संस्कृति

आज हरिबोधिनी एकादशी : देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको लामो लाम लागेको छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको लाम लागेको हो ।

उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको लाम लागेको जनाइएको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ ।

चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढाटाढाबाट पनि भक्तजन सवारीसाधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शनमा आउँछन् ।

चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूला ढुङ्गामा स्थापना गरिएको छ ।

मन्दिरमा राति १ः०० बजेदेखि नै भक्तजनको आगमन सुरु भएको महन्त निगमानन्द स्वामीले राससलाई जानकारी दिनुभयो । भक्तजन आउन थालेपछि बूढानीलकण्ठ नारायणस्थान दशनामी मठले राति १ः३० बजेदेखि मन्दिरको ढोका दर्शनार्थीका लागि खुला गरेको थियो ।

बूढानीलकण्ठ नाराययणस्थानमा आज पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गर्न सक्नेगरी व्यवस्था मिलाइएको छ । बिहान छ बजेसम्म हजारौँ भक्तजनले विशेष पूजाआजा एवं दर्शन गरेको उहाँले बताउनुभयो ।

१ः३० बजेदेखि सवा आठ बजेसम्म बूढानीलकण्ठको विशेष पूजाका लागि मन्दिर दर्शनार्थीका लागि बन्द गरिने कार्यक्रम रहेको मठले जनाएको छ ।

बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमा मङ्सिर ८ गतेसम्म विशेष मेला लाग्छ । यहाँ जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटककोसमेत बूढानीलकण्ठमा भीड लाग्ने गर्छ ।

मठले प्रत्येक वर्ष हरिबोधिनी एकादशीको अवसर पारेर श्रीमद्भागवत कथा वाचन गराउने गरेको छ । मङ्सिर २ गतेदेखि सुरु भएको महायज्ञ एवं धार्मिक महोत्सव मङ्सिर ८ गतेसम्म सञ्चालन गरिने भएको छ ।

यसैगरी, नारायणहिटी दरबार क्षेत्रस्थित चतुव्र्युह नारायण मन्दिर, हाँडीगाउँ क्षेत्रका नारायण मन्दिर, हनुमानढोका दरबार क्षेत्रका नारायण मन्दिर र पशुपति क्षेत्रका नारायण मन्दिर, गोकर्णेश्वर नगरपालिकाको नारायणटारस्थित नारायण मन्दिरलगायत काठमाडौँ उपत्यका र उपत्यका बाहिरका नारायण मन्दिरमा पनि पूजा, आराधना एवं दर्शनका लागि भक्तजन जम्मा भएका छन् ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.