जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न भौतिक पूर्वाधारको पुन:संरचनासँगै विद्यालय तहको पाठ्यक्रममै जलवायु शिक्षालाई अनिवार्य रूपमा समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।
टर्कीयको अन्ताल्यामा आयोजित जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप-३१) अन्तर्गत ‘एन्टाल्या कार्ययोजना प्रोटोकल: हरित शिक्षाको केन्द्रमा बालबालिका, युवा र शिक्षकहरू’ विषयक उच्चस्तरीय मन्त्रीस्तरीय उद्घाटनसत्रको समूहगत छलफलमा सहभागी हुँदै मन्त्री पोखरेलले नेपालले शिक्षा प्रणालीमार्फत जलवायु अनुकूलनको दीर्घकालीन आधार तयार पारिरहेको जानकारी दिनुभएको हो ।
छलफलका क्रममा मन्त्री पोखरेलले जलवायु सङ्कटका कारण शैक्षिक क्षेत्र दोहोरो मारमा परेको विश्लेषण प्रस्तुत गर्नुभएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ ।
एकातर्फ हिमालमा हिमताल विस्फोट, पहाडमा पहिरो तथा तराईमा बाढी र अत्यधिक तापक्रम (हिट वेभ) का कारण पठनपाठन अवरुद्ध भइरहेको छ भने अर्कातर्फ विगतमा विपद् जोखिम मूल्याङ्कन नगरी बनाइएका भौतिक संरचना असुरक्षित बनेको उहाँले उल्लेख गर्नुभयो ।
केही महिनाअघि नेपालमा नदीको सतह सामान्य उचाइभन्दा निकै माथिसम्म पुगी केही सेकेन्डभित्रै बस्तीसहित विद्यालय भवनमा क्षति पुगेको उदाहरण दिँदै उहाँले अब यी कुराहरूको मूल्याङ्कनमा आधारित पूर्वाधार विकास अपरिहार्य भएको बताउनुभयो ।
यसै सन्दर्भमा काठमाडौँ महानगरपालिकाका ९० वटा विद्यालयमा गरिएको सफल परीक्षण (पाइलट प्रोजेक्ट) को सिकाइका आधारमा हाल देशभरका करिब २७ हजार सामुदायिक विद्यालयको भौतिक संरचना, विपद् जोखिम र राष्ट्रिय भवन संहिताअनुसार न्यूनतम ६० प्रतिशत खुला क्षेत्र भए/नभएको विस्तृत अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो ।
उक्त अध्ययनपछि बन्ने गुरुयोजना (मास्टर प्लान) ले सुरक्षित विद्यालय निर्माण गर्नुका साथै राज्यको स्रोतसाधनको दिगो व्यवस्थापन गर्ने उहाँको भनाइ थियो । जलवायु परिवर्तनको दीर्घकालीन प्रभावबाट विश्वका कुनै पनि सभ्यता अछुतो नरहने भएकाले वैचारिक विभाजनभन्दा माथि उठेर शैक्षिक र वैज्ञानिक सहकार्यमार्फत विश्व समुदाय एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभएको उहाँको सचिवालयले जनाएको छ । (रासस)




प्रतिक्रिया राख्नुहोस्