राजनीति

लुम्बिनीमा ३० शय्याको अस्पताल स्थापना गर्ने श्रीलङ्काली राष्ट्रपतिको इच्छा

श्रीलङ्काली राष्ट्रपति राजपाक्षेले लुम्बिनीमा ३० शय्याको अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गर्नुभएको र त्यसमा नेपालको सदभाव होस् भन्ने चाहना राख्नुभएको छ। आज प्रधानमन्त्री शेरबहादुर देउवासंगको भेटमा उहाँले सो चाहना व्यक्त गर्नुभएको हो ।

संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुईदिने विश्व नेताहरुको शिखर सम्मेलनमा भाग लिन आउनुभएका उहाँहरुबीच आज ‘साइडलाइन’ भेटवार्ता भएको हो ।

भेटवार्तामा उहाँहरुबीच दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने सन्दर्भमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले राससलाई जानकारी दिनुभयो । दुवै देशबीच सुमधुर सम्बन्ध छ । उहाँहरुबीच शैक्षिक क्षेत्रमा सहयोग आदानप्रदान गर्ने, द्विपक्षीय संस्कृति मजबुत बनाउनेलगायत विषयमा कुरा भएको थियो ।

अवसरमा श्रीलङ्काली राष्ट्रपति राजपाक्षेले लुम्बिनीमा ३० शय्याको अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गर्नुभएको र त्यसमा नेपालको सदभाव होस् भन्ने चाहना राख्नुभएको सचिव पौड्यालले बताउनुभयो ।

यसैगरी दुवै देशको पर्र्यटनका क्षेत्रमा प्रवद्र्धन गर्ने र सम्बन्ध अझ मजबुत बनाउने तथा उच्चस्तरमा संवादलाई निरन्तरता दिनेलगायतका विषयमा उहाँहरुबीच छलफल भएको थियो । सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा यही कात्तिक १२ गते राति संयुक्त अधिराज्य पुग्नुभएको थियो ।

यही कात्तिक १४ गतेदेखि संयुक्त अधिराज्यको ग्लास्गोमा सुरु भएको कोप–२६ कात्तिक २६ गतेसम्म चल्नेछ । नेपाली प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, विभिन्न मन्त्रालयका सचिवहरु, उच्च अधिकारी, सञ्चारकर्मीलगायत हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button