राजनीति

शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि स्थानीय तह, विद्यालय र समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

प्रिन्सिपल एसोसिएसन नेपाल (प्यान) को केन्द्रीय अधिवेशनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्दै उहाँले स्थानीय सरकार, विद्यालयका प्रधानाध्यापक र समुदायबीच समन्वय हुन सके मात्रै मधेसको शैक्षिक अवस्था सुधार गर्न सकिने बताउनुभयो ।

विगतमा शिक्षा समुदायको स्वामित्व र प्रत्यक्ष निगरानीमा रहेकाले विद्यालयप्रति स्थानीय समुदायको अपनत्व र जिम्मेवारी बढी हुने गरेको उल्लेख गर्दै उहाँले शिक्षा सरकारी नियन्त्रणमा गएपछि गुणस्तर खस्किएको धारणा राख्नुभयो ।

शिक्षा सुधारको प्रमुख आधार समुदायको सक्रिय सहभागिता भएको बताउँदै उहाँले स्थानीय तहले शिक्षाको जिम्मेवारी लिनुपर्ने र प्रधानाध्यापकले आफ्नो दायित्व प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । समुदायको सहभागिता अभिवृद्धिका लागि तीनै तहका सरकारले आवश्यक सहयोग र सहजीकरण गर्नुपर्ने उहाँको भनाइ थियो ।

विद्यालयको शैक्षिक वातावरण सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि र शिक्षण प्रणाली प्रभावकारी बनाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो ।

विद्यालय शिक्षाको गुणस्तर सुधार, शैक्षिक नेतृत्व विकास र नीतिगत सुधारका विषयमा बहस गर्ने उद्देश्यले अधिवेशन आयोजना गरिएको प्यान मधेस प्रदेशका संयोजक सञ्जयकुमार झाले जानकारी दिनुभयो ।

अधिवेशन मङ्सिर ६ गतेसम्म सञ्चालन हुने जनाइएको छ । सम्मेलनमा देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षा क्षेत्रका विज्ञ, नीतिनिर्माता, जनप्रतिनिधि तथा शैक्षिक संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.