एसियन हाइवेको पूर्वी सडकखण्डमा २५ किमी कालोपत्रे
एसियन हाइवेको काँकडभिट्टा–लौकही सडकको पूर्वी खण्डमा २५ दशमलव पाँच किलोमिटर सडक कालोपत्रे भएको आयोजना प्रमुख सुनिलबाबु पन्तले जानकारी दिनुभयो ।
उहाँका अनुसार काँकडभिट्टादेखि सितापुरीसम्मको ४५ किलोमिटर मध्ये सडकको दुवै तर्फ १९ दशमलव पाँच किलोमिटर र एकतर्फी छ किलोमिटर सडकमा कालोपत्रे भएको छ । निर्माणधीन चार लेनको सडकको भौतिक प्रगति ५६ प्रतिशत रहेको उहाँले बताउनुभयो ।
निर्माण कम्पनीले रु.१० अर्ब ६ करोड ९४ लाखमा ठेक्का लिएको सडकको हालको म्याद आगामी माघ १८ गतेसम्म रहेको छ । दुई तहमा कालोपत्रे गर्नुपर्ने भएकाले पहिलो तहको कालोपत्रे म्यादभित्रै सक्ने लक्ष्य राखिएको उहाँको दाबी छ ।
उहाँले भन्नुभयो, “सतप्रतिशत काम सम्पन्न हुने सम्भावना कम देखिएको छ । पूर्ण रुपमा काम सम्पन्न गर्न अझै करिब एक बर्ष लाग्ने अनुमान गरिएको छ ।” आयोजनामा एसियाली विकास बैंकको ८४.९५ प्रतिशत र नेपाल सरकारको १५.१५ प्रतिशत लगानी रहेको छ । पुल निर्माणतर्फ यो प्याकेजमा पर्ने १८ वटा पुलको काम पूरा भइसकेको छ ।
कनकाई माई, विरिङ र नन्दा खोलामा आर्क ब्रिज प्रकृतिको पुल बन्नेछ । जसमध्ये विरिङ खोलामा स्टिल ट्रस जडानको काम सुरु गरिएको छ । दुई पिस रहने उक्त संरचनाले आगामी करिब दुई महिनामा आकार लिने अपेक्षा गरिएको छ ।
बिर्तामोड र चारआलीलगायत सहरी तथा घनाबस्ती भएका क्षेत्रमा विद्युतका पोल सार्न बाँकी रहँदा काममा केही जटिलता आएको उहाँले बताउनुभयो । विगतमा निर्माण व्यवसायीले जनशक्ति, उपकरण र सामग्री परिचालनमा अपेक्षाकृत गति दिन नसक्दा पनि काम प्रभावित भएको आयोजना प्रमुख पन्तले बताउनुभयो ।
अन्तर्राष्ट्रिय द्वन्द्वका कारण इन्धन र अलकत्राको मूल्यवृद्धि र उपलब्धतामा देखिएको उतारचढावले पनि कामलाई केही असर पारेको उहाँको भनाइ छ । निर्माण व्यवसायीले साइटमा काम अवरुद्ध भएका विषयमा प्रमाणसहित नियमित रुपमा आयोजनाको पूर्व कार्यालय दमकमा जानकारी गराइरहेको छ ।
म्याद थपको सन्दर्भमा काम अवरुद्ध भएका कारणहरूको मूल्याङ्कन गर्दै काम पूरा हुने आधार र व्यवसायीको गम्भीरता हेरेर उचित समय थप गर्ने विषयमा निर्णय लिन सकिने उहाँले बताउनुभयो । (रासस)




प्रतिक्रिया राख्नुहोस्