खेलफूटबल

एन्फामाथिको निलम्बन फुकुवा गर्न फिफा सकारात्मक

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी)का अध्यक्ष तथा उच्च अधिकारीसँग भेटवार्ता गर्नुभएको छ ।

थाइल्यान्डको बैङ्ककमा आयोजित एएफसी अवाड्र्सका अवसरमा मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेट गर्नुभएको हो ।

भेटवार्ताका क्रममा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथिको निलम्बन फुकुवा गर्ने विषयमा सकारात्मक छलफल भएको मन्त्री पोखरेलले बताउनुभयो । मन्त्री पोखरेलका अनुसार छलफलमा एन्फाको कानुनी प्रक्रिया, तहगत निर्वाचन र निलम्बन फुकुवाका विषयमा कुराकानी भएको थियो ।

एन्फाले तहगत निर्वाचन गर्ने सहमति जनाएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि एन्फामाथिको प्रतिबन्ध फुकुवा गरिसकेको छ । राखेपले प्रतिबन्ध हटाएसँगै फिफाले पनि एन्फामाथिको निलम्बन फुकुवा गर्ने मौखिक सहमति जनाएको बताइएको छ ।

यसरी आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी फिफाबाट निलम्बन फुकुवा हुने अपेक्षा गरिएको छ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.