विश्व समाचार

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानको पहल

पाकिस्तानले अमेरिका र इरानबीचको तनाव कम गर्न क्षेत्रीय मुलुकको समर्थनसहित कूटनीतिक प्रयास जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

विदेशमन्त्री इशाक दारले सोमबार इस्लामाबादमा आयोजित क्षेत्रीय आर्थिक सहयोग सङ्गठन (इको) को बैठकमा शान्ति र स्थिरताबिना आर्थिक विकास तथा व्यापार विस्तार सम्भव नहुने बताउनुभयो ।

दस सदस्यीय इको बैठकमा इरानी विदेशमन्त्री अब्बास अराघचीसहित विभिन्न देशका कूटनीतिज्ञ सहभागी थिए । अराघचीले अन्तर्राष्ट्रिय कानून र शान्तिपूर्ण समाधानको पक्षमा उभिन आग्रह गर्दै अमेरिकामाथि आक्रामकता र आर्थिक दबाब सिर्जना गरेको आरोप लगाउनुभयो । उहाँले फारसको खाडी र हर्मुज जलघाँटीको तनावका लागि अमेरिका र इजरायललाई जिम्मेवार ठहर्‍याउनुभयो ।

पाकिस्तानले गत अप्रिलमा अमेरिका र इरानबीच प्रत्यक्ष वार्ताको पहिलो चरण आयोजना गरेको थियो । हर्मुज जलघाँटीको गतिरोधले तेलको मूल्य र आफ्नो अर्थतन्त्रमा असर पारेको भन्दै पाकिस्तानले उक्त जलमार्ग पुनः सञ्चालन गर्न आग्रह गर्दै आएको छ ।

बैठकमा अफगानिस्तानसँगको सम्बन्ध सुधारको विषय पनि उठेको थियो । विदेशमन्त्री दारले अफगानिस्तानसँग व्यापार तथा पारवहन सहकार्य विस्तार गर्न चाहेको बताउँदै त्यसका लागि तालिबान सरकारले छिमेकी मुलुकका सुरक्षा चासो र आतङ्कवादको खतरा सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

पाकिस्तानले टिटिपी, बीएलए र अलकायदालाई आश्रय दिएको अफगान तालिबान सरकारमाथि आरोप लगाउँदै आएको छ । काबुलले भने आतङ्कवादी समूहलाई समर्थन गरेको आरोप अस्वीकार गर्दै आएको छ ।(रासस/एपी)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.