भवन वरपर रातभर गरिएको प्रहरी कारबाहीका क्रममा चार जना पक्राउ परेको प्रहरीले जनाएको छ। पोल्यान्डका राष्ट्रपति कारोले नाभ्रोस्की विदेश भ्रमण छोट्याएर स्वदेश फर्किनुभएको छ र तत्काल राजनीतिक परामर्श गर्ने घोषणा गर्नुभएको छ।

यसैबीच, सामाजिक सञ्जालमा प्रदर्शनका लागि गरिएका आह्वानपछि अन्य केही देशमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। नेदरल्यान्ड्समा शनिबार दिउँसो प्रहरीले द हेग सेन्ट्रल स्टेसन नजिक भेला भएको भीडलाई तितरबितर पारेको थियो।

प्रहरीले सर्वसाधारणलाई सहरको केन्द्रभागमा नजान आग्रह गरेको थियो। स्थानीय प्रहरीले दिनभरिमा ३४ जना पक्राउ परेको जनाएको छ।

नेदरल्यान्ड्सका विभिन्न सहरमा प्रदर्शन गर्न सामाजिक सञ्जालमार्फत गरिएको आह्वानपछि उक्त जमघट भएको थियो। केही आह्वानमा लुटपाट र तोडफोड गर्नसमेत उक्साइएको थियो। प्रस्तावित प्रदर्शनलाई ध्यानमा राख्दै केही व्यवसायीले आफ्ना पसलका सटर र झ्यालहरू काठका फल्याकले छोपेका थिए।

स्पेनमा पनि शनिबार सामाजिक सञ्जालमार्फत प्रदर्शनका लागि आह्वान गरिएपछि म्याड्रिड, बार्सिलोना र भ्यालेन्सियालगायत सहरमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

अघिल्लो सप्ताहान्त बार्सिलोनामा भएको अशान्ति दोहोरिन नदिन सुरक्षा परिचालन गरिएको थियो। उक्त घटनामा १५ प्रहरी अधिकारी घाइते भएका थिए भने १२८ जना पक्राउ परेका थिए।

स्पेनको समाचार संस्था ईएफईका अनुसार अनलाइन माध्यमबाट अशान्ति र हिंसा भड्काउन उक्साएको आशंकामा प्रहरीले शुक्रबार देशभर १० जनालाई पक्राउ गरेको थियो। (रासस/सिन्ह्वा)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.