अर्थकृषि

घरघरमा पुग्दै व्यापारी, तिहारमा सयपत्री र मखमलीको मूल्य वृद्धि

घरघरमै व्यापारी र बिचौलिया मखमली फूलको माला र सयपत्री फूल लिन आउन थालेपछि तिहारमा फूलमालाको मूल्य वृद्धि भएको छ । भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुबाट चाँगुनारायण नगरपालिका-९ ताथलीसम्मका किसानलाई प्रतिस्पर्धामा व्यापारीले घरघरमै गएर बढी रकममा फूल किन्न थालेपछि बजारमा मूल्य वृद्धि भएको हो ।

आजदेखि तिहार सुरु भएको छ भने शुक्रबार धनतेरस सुरु भएसँगै बजारमा उपभोक्ताको भीड बढेको छ । भीड बढेसँगै तिहारमा फूल र मालाको मूल्य वृद्धि भएपछि उपभोक्ता भने मारमा परेका छन् ।

आज बजारमा एउटा मखमली फूलको माला रु ८० मा व्यापारीले बिक्री गरिरहेका छन् । घरदैलोमा आएका व्यापारी एवं बिचौलिया गुण्डुका किसानबाट  शुक्रबारसम्म मखिमली फूलको प्रतिमाला रु २२ देखि २५ सम्ममा खरिद गरेकोमा आजदेखि किसानको घरदैलोबाटै रु ३० देखि ३५ मा खरिद गर्न थालेका छन् ।

गुण्डुका पुष्प व्यवसायी प्रमिला घतानीले आजदेखि घरदैलोमा आएका व्यापारीले किसानबाट रु ३० देखि रु ३५ मै मखमली फूलको माला लैजान थालेको बताउनुभयो ।

आजदेखि व्यापारीले मखमली फूलको माला बजारमा रु ८० देखि रु ९० मा बिक्री गर्न थालेका छन् । किसानले भन्दा व्यापारी र बिचौलियाले तेब्बर मूल्यमा बिक्री गर्न थालेपछि उपभोक्ता मारमा परेका हुन् ।

सयौँ वर्षदेखि पुस्तान्तरण हुँदै मखमली फूल र मालाको उत्पादन तथा व्यापार गर्दै आएका चाँगुनारायण-९ ताथलीका बनमालाले पनि आजदेखि रु ३० मा मखमली फूलको माला बिक्री गरेको बताउँदै तिहार आएसँगै फूलमालाको बिक्री र मूल्य बढेको बताउनुभयो ।

भक्तपुरको गुण्डुमा पछिल्लो १५ वर्षयता व्यावसायिक रूपमा करोडौँको फूल तथा माला बिक्री गर्दै आउनुभएकी मीना नगरकोटीले तिहार आएसँगै फूल र मालाको मूल्य बढेको बताउनुभयो ।

व्यापारी र बिचौलियानै प्रतिस्पर्धामा मूल्य बढाएर किसानको घरबाटै फूल माला उठाउन थालेपछि किसानलाई राहत मिलेको बताउँदै व्यापारीले भने किसानबाट लगेको मूल्यभन्दा दोब्बर-तेब्बरमा बिक्री गर्ने गरेका उहाँको भनाइ छ ।

स्थानीय उर्मिला नगरकोटीले यतिखेर फूल र मालाको व्यापारबाटै एक परिवारले रु एक लाखदेखि तीन लाखसम्म आम्दानी गरेको बताउनुभयो । उहाँका अनुसार गुण्डुबाट मात्रै एक वर्षमा रु पाँच करोडभन्दा बढीको फूल माला उत्पादन तथा बिक्री हुने गरेको छ ।

स्थानीय अनिता बस्नेतले यसवर्ष आफ्नो ४० आना अर्थात् साढे दुई रोपनी जग्गामा गरेको फूलखेतीबाट तीन लाखको आम्दानी गरेको बताउदै आजदेखि सयपत्री र मखमली फूल तथा मालाको मूल्य बढेको बताउनुभयो । सयपत्री फूललाई स्थानीयले मुठा बनाएर बिक्री गर्ने गरेका छन् । चार-पाँच वटा सयपत्री फूलको मुठा पारेर एक मुठाको रु २० देखि रु २५ सम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

सयपत्री फूललाई पाथी तथा ढ्वाङमा भरेर पनि बिक्री गरिन्छ । ढ्वाङमा तीन पाथीभन्दा बढी हुन्छ । किसानले सयपत्री ढ्वाङको रु ७०० सम्म किसानले बिक्री गरेका बताउँदै त्यही फूल बजारमा किलोको रु ४०० देखि ५०० मा बिक्री भइरहेका बस्नेत उल्लेख गर्नुभयो ।

यहाँका कृषकले वर्षमा कम्तीमा पनि एकै घरबाट रु ५०० देखि रु १० हजारसम्म मखमली फूलको माला उनेर बिक्री गरिरहेका छन् । कतिपय घरबाट रु ३० हजारदेखि रु तीन लाखसम्मको सयपत्री फूल बिक्री भइरहेको स्थानीय बताउँछन् ।

मध्यपुरथिमि नगरपालिका-५ राधेराधेस्थित पूजा पसल सञ्चालक कमलनाथ पौडेलले सयपत्री फूल किलोको रु ४५० मा आज बिक्री गरिरहेको बताउँदै मखमली फूलको माला रु ७० मा बिक्री गरेको उल्लेख गर्नुभयो । फूलको मूल्य भोलिदेखि अझै बढ्ने उहाँले बताउनुभयो ।

यस वर्ष लामो झरी र वर्षातका कारण सयपत्री फूल मरेर उत्पादन नष्ट भएपछि सयपत्री फूल महँगो भएको पुष्प व्यवसायी रामेश्वर बासीले बताउनुभयो । उहाँले टनेल बाहिर खल्ला रूपमा भएका फूलखेती सबै नष्ट भएको र टनेलमा लगाएको फूल बजारमा आएकाले फूलको मूल्य वृद्धि भएको उल्लेख गर्नुभयो ।

व्यापारीले सयपत्री फूलको माला भने लम्बाईको साइजअनुसार प्रतिगोटा रु १५० देखि रु ८०० सम्ममा बिक्री गरिरहेका उहाँले बताउनुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.