चोरी शिकारीले चार गैंडा मारेर खाग लगे
चितवन राष्ट्रिय निकुञ्जमा साउनयता चोरी शिकारीले मारेका चार गैँडा फेला परेका छन् । माउ र बच्चाको खाग लगेकोे भए पनि अर्को गैँडाको लान नसकेको बताइन्छ । यस अवधिमा मरेका १२ मध्ये चारवटा चोरी शिकारीका कारण हो । आठवटा गैँडा प्राकृतिक कारणबाट मरेका हुन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अधिकांश गैँडा निकुञ्जको पश्चिम क्षेत्रमा मरेका छन् । दुई महिनाअघि निकुञ्जको पश्चिममा पर्ने लौखानी नजिक बाँदरझुला टापुमा एउटा गैँडा मृत्तावस्थामा फेला परेको थियो । टाउकोमा गोली लागेको गैँडाको खाग, खुर भने सुरक्षित रहेको थियो । हालै मात्र सोही क्षेत्रमा माउ र बच्चा गलेको अवस्थामा फेला परेको छ ।
दुवैको खाग तस्करले लगेको बरालले बताउनुभयो । एउटै समयमा तस्करको आक्रमणको निशानामा तीनवटै गैँडा परेको अनुमान छ । यस्तै गएको बिहीबार निकुञ्जको पश्चिम क्षेत्रमै एउटा गैँडाको अस्थिपञ्जर मात्र फेला परेको छ । बरालले झण्डै छ महिनाअघि तस्करले मारेर खाग लगेको हुनसक्ने बताउनुभयो । सो गैँडा गत आर्थिक वर्षमा मारिएको निकुञ्ज अधिकारीहरूको अनुमान छ ।
निकुञ्जमा चोरी शिकारीले विगत चार वर्षयता गैँडा मार्न सकेका थिएनन् । विसं २०७३ को चैतमा कसरा नजिकै सामुदायिक वनमा तस्करले गैँडा मारेयता प्राकृतिक कारणले मात्र गैँडा मरेका थिए । गत वर्ष प्राकृतिक कारणबाट २६ गैँडा मरेका थिए ।
निकुञ्जमा चोरी शिकारीबाट गैँडा मारिन थालेपछि वन तथा वातावरण सचिव डा विश्वनाथ ओलीले शुक्रबार निकुञ्जमा आएर आवश्यक निर्देशनसमेत दिनुभएको छ । बरालले भन्नुभयो, “हामीले दक्ष जनशक्ति माग गरेका छौँ ।” सचिव ओलीले चोरी शिकार नियन्त्रणका लागि मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्ने आश्वासन दिनुभएको छ । एकाएक चोरी शिकारीले गैँडा मारेपछि सरकारको ध्यानाकर्षण भएको छ ।
प्रमुख संरक्षण अधिकृत बरालले नयाँ रणनीति बनाएर चोरी शिकार नियन्त्रणका लागि काम अघि बढाएको जानकारी दिनुभयो । निकुञ्ज कर्मचारी, नेपाली सेना, स्थानीय बासिन्दा सबै संरक्षणमा जुटेमा दुर्लभ एकसिङ्गे गैँडा बचाउन सकिने उहाँको भनाइ छ । निकुञ्जले गस्ती बढाएको छ भने सुराक सञ्जाललाई चुस्त बनाएको छ ।
सन् २०१५ को गणनाअनुसार नेपालमा ६४५ गैँडा रहेका छन् । यसमध्ये गैँडाको मुख्य बासस्थान चितवनमा मात्रै ६०५ गैँडा भेटिएका थिए । निकुञ्जमा सबैभन्दा बढी गैँडा आर्थिक वर्ष २०५८/५९ मा मरेका हुन् । यो वर्ष मरेका ४८ गैँडामध्ये ३७ वटा चोरी शिकारले मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्