बिचारस्वास्थ्य

आयुर्वेदको पुनर्जागरण र स्वस्थ नेपालको सङ्कल्प

कात्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरसका दिन मनाइने धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस नेपाली समाजको स्वास्थ्य, संस्कृति र मौलिक चिकित्सा परम्परासँग जोडिएको महत्वपूर्ण अवसर हो ।

यो दिवस धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरता मात्र नभई आयुर्वेद चिकित्सा पद्धतिको संरक्षण, प्रवर्द्धन, वैज्ञानिक विकास र राष्ट्रिय स्वास्थ्य प्रणालीमा यसको प्रभावकारी समायोजन गर्ने सङ्कल्पको दिन पनि हो ।

आयुर्वेदका प्रवर्तक तथा स्वास्थ्य र औषधिका देवताका रूपमा पूजित भगवान् धन्वन्तरीलाई हिन्दू धर्मग्रन्थमा भगवान् विष्णुको अवतारका रूपमा वर्णन गरिएको छ ।

पौराणिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा अमृत कलशसहित भगवान् धन्वन्तरीको प्रादुर्भाव भएको थियो । प्रकृतिमा उपलब्ध जडीबुटी र औषधीय वनस्पतिका माध्यमबाट मानव जीवनलाई निरोगी बनाउने ज्ञानको प्रतीकका रूपमा उहाँलाई सम्मान गरिन्छ ।

वैदिक दर्शनका चार उपवेदमध्ये एक आयुर्वेदलाई मानव स्वास्थ्य र दीर्घजीवनसँग सम्बन्धित प्राचीनतम् चिकित्सा विज्ञान मानिन्छ । यसले शरीर, मन र आत्माबीचको सन्तुलनलाई स्वस्थ जीवनको आधार मानेको छ । त्यसैले आयुर्वेद केबल रोग लागेपछि उपचार गर्ने पद्धति मात्र नभई रोगको रोकथाम, स्वास्थ्य प्रवर्द्धन, स्वस्थ जीवनशैली र दीर्घायु प्राप्त गर्ने समग्र विज्ञान हो ।

नेपालमा २०५६ सालदेखि धन्वन्तरी जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउन थालिएको हो । यसले आयुर्वेद चिकित्सा प्रणालीलाई राष्ट्रिय पहिचान, जनस्वास्थ्य र स्वास्थ्य सेवाको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्ने उद्देश्य बोकेको छ ।

हरेक वर्ष विभिन्न कार्यक्रम, स्वास्थ्य सचेतना अभियान, योग तथा ध्यान अभ्यास, आयुर्वेदिक स्वास्थ्य परामर्श र औषधीय वनस्पतिको महत्वबारे जानकारी प्रदान गर्दै यो दिवस मनाइन्छ ।

‘प्रकृति अनुकूल आहार, औषध र विहार रोगमुक्त समाजको आधार’ भन्ने यस वर्ष २७ औँ धन्वन्तरी जयन्ती र राष्ट्रिय आरोग्य दिवसको नाराले पनि स्वस्थ जीवनका लागि उपचारसँगै रोकथाम र स्वास्थ्य प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ । आधुनिक समयमा बढ्दै गएका नसर्ने रोग, मानसिक तनाव, असन्तुलित खानपान, शारीरिक निष्क्रियता र वातावरणीय प्रदूषणजस्ता चुनौतीको सामना गर्न जीवनशैलीमा सुधार आवश्यक छ ।

यस सन्दर्भमा योग, ध्यान र आयुर्वेदका व्यावहारिक पक्षलाई जनजीवनमा समावेश गर्नसके स्वास्थ्य क्षेत्रमा सकारात्मक परिणाम हासिल गर्न सकिन्छ ।

आयुर्वेदः उपचारभन्दा व्यापक जीवनपद्धति

आयुर्वेदको मूल दर्शन स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्नु र रोगीको रोग निवारण गर्नु हो । यसले मानिसको शारीरिक बनावट, उमेर, प्रकृति, खानपान, वातावरण र जीवनशैलीलाई ध्यानमा राखेर स्वास्थ्य व्यवस्थापन गर्ने अवधारणा प्रस्तुत गर्दछ । दिनचर्या, ऋतुचर्या, आहारविहार, निद्रा, व्यायाम, योग र मानसिक सन्तुलनलाई यसले विशेष महत्व दिएको छ ।

आजको व्यस्त जीवनशैलीमा मानिसहरू अनियमित खानपान, पर्याप्त निद्राको अभाव, तनाव र शारीरिक गतिविधिमा कमीका कारण विभिन्न स्वास्थ्य समस्याबाट प्रभावित भइरहेका छन् । उच्च रक्तचाप, मधुमेह, मोटोपना, मुटुरोग तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू जनस्वास्थ्यका प्रमुख चुनौती बनेका छन् । यस्ता समस्याको रोकथामका लागि स्वस्थ आहार, नियमित व्यायाम, योग, ध्यान र अनुशासित जीवनशैली आवश्यक हुन्छ ।

आयुर्वेदले व्यक्तिको प्रकृतिअनुसार आहारविहार अपनाउन प्रेरित गर्दछ । यसले स्वास्थ्यलाई औषधिमा मात्र सीमित नराखी दैनिक व्यवहार र सामाजिक वातावरणसँग जोडेको छ । त्यसैले विद्यालय, समुदाय, घरपरिवार र कार्यस्थलसम्म स्वास्थ्य सचेतनाका कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।

भान्छाघरलाई नै स्वास्थ्यको पहिलो आधार बनाउने अवधारणा आयुर्वेदको महत्वपूर्ण पक्ष हो । स्थानीय रूपमा उपलब्ध पौष्टिक खाद्यवस्तु, मौसमी फलफूल, सागसब्जी तथा खाद्यान्नको सन्तुलित प्रयोगले पोषण सुधारमा सहयोग पु¥याउँछ ।

त्यसैगरी, नागरिक आरोग्य कार्यक्रम, योग अभ्यास, स्वर्णविन्दु प्राशन तथा स्वास्थ्य सचेतना अभियानलाई वैज्ञानिक मूल्याङ्कन र उपयुक्त स्वास्थ्य मापदण्डका आधारमा प्रभावकारी बनाउन सकिन्छ ।

नेपालमा आयुर्वेदको सम्भावना र सेवा विस्तार

प्राकृतिक, भौगोलिक तथा जैविक विविधताका दृष्टिले नेपाल आयुर्वेद विकासका लागि अत्यन्त सम्भावनायुक्त मुलुक हो । हिमाल, पहाड र तराईमा पाइने विविध वनस्पति तथा जडीबुटी आयुर्वेद औषधि उत्पादनका महत्वपूर्ण आधार हुन् ।

हिमाली क्षेत्रमा पाइने बहुमूल्य औषधीय वनस्पतिदेखि तराईका स्थानीय जडीबुटीसम्मको व्यवस्थित पहिचान, संरक्षण, खेती, सङ्कलन र प्रशोधन गर्नसके मुलुकले स्वास्थ्य तथा आर्थिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सक्छ ।

नेपालमा आयुर्वेद स्वास्थ्य सेवाको संस्थागत विस्तारका लागि विभिन्न प्रयास भइरहेका छन् । काठमाडौँको नरदेवीस्थित केन्द्रीय आयुर्वेद अस्पताल, प्रादेशिक आयुर्वेद अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, स्थानीय तहका आयुर्वेद शाखा तथा नागरिक आरोग्य सेवा केन्द्रमार्फत नागरिकलाई सेवा उपलब्ध गराउने व्यवस्था विस्तार हुँदै गएको छ ।

यी संस्थाबाट निःशुल्क स्वास्थ्य परीक्षण, आयुर्वेद औषधि वितरण, पञ्चकर्म, शल्यकर्म, योग तथा अन्य विशिष्टीकृत सेवाहरू सञ्चालन भइरहेका छन् । नागरिक आरोग्य कार्यक्रम र स्वास्थ्य प्रवर्द्धनसम्बन्धी गतिविधिले समुदायस्तरमा आयुर्वेद सेवाको पहुँच विस्तार गर्न सहयोग पुर्‍याएका छन् ।

यद्यपि संस्थागत संरचना विस्तार हुनु मात्र पर्याप्त छैन । सेवाको गुणस्तर, दक्ष जनशक्ति, आवश्यक औषधिको उपलब्धता, भौतिक पूर्वाधार र नागरिकको विश्वास अभिवृद्धि गर्न समानान्तर प्रयास आवश्यक छन् । विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकले सहज रूपमा गुणस्तरीय आयुर्वेद सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्नुपर्छ ।

संरक्षणसँगै वैज्ञानिक विकासको आवश्यकता

आयुर्वेदको संरक्षण भन्नाले परम्परागत ज्ञानलाई जस्ताको तस्तै निरन्तरता दिनुमात्र बुझ्नु हुँदैन । यसलाई समय, प्रविधि र वैज्ञानिक अनुसन्धानअनुसार परिमार्जन गर्दै लैजानु पनि उत्तिकै महत्वपूर्ण छ । परम्परागत ज्ञानको वैज्ञानिक परीक्षण, औषधिको गुणस्तर निर्धारण, प्रभावकारिताको अध्ययन र सुरक्षित प्रयोग सुनिश्चित गर्नु आजको आवश्यकता हो ।

आयुर्वेद औषधि उत्पादन तथा वितरणमा गुणस्तर नियन्त्रणलाई प्राथमिकता दिनुपर्छ । औषधिमा प्रयोग हुने कच्चा पदार्थको शुद्धता, पहिचान, प्रशोधन, मात्रा, भण्डारण र उत्पादन प्रक्रियालाई वैज्ञानिक मापदण्डअनुसार व्यवस्थित गर्न आवश्यक छ ।

औषधिको प्रभावकारिता र सम्भावित प्रतिकूल असरबारे अनुसन्धान हुनुपर्छ । यसबाट आयुर्वेदप्रति नागरिकको विश्वास अभिवृद्धि हुनुका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा नेपाली औषधिको विश्वसनीयता स्थापित गर्न सकिन्छ ।

नेपालमा आयुर्वेद शिक्षाको गुणस्तर सुधार पनि महत्वपूर्ण विषय हो । शैक्षिक संस्थामा पाठ्यक्रमको एकरूपता, प्रयोगात्मक अभ्यास, अनुसन्धानमुखी शिक्षा र दक्ष चिकित्सक उत्पादनमा विशेष ध्यान दिनुपर्छ ।

आयुर्वेद चिकित्सा, औषधि विज्ञान, वनस्पति विज्ञान, जैविक प्रविधि र आधुनिक स्वास्थ्य अनुसन्धानबीच सहकार्य विस्तार गर्नसके नयाँ सम्भावनाका ढोका खुल्न सक्छन् । यस क्षेत्रमा दक्ष चिकित्सक, औषधि विज्ञ, अनुसन्धानकर्ता, प्राविधिक र जडीबुटीसम्बन्धी विशेषज्ञ जनशक्तिको विकास गर्न आवश्यक छ ।

सरकारी तथा निजी क्षेत्रका अनुसन्धान संस्थाबीच समन्वय गरी राष्ट्रिय प्राथमिकताका विषयमा अध्ययन अनुसन्धान अघि बढाउनुपर्छ ।

जडीबुटी संरक्षण र आर्थिक समृद्धि

नेपालको जडीबुटी क्षेत्र स्वास्थ्य सेवासँगै रोजगारी, उद्यमशीलता र निर्यात प्रवद्र्धनको सम्भावनायुक्त क्षेत्र हो तर यसको दिगो विकासका लागि प्राकृतिक स्रोतको संरक्षण र वैज्ञानिक व्यवस्थापन अनिवार्य छ । अव्यवस्थित सङ्कलन, वनस्पतिको प्राकृतिक बासस्थान विनाश र बजार व्यवस्थापनको अभावले बहुमूल्य जडीबुटी लोप हुने जोखिम बढाउन सक्छ ।

त्यसैले जडीबुटीको व्यावसायिक खेतीलाई प्रोत्साहन गर्नुपर्छ । किसानलाई प्राविधिक ज्ञान, गुणस्तरीय बीउ तथा बिरुवा, अनुदान, सहुलियतपूर्ण ऋण र बजारको सुनिश्चितता उपलब्ध गराउन आवश्यक छ ।

स्थानीय तह, सहकारी, निजी क्षेत्र र समुदायबीच सहकार्य गरी जडीबुटी उत्पादनदेखि प्रशोधन, औषधि निर्माण र बजारीकरणसम्मको मूल्य शृङ्खला विकास गर्न सकिन्छ । यसबाट ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना हुनुका साथै स्थानीय अर्थतन्त्र सुदृढ हुनेछ । नेपाली जडीबुटीको पहिचान, गुणस्तर प्रमाणीकरण र ब्रान्डिङ गर्नसके अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउन सकिन्छ ।

एकीकृत स्वास्थ्य प्रणालीतर्फको यात्रा

नेपालको स्वास्थ्य प्रणालीमा आयुर्वेद र आधुनिक चिकित्सा पद्धतिबीच प्रभावकारी समन्वय आवश्यक छ । नागरिकले आफ्नो आवश्यकता र स्वास्थ्य अवस्थाअनुसार सुरक्षित तथा प्रमाणमा आधारित सेवा प्राप्त गर्न पाउने व्यवस्था हुनुपर्छ । यसका लागि दुवै चिकित्सा प्रणालीबीच ज्ञान, अनुसन्धान, जनशक्ति र सेवा प्रवाहमा सहकार्य बढाउनुपर्छ । एकीकृत चिकित्सा कार्यक्रम सञ्चालन गर्दा उपचारको प्रभावकारिता, बिरामीको सुरक्षा र वैज्ञानिक प्रमाणलाई प्राथमिकता दिनुपर्छ ।

आयुर्वेद र आधुनिक चिकित्साका चिकित्सकबीच नियमित परामर्श, बिरामीको स्वास्थ्य विवरण आदानप्रदान तथा आवश्यकताअनुसार विशेषज्ञ सेवामा पहुँचको व्यवस्था गर्न सकिन्छ ।

तीन तहका सरकारबीच नीतिगत समन्वय, पर्याप्त बजेट विनियोजन र संस्थागत जिम्मेवारी स्पष्ट हुनुपर्छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको विकासका लागि दीर्घकालीन रणनीति निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक छ । टेलिमेडिसिन, डिजिटल स्वास्थ्य अभिलेख र सूचना प्रविधिको प्रयोगबाट दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्न सकिन्छ ।

राष्ट्रिय प्रतिबद्धता र भावी दिशा

धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसले हामीलाई आफ्नो मौलिक चिकित्सा ज्ञानको महत्व स्मरण गराउनुका साथै त्यसको संरक्षण र विकासप्रति जिम्मेवार बन्न प्रेरित गर्दछ ।

आयुर्वेदलाई केबल परम्परा वा सांस्कृतिक सम्पदाका रूपमा सीमित नराखी वैज्ञानिक अनुसन्धान, गुणस्तरीय सेवा र जनस्वास्थ्य प्रवर्द्धनको प्रभावकारी माध्यम बनाउनुपर्छ ।

यसका लागि सरकार, स्वास्थ्यकर्मी, प्राज्ञिक संस्था, अनुसन्धानकर्ता, निजी क्षेत्र, स्थानीय समुदाय र आम नागरिकबीच सहकार्य अपरिहार्य छ । पर्याप्त लगानी, दक्ष जनशक्ति, अनुसन्धानको विकास, औषधिको गुणस्तर नियन्त्रण र जडीबुटीको दिगो व्यवस्थापनलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ ।

आयुर्वेदको संरक्षण र सम्वर्द्धन गर्नु भनेको हाम्रा पुर्खाले विकास गरेको ज्ञान, सीप र प्राकृतिक सम्पदाको संरक्षण गर्नु पनि हो तर यसको वास्तविक उपलब्धि नागरिकले गुणस्तरीय, सुरक्षित, सुलभ र विश्वसनीय स्वास्थ्य सेवा प्राप्त गरेपछि मात्र प्रमाणित हुनेछ ।

अन्ततः स्वस्थ नागरिक नै समृद्ध राष्ट्र निर्माणको आधार हुन् । धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसलाई औपचारिक समारोहमा मात्र सीमित नराखी स्वस्थ जीवनशैली अपनाउने, रोगको रोकथाम गर्ने, प्राकृतिक स्रोतको संरक्षण गर्ने र वैज्ञानिक स्वास्थ्य प्रणाली निर्माण गर्ने राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्छ ।

आयुर्वेदको मौलिकता र आधुनिक विज्ञानको उपलब्धिबीच सन्तुलित समन्वय कायम गर्नसके नेपालले आफ्नै मौलिक स्वास्थ्य पहिचानलाई सुदृढ गर्दै स्वस्थ, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको यात्रालाई थप गति दिन सक्नेछ । सन्तुलित आहार, योग, व्यायाम र स्वस्थ्य जीवनशैली अपनाउँदै औषधिको उचित प्रयोग गरी नसर्ने रोगबाट बच्नु नै आजको आवश्यकता हो ।

(प्रस्तुत विचार नेपाल आयुर्वेद चिकित्सक सङ्घका निर्वतमान अध्यक्ष यादवसँग गरिएको कुराकानीमा आधारित, रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.