तिहार : प्रकृति, संस्कृति, आत्मसम्मान र पारिवारिक सद्भावको पर्व
बहुभाषिक, बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक नेपालमा मनाइने चाडपर्वका आ–आफ्नै मौलिक विशेषता र महत्व छन् । यिनै विविधताबीच सबैलाई भावनात्मक रूपमा जोड्ने महत्वपूर्ण पर्व हो तिहार ।
उज्यालो, फूल, दीप, संगीत, पारिवारिक मिलन र आपसी सद्भावको प्रतीकका रूपमा परिचित तिहार नेपाली समाजको मौलिक पहिचानसँग जोडिएको छ । यसलाई यमपञ्चक, दीपावली तथा उज्यालोको पर्वका रूपमा पनि चिनिन्छ ।
तिहारले मानिसलाई मात्र होइन, प्रकृति, पशुपक्षी र सम्पूर्ण जीवजगत्लाई सम्मान गर्न सिकाउँछ । कागदेखि कुकुर, गाई र गोरुसम्मको पूजा गरिने यस पर्वमा धनकी देवी लक्ष्मीको आराधनासँगै आफ्नै शरीर र आत्माको सम्मान गर्ने परम्परा पनि छ ।
त्यसैले तिहारलाई धार्मिक आस्थामा सीमित पर्वका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन । यो मानव, प्रकृति र जीवजन्तुबीचको सहअस्तित्व तथा पारस्परिक निर्भरताको सन्देश दिने राष्ट्रिय सांस्कृतिक पर्व पनि हो ।
प्रकृति र जीवजन्तुप्रतिको सम्मान
तिहार पाँच दिनसम्म मनाइने पर्व हो । पहिलो दिन कागको पूजा गरिन्छ । हिन्दू धार्मिक मान्यतामा कागलाई यमराजको सन्देशवाहकका रूपमा लिइन्छ । कागले घरआँगनमा आएर कराउँदा शुभ वा अशुभ समाचार ल्याएको विश्वास गर्ने परम्परा पनि छ । त्यसैले कागलाई खानेकुरा दिएर पूजा गर्ने चलन छ ।
धार्मिक विश्वासभन्दा बाहिर गएर हेर्दा काग प्रकृतिको खाद्यचक्र र वातावरणीय सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्ने पक्षी हो । कागको पूजा गर्ने परम्पराले मानिसलाई आफूभन्दा भिन्न प्राणीको अस्तित्व र महत्व स्वीकार गर्न प्रेरित गर्छ ।
दोस्रो दिन कुकुरको पूजा गरिन्छ । कुकुरलाई मानिसको विश्वासिलो साथी, घरको रक्षक तथा सुरक्षामा सहयोग गर्ने जनावरका रूपमा सम्मान गरिन्छ । कुकुरको घाँटीमा फूलको माला लगाइदिने, निधारमा टीका लगाउने र मिठो खानेकुरा खुवाउने चलन छ ।
मानिसको जीवन र सुरक्षामा कुकुरले पु¥याएको योगदानप्रति कृतज्ञता व्यक्त गर्ने यो विशिष्ट परम्परा हो । यसले घरमा पालिएका मात्र होइन, सडकमा रहेका कुकुरप्रति पनि दया, माया र संरक्षणको भावना विकास गर्नुपर्ने सन्देश दिन्छ ।
तेस्रो दिन गाईको पूजा र लक्ष्मीपूजा गरिन्छ । नेपाली समाजमा गाईलाई धार्मिक तथा सांस्कृतिक रूपमा पवित्र मानिन्छ । दूध, दही, घिउलगायत दैनिक जीवनमा उपयोगी वस्तु प्राप्त हुने भएकाले गाईलाई माताका रूपमा सम्मान गर्ने परम्परा छ ।
साँझ धन, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरिन्छ । घरआँगन सफा गरेर दीप प्रज्वलन गर्ने, फूलमालाले सजाउने र घरको मूलढोकादेखि पूजाकोठासम्म लक्ष्मीलाई स्वागत गर्ने प्रतीकात्मक पदचिह्न बनाउने चलन छ ।
लक्ष्मीपूजाका दिन घर, पसल, कार्यालय र सार्वजनिक स्थानमा दीप तथा रंगीन बत्ती बालिन्छन् । यसले अन्धकारमाथि उज्यालो, निराशामाथि आशा र अभावमाथि समृद्धिको कामना व्यक्त गर्छ । लक्ष्मीपूजा आर्थिक समृद्धिसँग जोडिए पनि यसको व्यावहारिक सन्देश परिश्रम, स्वच्छता, व्यवस्थित जीवन र सकारात्मक सोचसँग पनि सम्बन्धित छ ।
चौथो दिन गोरु पूजा तथा गोवद्र्धन पूजा गरिन्छ । कृषिप्रधान नेपाली समाजमा गोरु खेतीपाती र उत्पादनको महत्वपूर्ण आधार रहँदै आएको छ । खेत जोत्नेदेखि कृषि उत्पादनसम्म गोरुले पुर्याएको योगदानको सम्मानस्वरूप पूजा गर्ने परम्परा बसेको हो ।
गोवद्र्धन पूजाले प्रकृति, पहाड, भूमि र पर्यावरणको संरक्षणप्रतिको महत्व पनि स्मरण गराउँछ । यसरी तिहारले मानिसको जीवन धान्न सहयोग गर्ने पशुपक्षी र प्राकृतिक स्रोतप्रति कृतज्ञ हुन सिकाउँछ ।
आत्मसम्मान र समानताको सन्देश दिने म्हः पूजा
तिहारको चौथो दिन नेवार समुदायले मनाउने म्हः पूजा यस पर्वको अर्को विशिष्ट सांस्कृतिक र दार्शनिक पक्ष हो । अन्य समुदायमा गोरु तथा गोवद्र्धन पूजा गरिने यही दिन नेवार समुदायले आफ्नै शरीर अर्थात् म्हःको पूजा गर्छन् । म्हः पूजाको शाब्दिक अर्थ नै शरीरको पूजा गर्नु हो । यसलाई आत्मपूजा वा स्वयम्को आराधनाका रूपमा पनि बुझिन्छ ।
मानिसको शरीरभित्रै ईश्वरको बास हुन्छ र शरीर स्वस्थ तथा शुद्ध भए मात्र आत्मा प्रसन्न रहन्छ भन्ने मान्यतामा आधारित यो परम्परा नेवार समुदायको मौलिक सांस्कृतिक सम्पदा हो ।
आफ्नो शरीरलाई परमात्माको स्वरूप मानेर पूजा गर्नु, आफ्नो अस्तित्वलाई स्वीकार गर्नु र आफूभित्रको चेतनाको सम्मान गर्नु म्हः पूजाको मूल दर्शन हो । यसले अरूको सम्मान गर्नुअघि आफूले आफ्नो शरीर, मन र अस्तित्वको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन्छ ।
म्हः पूजा परिवारका सबै सदस्य एकै ठाउँमा बसेर सामूहिक रूपमा गर्ने विशेष अनुष्ठान हो । घरको सफा र खुला ठाउँमा परिवारका सदस्य बस्ने गरी व्यवस्था मिलाइन्छ । त्यसपछि प्रत्येक सदस्यका लागि छुट्टाछुट्टै मण्डल बनाइन्छ ।
मण्डलमा तेलको घेरा, अक्षता, लावा, कालो भटमास, मास, धान, बेसारले रंगाइएको चामलको पीठो, पानी र विभिन्न रंगका फूल प्रयोग गरिन्छ । धूप, फलफूल, जजंका र अन्य पूजासामग्रीले मण्डल सजाइन्छ ।
परिवारका सदस्यहरू आ–आफ्नो मण्डल अगाडि बसेपछि घरकी ज्येष्ठ महिला अर्थात् नकींले पूजाको विधि सुरु गर्छिन् । सुकुन्दा बालेर गणेश, कलश, नाङ्लो, कुचोलगायत पूजाका सामग्रीको आराधना गरिन्छ ।
त्यसपछि परिवारका सदस्यलाई दही, अक्षता र रातो टीका लगाइदिने, जजंका पहिर्याउने र मण्डलको पूजा गर्ने परम्परा छ । कपडाको बत्ती बालेर मण्डललाई उज्यालो बनाइन्छ ।
त्यसपछि परिवारका सदस्यले आफूलाई मात्र नभई माथि, तल, अगाडि, पछाडि र आकाशतर्फ समेत पूजा गर्छन् । यसले आफूलाई प्रकृति र ब्रह्माण्डको अभिन्न अंगका रूपमा स्वीकार गरेको दार्शनिक अर्थ बोकेको छ ।
म्हः पूजाको महत्व शरीरको आराधनामा मात्र सीमित छैन । यसले समानता, आत्मसम्मान र मानवीय मर्यादाको दर्शनसमेत बोकेको छ । सबै मानिसको शरीरमा ईश्वरको बास हुन्छ भन्ने मान्यता राख्ने परम्पराले जात, वर्ग, लिंग, आर्थिक अवस्था वा अन्य कुनै आधारमा मानिसबीच भेदभाव गर्न नहुने सन्देश दिन्छ ।
आफूलाई सम्मान गर्ने व्यक्तिले अरूको अस्तित्व र सम्मानलाई पनि स्वीकार गर्नुपर्छ भन्ने यसको गहिरो अर्थ हो । स्वस्थ शरीरबाट मात्र कर्म गर्न, ज्ञान प्राप्त गर्न र समाजका लागि योगदान दिन सकिन्छ भन्ने व्यवहारिक सन्देश पनि यसले दिन्छ ।
म्हः पूजासँगै यस दिन नेपाल संवत्को नयाँ वर्ष पनि सुरु हुन्छ । नेपाल संवत् नेपालको मौलिक राष्ट्रिय संवत् हो । यसको सुरुआत विक्रम संवत् ९३७ अर्थात् सन् ८८० मा शंखधर साख्वाले गरेको ऐतिहासिक मान्यता छ ।
शंखधर साख्वालाई सरकारले २०५६ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो । नेपाल संवतलाई राष्ट्रिय संवत्का रूपमा राष्ट्रिय मान्यता दिने निर्णय २०६५ सालमा भएको थियो ।
देउसी–भैलो ” सद्भाव, सहकार्य र सामाजिक एकताको माध्यम
तिहारको अर्को महत्वपूर्ण सांस्कृतिक आकर्षण देउसी–भैलो हो । यो परम्पराले तिहारलाई पारिवारिक उत्सवमा मात्र सीमित नराखी समुदाय र समाजलाई एकआपसमा जोड्ने काम गर्छ ।
तिहारका बेला बालबालिका, युवा तथा विभिन्न उमेर समूहका मानिसहरू समूह बनाएर घरघरमा पुग्छन् । परम्परागत भाकामा देउसी–भैलो गीत गाउने, नाच्ने, रमाइलो गर्ने र घरपरिवारको सुख, शान्ति तथा समृद्धिको कामना गर्ने चलन छ ।
देउसी–भैलोका गीतमा घरधनीको प्रशंसा, परिवारको उन्नति र सामाजिक सद्भावका कामना व्यक्त गरिन्छन् । घरधनीले पनि देउसी–भैलो टोलीलाई दक्षिणा, फलफूल, रोटी तथा अन्य परिकार दिएर सत्कार गर्छन् ।
यसरी दिने र लिने दुवै पक्षबीच आत्मीयता र सहयोगको भावना विकास हुन्छ । गाउँघरमा छरिएर रहेका मानिसलाई भेटघाट गर्ने, सामूहिक रूपमा रमाइलो गर्ने र सामाजिक सम्बन्ध नवीकरण गर्ने माध्यमका रूपमा देउसी–भैलोको विशेष महत्व छ ।
देउसी–भैलो मनोरञ्जनको साधन मात्र होइन, सामाजिक सहकार्य र सामूहिक विकासको माध्यमसमेत बन्दै गएको छ । पछिल्लो समय विभिन्न समूह तथा संस्थाले देउसी–भैलोबाट संकलित रकम शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, सामाजिक सेवा, मठमन्दिर तथा सार्वजनिक पूर्वाधार निर्माणमा खर्च गर्ने गरेका छन् । विदेशमा रहेका नेपाली समुदायले समेत देउसी–भैलो आयोजना गरेर सामाजिक कामका लागि आर्थिक सहयोग जुटाउने गरेका छन् ।
यसले तिहारको सांस्कृतिक परम्परालाई सामाजिक उत्तरदायित्वसँग जोडेको छ । सामूहिक रूपमा गीत गाउने, नाच्ने र घरघरमा पुग्ने अभ्यासले आपसी चिनजान बढाउनुका साथै सहयोग र सहकार्यको भावना बलियो बनाउँछ । विशेषगरी नयाँ पुस्तालाई मौलिक संस्कृति, लोकभाका, संगीत र सामूहिक जीवनशैलीसँग परिचित गराउने महत्वपूर्ण अवसर पनि हो देउसी–भैलो ।
दाजुभाइ र दिदीबहिनीको सम्बन्ध प्रगाढ बनाउने भाइटीका
तिहारको पाँचौँ तथा अन्तिम दिन भाइटीका मनाइन्छ । यो दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । तेलको घेरा हाल्ने, ओखर फोड्ने, मखमली, सयपत्री र दुबोको माला लगाइदिने तथा विभिन्न परिकार खुवाउने परम्परा छ ।
धार्मिक मान्यताअनुसार यमराज र उनकी बहिनी यमुनाबीचको सम्बन्धसँग भाइटीकाको परम्परा जोडिएको छ । यमुनाले आफ्ना दाजु यमराजलाई टीका लगाएर सत्कार गरेको र दाजुबहिनीबीचको प्रेम तथा आत्मीयताको प्रतीकका रूपमा यो पर्व स्थापित भएको धार्मिक कथन छ । यही मान्यताअनुसार दिदीबहिनीले दाजुभाइको मृत्यु भयबाट रक्षा होस् र जीवन दीर्घ होस् भन्ने कामना गर्दै पूजा गर्छन् ।
भाइटीका केवल टीका लगाउने धार्मिक कर्मकाण्ड होइन । यो दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, विश्वास, आत्मीयता र पारिवारिक सम्बन्ध प्रगाढ बनाउने अवसर हो ।
टाढा रहेका दाजुभाइ तथा दिदीबहिनीसमेत यही दिन भेटघाटका लागि घर फर्किने गर्छन् । पारिवारिक सम्बन्धमा आएको दूरी कम गर्ने, पुराना सम्झना ताजा बनाउने र एकअर्काप्रतिको जिम्मेवारी तथा सद्भाव अभिव्यक्त गर्ने अवसरका रूपमा यसको विशेष महत्व छ । दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिएर सम्मान र माया व्यक्त गर्ने चलन छ ।
अहिले विदेशमा रहेका नेपालीले समेत सामूहिक रूपमा भाइटीका मनाउने गरेका छन् । कतिपय अवस्थामा दाजुभाइ नहुने दिदीबहिनीले दिदीबहिनीबीच तथा अन्य आफन्तसँग टीका लगाउने परम्परा पनि छ । यसले भाइटीकाको मूल भावना रक्तसम्बन्धमा मात्र सीमित नभई आपसी माया, सद्भाव र मानवीय आत्मीयतामा आधारित रहेको देखाउँछ ।
मौलिकता संरक्षण र व्यवहारमा सांस्कृतिक सन्देश
नेपालका चाडपर्वहरूको विशेषता तिनले दिने धार्मिक तथा सांस्कृतिक सन्देशमा मात्र सीमित छैन । यी पर्वले समाजलाई व्यवस्थित र अनुशासित बनाउने, परिवारलाई जोड्ने, पुस्ताबीच ज्ञान र संस्कार हस्तान्तरण गर्ने तथा समुदायमा सहअस्तित्वको भावना विकास गर्ने काम गर्छन् ।
तिहारमा पशुपक्षीको पूजा गरिनु, प्रकृतिको सम्मान गर्नु, आफ्नो शरीरको आराधना गर्नु, दाजुभाइ र दिदीबहिनीबीच प्रेम अभिव्यक्त गर्नु तथा देउसी–भैलोमार्फत सामूहिक सद्भाव कायम गर्नु यसका उदाहरण हुन् ।
तिहारको अर्को महत्वपूर्ण पक्ष यसको व्यापकता हो । नेपालका विभिन्न जातजाति र समुदायले आ–आफ्नै परम्परा र मान्यताअनुसार यस पर्वलाई मनाउँदै आएका छन् । हिन्दू धार्मिक परम्परासँग जोडिएको भए पनि यसको सांस्कृतिक प्रभाव र सामाजिक सहभागिता समुदायको सीमाभन्दा धेरै फराकिलो छ ।
विदेशमा रहेका नेपालीले पनि काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, म्हः पूजा, देउसी–भैलो र भाइटीकालाई निरन्तरता दिँदै आएका छन् । यसले भौगोलिक दूरीका बाबजुद नेपाली संस्कृति र पहिचानलाई जीवन्त राख्न सहयोग पुर्याएको छ ।
यद्यपि, पछिल्लो समय चाडपर्व मनाउने क्रममा देखिएका केही विकृति र विसंगतिप्रति पनि सचेत हुन आवश्यक छ । अनावश्यक खर्च, देखासिकी, तडकभडक, पटाकाको प्रयोग, ध्वनि तथा वायु प्रदूषण र पशुपक्षीलाई गरिने असहज व्यवहारले पर्वको मूल भावनालाई कमजोर बनाउँछ ।
तिहार प्रकृति र जीवजन्तुको सम्मान गर्ने पर्व भएकाले यसको नाममा वातावरण र प्राणीलाई हानि पु¥याउने गतिविधि गर्नु विरोधाभासपूर्ण हुन्छ । त्यसैले चाडपर्व मनाउँदा यसको मौलिकता, मर्यादा र वातावरणीय पक्षलाई पनि उत्तिकै ध्यान दिनुपर्छ ।
तिहारले दिने सन्देश आजको समाजका लागि झन् महत्वपूर्ण छ । मानिसले प्रकृतिलाई सम्मान गर्नुपर्छ, पशुपक्षीप्रति दया र करुणा राख्नुपर्छ, आफ्नो शरीर र स्वास्थ्यको ख्याल गर्नुपर्छ, परिवार तथा आफन्तबीच प्रेम र सद्भाव कायम राख्नुपर्छ र समाजको हितका लागि सामूहिक रूपमा योगदान दिनुपर्छ भन्ने तिहारको मूल भावना हो ।
काग, कुकुर, गाई र गोरुको पूजा गर्ने परम्पराले जीवजन्तुप्रतिको कृतज्ञता सिकाउँछ । लक्ष्मीपूजाले श्रम, समृद्धि र सकारात्मकताको महत्व सम्झाउँछ ।
म्हः पूजाले आत्मसम्मान, समानता र स्वस्थ जीवनको सन्देश दिन्छ । भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई प्रगाढ बनाउँछ भने देउसी–भैलोले सामूहिक सद्भाव, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्छ ।
यी सबै विशेषतालाई एकै ठाउँमा समेट्ने भएकाले तिहारलाई फूल, बत्ती र मनोरञ्जनको पर्वका रूपमा मात्र बुझ्नु हुँदैन । यो प्रकृति, पशुपक्षी, मानव जीवन, पारिवारिक सम्बन्ध र सामाजिक एकताको सम्मान गर्ने नेपाली सभ्यता र संस्कृतिको अनुपम उत्सव हो । हाम्रा पुर्खाले पुस्तौँदेखि हस्तान्तरण गर्दै आएका यस्ता मौलिक परम्पराको संरक्षण गर्नु वर्तमान पुस्ताको दायित्व हो ।




प्रतिक्रिया राख्नुहोस्