जन सरोकार

शताब्दी पुरुष जोशीलाई पहिलो पासपोर्ट दिएर सुरु भो इ-पासपोर्ट

राहदानी विभागले आजदेखि इ-पासपोर्ट सुरु गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले एक समारोहकाबीच शताब्दी पुरूष सत्यमोहन जोशीलाई नेपालको पहिलो इ-पासपोर्ट हस्तान्तरण गरेर यसको शुभारम्भ गर्नुभएको हो ।

पासपोर्ट हात पारेपछि जोशीले विद्युतीय राहदानी पाउँदा निकै खुसी मिलेको बताउँदै यो राहदानीले नेपालीको पहिचान बोक्ने हुँदा निकै महत्व रहने उहाँले उल्लेख गर्दै सरकारलाई सफलताको शुभकामना समेत दिनुभयो ।

परराष्ट्र मन्त्री नारायण खड्काले जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्न पाउनु निकै गौरवको विषय भएको बताउँदै आफूले हस्तलिखित पासपोर्ट बोक्नु पर्दाको झन्झटिलो अवस्थाको स्मरण गर्दै उनले विद्युतीय पासपोर्टले निकै सहज हुने जिकिर गर्नुभयो ।

अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई उँचो बनाउन पनि यसले महत्वपूर्ण भूमिका खेल्ने दावी गर्दै मन्त्री डा. खड्काले भन्नुभयो, “पूरै अनलाइनबाट काम हुन्छ । जसले सेवाग्राहीलाई झन्झटिलो हुँदैन । विदेश यात्रामा पनि अन्य देशका नागरिकसरह नेपालीलाई व्यवहार गरिन्छ ।”

कार्यक्रममा राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले हस्तलिखित पासपोर्टबाट एमआरपी हुँदै विद्युतीय पासपोर्टसम्म पुग्नु आम नेपालीका लागि खुसीको कुरा भएको बताउँदै संसारमै अब नेपालको राहदानी विश्वासयोग्य हुने उनले उल्लेख गर्नुभया ।

महानिर्देशक अर्यालले अनलाइनबाटै मिति र समय बुकिङ गरेर लिन सक्ने हुँदा सेवाग्राही लाइन बस्न नपर्ने जानकारी दिंदै यसलाई थप सुरक्षित गर्न राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरिएको र विभागले घण्टामा कम्तीमा एक हजार विद्युतीय राहदानी उत्पादन गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.