जापानबिशेष

टोकियोमा अवैध मोबाइल नेटवर्क सञ्चालन गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

जापानको राजधानी टोकियोका व्यस्त मनोरञ्जन क्षेत्रमा अनुमतिबिना अवैध मोबाइल फोन बेस स्टेसन सञ्चालन गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

टोकियो महानगरीय प्रहरी विभागका अनुसार टोकियोको किता वार्डमा बसोबास गर्दै आएका ३१ वर्षीय चिनियाँ नागरिक यु हाईलाई शनिबार टोकियोको गिन्जा क्षेत्रमा सवारीसाधनभित्र रेडियो उपकरण जडान गरी अनुमतिबिनै मोबाइल बेस स्टेसन सञ्चालन गरेको आरोपमा पक्राउ गरिएको हो।

तर, उनले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। अनुसन्धानकर्ताहरूसँग उनले आफूले यसअघि कहिल्यै रेडियो उपकरण प्रयोग नगरेको र यस विषयमा केही थाहा नभएको बताएको प्रहरीले जनाएको छ।

प्रहरीले मोबाइल सञ्चार सेवामा अवरोध पुर्‍याएको आरोपमा रेडियो ऐन उल्लङ्घन गरेको अभियोगसमेत लगाउँदै उनलाई सरकारी वकिलसमक्ष पेस गरेको छ। उनले एनटीटी डोकोमोको मोबाइल फोन सेवा अवरुद्ध पारेको प्रहरीको भनाइ छ।

जापानमा मोबाइल फोन सञ्चार सेवामा अवरोध पुर्‍याएको आरोपमा कुनै व्यक्तिलाई पक्राउ गरिएको यो पहिलो घटना भएको प्रहरीको विश्वास छ।

अनुसन्धानकर्ताहरूका अनुसार शंकास्पद व्यक्तिले सवारीसाधनभित्र जडान गरिएको विशेष उपकरण प्रयोग गरी रेडियो तरङ्ग प्रसारण गर्थे। उक्त तरङ्गले सामान्य मोबाइल सञ्चार प्रणालीमा अवरोध सिर्जना गर्नुका साथै मोबाइल फोनको नियमित नेटवर्क सम्पर्क विच्छेद गराउँथ्यो।

त्यसपछि उनले आसपासका स्मार्टफोनलाई अनुमतिबिनाको बेस स्टेसनमा जोडिन बाध्य पार्थे। उक्त बेस स्टेसनले पुरानो दोस्रो पुस्ताको (२जी) मोबाइल सञ्चार प्रविधिमार्फत सिग्नल प्रसारण गर्ने गरेको थियो।

हाल प्रयोगमा रहेका चौथो पुस्ता (४जी) र पाँचौँ पुस्ता (५जी) को तुलनामा २जी प्रविधिमा प्रमाणीकरण प्रणाली कमजोर हुने फाइदा उठाउँदै युले छोटो सन्देश सेवा (एसएमएस) मार्फत चिनियाँ भाषामा नक्कली सन्देश पठाउने गरेको अनुसन्धानबाट खुलेको छ।

ती सन्देशमा विदेशमा अनधिकृत रूपमा क्रेडिट कार्ड प्रयोग हुन सक्ने जोखिम देखिएकाले कार्डमार्फत हुने भुक्तानी अस्थायी रूपमा रोकिएको जानकारी दिइन्थ्यो। त्यसपछि प्राप्तकर्तालाई वेबसाइटको लिङ्क पठाएर क्रेडिट कार्डको विवरण तथा अन्य व्यक्तिगत जानकारी भर्न लगाइन्थ्यो।

प्रहरीका अनुसार शंकास्पद व्यक्तिले टोकियोका गिन्जा, सिन्जुकु र सिबुया क्षेत्रमा पटकपटक यस्तो गतिविधि सञ्चालन गरेको आशङ्का छ। उनले प्रसारण गरेको सिग्नलका कारण कम्तीमा ५०० मिटरको परिधिभित्र दैनिक १० हजारसम्म स्मार्टफोनको मोबाइल सेवा अवरुद्ध हुने गरेको बताइएको छ।

गत वर्ष जनवरीदेखि हालसम्म ठगीको आशङ्का गर्दै चिनियाँ पर्यटकसहित १८ जनाले प्रहरीसमक्ष उजुरी दिएका छन्। उनीहरूबाट भएको आर्थिक क्षति करिब ४० लाख जापानी येन (करिब २५ हजार ३०० अमेरिकी डलर) रहेको अनुमान छ। यस घटनामा संगठित समूहको संलग्नता भए–नभएको विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

सन् २०२४ को डिसेम्बरमा एनटीटी डोकोमोले आफ्ना ग्राहकबाट सञ्चार सेवामा अवरोध भएको गुनासो प्राप्त गरेको थियो। त्यसपछि कम्पनीले सन् २०२५ को जनवरीमा गरेको अनुसन्धानका क्रममा शंकास्पद व्यक्तिको पहिचान गरेको थियो।

कम्पनीले अनुसन्धानबाट प्राप्त विवरणबारे जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयलाई जानकारी गराएपछि मन्त्रालयले उनलाई मौखिक चेतावनी दिएको थियो। तर, चेतावनीपछि पनि उनले अवैध गतिविधि जारी राखेको आरोप छ।

गत वर्ष सामाजिक सञ्जालमा अवैध बेस स्टेसन सञ्चालन भएको विषय सार्वजनिक भएपछि यसले व्यापक ध्यान आकर्षित गरेको थियो। त्यसपछि मन्त्रालयले गत वर्ष मे महिनामा सार्वजनिक सूचना जारी गर्दै अनुमतिबिनाका रेडियो उपकरण सञ्चालनका कारण मोबाइल फोन सेवामा अवरोध भएको आशङ्का व्यक्त गरेको थियो।

मोबाइल नेटवर्कसम्बन्धी जानकार किन्दाई विश्वविद्यालयका प्राध्यापक नोबुओ सुजुकीका अनुसार बेस स्टेसन निर्माण गर्न प्रयोग हुने विशेष सफ्टवेयर अहिले इन्टरनेटबाट जोकोहीले डाउनलोड गर्न सक्ने अवस्था छ।

रेडियो उपकरण प्रविधिमा भएको विकासले यस्ता स्टेसन स्थापना गर्ने खर्च पनि विगतको तुलनामा घटाएको उनले बताए। यसले आपराधिक गतिविधिमा संलग्न व्यक्तिका लागि यस्ता उपकरण प्रयोग गर्न सहज बनाएको हुन सक्ने उनको भनाइ छ।

अनुमतिबिनाको बेस स्टेसन सञ्चालन गर्न विशेष प्राविधिक ज्ञान आवश्यक पर्ने भएकाले यसलाई अझै कठिन काम मानिए पनि कृत्रिम बौद्धिकता (एआई) को विकासले यस्तो प्रक्रिया थप सहज बनाइरहेको हुन सक्ने सुजुकीले बताए।

थाइल्यान्ड र हङकङमा पनि गत वर्षदेखि यस वर्षसम्म अवैध बेस स्टेसन प्रयोग गरी नक्कली एसएमएस पठाएर ठगी गरिएका यस्तै घटना सार्वजनिक भएको सञ्चारमाध्यमले जनाएका छन्।

जापानले यस घटनामा दुरुपयोग भएको दोस्रो पुस्ताको (२जी) मोबाइल सञ्चार प्रविधिमा आधारित सेवा यसअघि नै बन्द गरिसकेको छ। त्यसैले स्मार्टफोनमा अचानक २जी नेटवर्क देखिएमा वा मोबाइल सेवा एक्कासि अवरुद्ध भएमा प्रयोगकर्तालाई सतर्क रहन सुझाव दिइएको छ।

मोबाइल सेवा प्रदायक कम्पनी तथा अन्य सम्बन्धित संस्थाले शंकास्पद सन्देश प्राप्त भएमा त्यसमा रहेका लिङ्क नखोल्न र तत्काल मेटाउन प्रयोगकर्तालाई आग्रह गरेका छन्। केही स्मार्टफोनमा २जी नेटवर्कसँगको सम्पर्क निष्क्रिय पार्न सकिने सुविधा पनि उपलब्ध छ।

(समाचार र तस्वीर स्रोत द जापान टाइम्स)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.