जन सरोकार

जेब्रा क्रसिङमा सवारी नरोक्ने र सार्वजनिक यातायातमा दुर्व्यवहार हुने गरेको गुनासो

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि आयोजित नागरिक सुनुवाइमा जेब्रा क्रसिङमा सवारीसाधन नरोक्ने, सार्वजनिक यातायातमा महिला यात्रुमाथि दुर्व्यवहार हुने तथा विद्यालय क्षेत्रमा ध्वनि प्रदूषण हुने गरी मोटरसाइकल चलाउने गरिएको गुनासो गरिएको छ ।

ट्राफिक प्रहरी प्रभाग गौशाला र काठमाडौँ महानगरपालिका वडा नं. ९ को संयुक्त आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजित नागरिक सुनुवाइमा स्थानीयवासी, विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिले ट्राफिक व्यवस्थापनमा देखिएका समस्या उठाउँदै सुधारका लागि सुझाव दिएका हुन् ।

उनीहरूले निर्धारित स्थानबाहिर यात्रु चढाउने र ओराल्ने प्रवृत्ति पनि नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए ।

नागरिकका गुनासा तथा जिज्ञासाको जवाफ दिँदै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले ट्राफिक व्यवस्थापनका समस्या समाधान गर्न प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले तत्काल सम्बोधन गर्न सकिने गुनासा कार्यान्वयनमा लैजाने र समय लाग्ने विषयलाई योजनाबद्ध रूपमा समाधान गरिने जानकारी दिनुभयो ।

सार्वजनिक यातायातमा महिला यात्रुमाथि दुव्र्यवहार गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइने उल्लेख गर्दै उहाँले यात्रुको सुरक्षा र सम्मान सुनिश्चित गर्नु ट्राफिक प्रहरीको प्राथमिकता रहेको बताउनुभयो ।

उपत्यकाको सवारी आवागमन सहज र सुरक्षित बनाउन एकीकृत स्मार्ट ट्राफिक व्यवस्थापन प्रणाली लागू गर्ने विषयमा अध्ययन तथा समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।

उक्त प्रणाली कार्यान्वयनमा आएपछि कृत्रिम बौद्धिकता (एआई) मा आधारित क्यामेराबाट सवारी आवागमनको निगरानी तथा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिने उहाँको भनाइ थियो ।

ध्वनि प्रदूषण नियन्त्रण अभियानअन्तर्गत चर्को आवाज निकाल्ने र मापदण्डविपरीत स्वरूप परिवर्तन गरिएका सवारीसाधन नियन्त्रणमा लिएर कारबाही भइरहेको पनि उहाँले बताउनुभयो ।

गौशाला, चाबहिल, विमानस्थल, तीनकुने र जयबागेश्वरी क्षेत्रमा देखिएका अव्यवस्थित पार्किङ तथा ट्राफिक चिह्नसम्बन्धी समस्या समाधान गर्न मातहतका निकायलाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष विमलकुमार हाडा र वडा नं. ८ का वडाध्यक्ष आशामान सङ्गतले आ–आफ्नो वडाको ट्राफिक व्यवस्थापन सुधारका लागि आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा जनप्रतिनिधि, ट्राफिक प्रहरी अधिकारी, वडा कार्यालयका कर्मचारी, विद्यालयका विद्यार्थी, स्थानीयवासी तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.