दलहरूबीच एकता र सहकार्य आवश्यक : महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले संविधान र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरूबीच एकता र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
एमाले लमजुङद्वारा बेंसीसहरमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले दलहरू एकअर्कालाई कमजोर बनाउने प्रतिस्पर्धामा लाग्दा मुलुक कमजोर बन्दै गएको उल्लेख गर्नुभयो । संविधान कमजोर भए त्यसबाट प्राप्त नागरिकका हकअधिकारसमेत गुम्न सक्ने उहाँको भनाइ थियो ।
पूर्वमुख्यमन्त्री पोखरेलले प्रदेश सरकार विकास निर्माण र पुँजीगत खर्चका दृष्टिले महत्त्वपूर्ण रहेको बताउँदै प्रदेश सरकारको आवश्यकता नरहेको भन्ने बहसप्रति असहमति जनाउनुभयो । उहाँले एमाले अब सत्ताकेन्द्रित नभई जनताकेन्द्रित भएर अघि बढ्नुपर्ने र पार्टीभित्र सुधार तथा पुनर्गठन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सचिव खगराज अधिकारीले पार्टीलाई बलियो बनाउन गुटगत गतिविधि त्यागेर आन्तरिक एकता कायम गर्नुपर्ने बताउनुभयो ।(रासस)




प्रतिक्रिया राख्नुहोस्