विश्व समाचार

आफ्ना सर्त मान्न वा युद्धमै निर्णय गर्न इरानको अमेरिकालाई चुनौती

इरानले अमेरिकालाई पुनः सैन्य द्वन्द्व चर्काउने प्रयास नगर्न चेतावनी दिँदै लामो समयसम्म चल्ने क्षयकारी युद्ध वा युद्ध र शान्तिबीचको अनिश्चित अवस्था स्वीकार नगर्ने जनाएको छ।

सरकारी सञ्चारमाध्यम प्रेस टीभीका अनुसार इरानले अमेरिकालाई आफ्ना सर्त स्वीकार गर्न वा युद्धमै परिणामको सामना गर्न चुनौती दिएको छ।

बिहीबार बोल्दै इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) का प्रवक्ता ब्रिगेडियर जनरल हुसेन मोहेब्बीले तेहरान सम्भावित सबै सैन्य परिस्थितिको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताउनुभयो।

उहाँले इरानको सैन्य क्षमता उल्लेखनीय रूपमा वृद्धि भएको र आफ्ना सेनाले अमेरिकी सैनिकको गतिविधिमाथि निरन्तर निगरानी गरिरहेको दाबी गर्नुभयो।

लामो समयसम्म अनिर्णीत द्वन्द्व कायम राख्ने प्रस्ताव अस्वीकार गर्दै उहाँले भन्नुभयो, “हामी युद्ध र शान्तिबीचको अनिश्चित अवस्था स्वीकार गर्दैनौँ।”

मोहेब्बीले थप्नुभयो, “हामी युद्धको विषयलाई एकपटक र सधैँका लागि टुङ्ग्याउनेछौँ। यसको निर्णय या त युद्धमै हुनेछ, अन्यथा अमेरिकाले इरानका सर्त स्वीकार गर्नुपर्नेछ।”

हवाई प्रतिरक्षा प्रणालीमा इरानको आत्मनिर्भरता दाबी

१२ दिनसम्म चलेको युद्धपछि राष्ट्रिय सुरक्षा तयारीलाई बलियो बनाउन चालिएका कदमबारे चर्चा गर्दै मोहेब्बीले हवाई प्रतिरक्षा पूर्वाधारको विकास इरानको रणनीतिक प्राथमिकता बनेको बताउनुभयो।

प्रेस टीभीका अनुसार युद्धपछि देशको सैन्य नेतृत्वको निर्देशनमा आईआरजीसीको एयरोस्पेस फोर्सलाई उक्त जिम्मेवारी दिइएको थियो।

“आईआरजीसीको एयरोस्पेस फोर्सका हाम्रा सहकर्मीहरूले नयाँ प्रतिरक्षा प्रणालीको डिजाइन र निर्माणमा चौबीसै घण्टा काम गर्नुभयो। खुसीको कुरा, आज हामीले यस क्षेत्रमा एउटा मात्र होइन, कम्तीमा तीनवटा नयाँ प्रणाली विकास गरेका छौँ,” उहाँले भन्नुभयो।

मोहेब्बीका अनुसार इरानले आफ्नै देशमा विकास गरेका ती प्रणाली घरेलु सैन्य आवश्यकताका लागि मात्र नभई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने अवस्थामा पुगेका छन्। यसलाई उहाँले इरानको स्वदेशी रक्षा उत्पादन क्षेत्रको प्रगतिको सङ्केतका रूपमा प्रस्तुत गर्नुभयो।

“हाम्रो हवाई प्रतिरक्षामा विगतमा रहेका कमजोरी अहिले सम्बोधन भएका छन्। सक्रिय र सक्षम प्रणाली सञ्चालनमा आएसँगै देशको हवाई प्रतिरक्षा क्षमता बढेको छ,” उहाँले भन्नुभयो।

हवाई प्रतिरक्षाका लागि अब इरान विदेशी आपूर्तिकर्तामा निर्भर नरहेको उहाँको दाबी छ। आईआरजीसीको एयरोस्पेस फोर्स र इरानी सेनाले स्वदेशमै विकसित प्रणाली प्रयोग गरेर संयुक्त रूपमा प्रतिरक्षात्मक अभियान सञ्चालन गरिरहेको उहाँले बताउनुभयो।

इरानले आफ्नो निगरानी क्षमता बढाएको प्रमाणका रूपमा शत्रुपक्षका हवाई उपकरणलाई निरन्तर पछ्याउने र नियन्त्रणमा लिने गरेको उहाँको भनाइ छ। इरानी सैन्य एकाइहरूले आफ्नो नवौँ एमक्यू–१७० जासुसी ड्रोन सकुशल खसालेको उहाँले दाबी गर्नुभयो।

अमेरिकी सैन्य अखडासम्म प्रहार गर्न सक्ने इरानको दाबी

प्रतिरक्षात्मक क्षमतासँगै इरानको आक्रामक क्षेप्यास्त्र क्षमताबारे पनि मोहेब्बीले चर्चा गर्नुभयो। प्रेस टीभीका अनुसार उहाँले इरानले यसअघि हिन्द महासागरको डिएगो गार्सियानजिकको जलक्षेत्रसम्म पुग्ने गरी चार हजार ५०० किलोमिटर दूरीसम्म क्षेप्यास्त्र प्रहार गर्न सक्ने क्षमता प्रदर्शन गरिसकेको बताउनुभयो।

इरानले यसअघि दुई हजार किलोमिटरलाई क्षेप्यास्त्रको अधिकतम दूरीका रूपमा निर्धारण गरेको थियो। दिवंगत सर्वोच्च नेता आयतोल्लाह सय्यद अली खामेनीको निर्देशनमा उक्त सीमा कायम गरिएको उहाँको भनाइ छ। तर, वर्तमान सर्वोच्च नेताले आदेश दिएमा युरोपमा रहेका अमेरिकी सैन्य अखडासमेत प्रहार गर्न सक्ने सैन्य क्षमता इरानसँग रहेको उहाँले दाबी गर्नुभयो।

हालैको युद्धले पश्चिम एसियामा अमेरिकी सैन्य उपस्थितिका कमजोरी उजागर गरेको मोहेब्बीको भनाइ छ। उहाँका अनुसार यसले अमेरिकालाई आफ्नो क्षेत्रीय सैन्य तैनाथीको स्वरूप पुनरावलोकन गर्न बाध्य बनाएको छ।

प्रेस टीभीका अनुसार अमेरिकाले दशकौँ लगाएर यस क्षेत्रमा करिब १६ वटा सैन्य अखडा निर्माण गरेको थियो। ती अखडालाई सैन्य अभियान सञ्चालन र रणनीतिक प्रभाव विस्तारका लागि एकअर्कासँग जोडिएको सञ्जालका रूपमा विकास गरिएको थियो।

कतारस्थित अल उदेद हवाई सैन्य अखडा अमेरिकी हवाई अभियानको प्रमुख कमान्ड तथा नियन्त्रण केन्द्रका रूपमा रहेको छ। त्यस्तै, बहराइनस्थित अल जुबैर र शेख इसा सैन्य अखडाले अमेरिकी नौसैनिक तैनाथीलाई सहयोग गर्दै आएका छन्। कुवेतस्थित अली अल सलेम र अहमद अल जबेर सैन्य अखडाले सैनिक, उपकरण तथा सैन्य सामग्रीको व्यवस्थापनमा सहयोग पुर्‍याउँदै आएका छन्।

हवाई मैदान, कमान्ड तथा नियन्त्रण प्रणाली, तथ्याङ्क प्रशोधन केन्द्र र क्षेप्यास्त्र भण्डारसहितको उक्त सञ्जाल हालैको युद्धका क्रममा अमेरिकाका लागि रणनीतिक चुनौती बनेको मोहेब्बीले बताउनुभयो। उहाँका अनुसार आफ्ना सैन्य अखडा र हवाई प्रतिरक्षा प्रणालीको सुरक्षा गर्न अमेरिकाले ठूलो स्रोत परिचालन गर्नुपरेको थियो।

अमेरिकाका केही सैन्य अखडा ध्वस्त भएको वा सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको उहाँको दाबी छ। निरन्तरको सुरक्षा खतराका कारण केही अखडाको पुनर्निर्माण व्यावहारिक नहुन सक्ने उहाँले बताउनुभयो।

यस परिस्थितिमा अमेरिकाले आफ्नो सैन्य उपस्थितिका केही हिस्सा क्षेत्रबाट अझ टाढा सार्नुपर्ने हुन सक्ने उहाँको भनाइ छ। त्यसका लागि अफ्रिकाको हर्न अफ अफ्रिका क्षेत्रमा वैकल्पिक सैन्य अखडा वा सैन्य सामग्री परिचालन केन्द्र स्थापना गर्न सक्ने सम्भावनासमेत उहाँले औँल्याउनुभयो।

फारसको खाडीमा अमेरिकी नौसैनिक उपस्थिति घटेको दाबी

इरानको आईआरजीसीका प्रवक्ताले फारसको खाडीमा अमेरिकी नौसैनिक उपस्थितिमा पनि उल्लेख्य कमी आएको दाबी गर्नुभएको छ।

“रमजान युद्धअघि अमेरिकाका करिब ४० वटा युद्धपोत फारसको खाडीमा थिए। तर अहिले तीमध्ये कुनै पनि युद्धपोत यस क्षेत्रमा छैनन्,” उहाँले भन्नुभयो।

बहराइन र फारसको खाडी क्षेत्रमा अमेरिकी पाँचौँ नौसैनिक बेडाले सञ्चालन गर्दै आएका गतिविधि पनि निकै सीमित भएको उहाँको दाबी छ। अमेरिकी विमानवाहक युद्धपोत र अन्य युद्धपोतहरू क्षेत्रबाट टाढा सारिएको तथा अहिले युद्धक्षेत्रबाट करिब ५०० देखि ७०० किलोमिटर दूरीमा रहेको उहाँले बताउनुभयो।

अमेरिकाले नै सार्वजनिक गरेका तथ्याङ्कलाई उद्धृत गर्दै मोहेब्बीले प्याट्रियट र टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स (थाड) क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका अवरोधक क्षेप्यास्त्रको मौज्दातमा उल्लेख्य कमी आएको दाबी गर्नुभयो। यसले क्षेत्रीय सैन्य उपस्थिति कायम राख्न र रणनीतिक हितको सुरक्षा गर्न अमेरिकी सेनामाथि दबाब बढेको उहाँको भनाइ छ।

यद्यपि, अमेरिकी प्रतिष्ठा पुनःस्थापित गर्न र क्षेत्रीय प्रभाव कायम राख्न वासिङ्टनले नयाँ सैन्य गतिविधि सुरु गर्न सक्ने सम्भावनालाई इरानले अस्वीकार नगरेको उहाँले बताउनुभयो। अहिलेको सैन्य शिथिलतालाई इरानले पुनः आक्रमणको खतरा समाप्त भएको रूपमा नलिएको उहाँको भनाइ छ।

“हामी सैन्य क्षेत्रमा कुनै पनि सम्भावनालाई केवल सम्भावना मानेर बस्दैनौँ। प्रत्येक सम्भावनालाई शतप्रतिशत खतरा मानेर त्यसअनुसार पूर्ण तयारी गरेका छौँ,” उहाँले भन्नुभयो।

इरानी गुप्तचर निकाय र सशस्त्र बलले अमेरिकी सैनिकको तैनाथी, विमानको आवागमन, हतियार प्रणाली, सैन्य उपकरणको अवस्थिति तथा सम्भावित सैन्य योजनामाथि नजिकबाट निगरानी गरिरहेको उहाँले बताउनुभयो। कुनै पनि शत्रुतापूर्ण गतिविधिको सामना गर्न इरानी सेना उच्च सतर्कतामा रहेको उहाँको दाबी छ।

अमेरिकी आक्रमण भए तीन गुणा प्रतिकार गर्ने चेतावनी

हालैको द्वन्द्वले क्षेत्रीय साझेदार मुलुकमाझ अमेरिकाको विश्वसनीयता कमजोर बनाएको मोहेब्बीको दाबी छ। त्यसका कारण केही देशले अमेरिकी सुरक्षा प्रत्याभूतिमाथिको निर्भरता पुनर्विचार गर्न थालेको र क्षेत्रीय सुरक्षाका वैकल्पिक संरचनाबारे सोच्न थालेको उहाँले बताउनुभयो।

अमेरिकाले इरानविरुद्ध अर्को आक्रमण गरेमा आफ्नै सैन्य तथा रणनीतिक संरचनाले पनि गम्भीर प्रत्याक्रमणको सामना गर्नुपर्ने चेतावनी उहाँले दिनुभयो। इरानको असममित सैन्य रणनीतिले शत्रुपक्षलाई ठूलो क्षति पुर्‍याउन सक्ने उहाँको दाबी छ।

“आज इस्लामिक गणतन्त्र इरानको आफ्नो सैन्य पहुँचभित्र रहेका शत्रुका पूर्वाधारलाई निशाना बनाउने क्षमता विगतको तुलनामा बढेको छ,” उहाँले भन्नुभयो।

इरानको सैन्य रणनीतिले शत्रुले आक्रमण गरेका लक्ष्यभन्दा फरक स्थान र विभिन्न विधिबाट प्रत्याक्रमण गर्ने उहाँले बताउनुभयो। पुनः आक्रमण भए त्यसको जवाफ अत्यन्त शक्तिशाली हुने चेतावनीसमेत उहाँले दिनुभयो।

“ढुक्क हुनुहोस्, शत्रुले हामीविरुद्ध जे कदम चाल्छ, त्यसको जवाफ कम्तीमा तीन गुणा बढी हुनेछ। यो जवाफ शत्रुले आक्रमण गर्नुअघि पनि आउन सक्छ वा आक्रमणपछि पनि,” उहाँले चेतावनी दिनुभयो।

इरानविरुद्ध आक्रमण गर्न अमेरिकालाई आफ्नो भूमि प्रयोग गर्न दिने कुनै पनि देश प्रत्याक्रमणको वैध निशाना बन्ने तेहरानको पुरानै अडान रहेको उहाँले दोहोर्‍याउनुभयो। त्यस्तो देश भौगोलिक रूपमा जहाँ भए पनि इरानको जवाफबाट अछुतो नरहने उहाँको भनाइ छ।

अमेरिकाले स्थलमार्गबाट इरानमाथि आक्रमण गर्न सक्ने सम्भावनालाई पनि मोहेब्बीले अस्वीकार गर्नुभयो। उहाँका अनुसार इरानको स्थल प्रतिरक्षा क्षमता हवाई तथा समुद्री प्रतिरक्षा क्षमताभन्दा बलियो छ। अमेरिकी सैन्य संरचना भने स्थलसेनाभन्दा नौसैनिक र हवाई शक्तिमा बढी निर्भर रहेको उहाँको तर्क छ।

अमेरिकाले हेलिकोप्टरमार्फत सैन्य कारबाही गर्न सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा पनि उहाँले त्यस्तो अभियान सफल हुने सम्भावना नरहेको बताउनुभयो। इरानको हवाई प्रतिरक्षा प्रणालीले प्रवेश गर्ने विमानलाई रोक्न सक्ने क्षमता राख्ने उहाँको दाबी छ।

इरानका बाँधलाई निशाना बनाएर अमेरिकाले आक्रमण गरे त्यसको प्रतिकार गरिने चेतावनीसमेत उहाँले दिनुभयो। नागरिकका लागि अत्यावश्यक पूर्वाधारमाथि आक्रमण गर्नु द्वन्द्वलाई खतरनाक रूपमा बढाउने कदम हुने र त्यसको गम्भीर परिणाम भोग्नुपर्ने उहाँले बताउनुभयो।

मोहेब्बीले सैन्य गतिविधि केही समयका लागि रोकिए पनि सैन्य तथा आर्थिक दबाब निरन्तर कायम रहने अवस्था आफैँमा युद्धको अर्को स्वरूप भएको टिप्पणी गर्नुभयो।

युद्धविरामपछि पनि रोकिएन तनाव

इरानको पछिल्लो चेतावनी यसै वर्षको सुरुआतमा पश्चिम एसियामा चर्किएको सैन्य द्वन्द्वको पृष्ठभूमिमा आएको हो। फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरानसहित इरानका विभिन्न सहरमा संयुक्त आक्रमण गरेका थिए।

त्यसको जवाफमा इरानले इजरायल तथा क्षेत्रभर रहेका अमेरिकी सैन्य अखडा र सम्पत्तिलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो। साथै, होर्मुज जलडमरूमध्यमा आफ्नो नियन्त्रण कडा बनाएको थियो।

द्वन्द्वरत पक्षबीच अप्रिल ८ मा युद्धविराम लागू भएको थियो। त्यसपछि जुन १८ मा इरान र अमेरिकाबीच सबै मोर्चामा क्षेत्रीय युद्ध अन्त्य गर्ने उद्देश्यसहित समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो। तर त्यसयता कूटनीतिक प्रयासले गति लिन सकेका छैनन्।

समझदारीपत्रअनुसार दुवै पक्षले इरानको आणविक कार्यक्रम र प्रतिबन्ध हटाउने विषयमा अन्तिम सहमति खोज्न ६० दिनभित्र अर्थात् अगस्ट १७ सम्म वार्ता गर्ने तय भएको थियो। तर तनाव निरन्तर बढ्दै गएपछि ठोस सहमति हुन सकेन।

स्रोत : इरानको सरकारी सञ्चारमाध्यम प्रेस टीभी।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.