क्रिकेटखेल

उन्नाइस वर्षमुनि महिला क्रिकेट : नेपालले हङकङलाई हरायो

यु–१९ महिला बेल्ट एण्ड रोड सिरिजअन्तर्गत आज बिहिबार भएको खेलमा नेपालले हङकङलाई पराजित गर्दै जितबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

चीनको ताइचाङस्थित साक्सी टाउन क्रिकेट सेन्टरमा भएको खेलमा नेपाली महिला टोलीले हङकङलाई ९२ रनले पराजित गर्दै जित हासिल गरेको हो ।

नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हङ्कङ १८ ओभरमा सबै विकेट गुमाउँदै ५४ रनमै अलआउट भयो । हङकङका लागि वान तुङ सोले सर्वाधिक १२ रन बनाइन् । त्यस्तै मान केइ लेउङले पनि १२ रन नै जोडिन् ।

नेपालकी मनिषा चौधरी र रचना चौधरीले समान ३/३ विकेट लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रन बनाएको थियो ।

नेपालका लागि सोनु पाख्रिनले सर्वाधिक ४४ रन बनाइन् । यस्तै सवित्री धामीले चार चौकाको मद्दतमा ३६ रन बनाइन् । बलिङतर्फ हङकङकी स्टोर्म पार्करले ३ विकेट लिइन् । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.