क्रिकेटखेल

एसिया कप राइजिङ स्टार्स : नेपाल समूह चरणबाटै बाहिरियो, पाकिस्तान ‘ए’ ९६ रनले विजयी

नेपाल कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको खेलमा पाकिस्तान ‘ए’ सँग ९६ रनले पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ४२ ओभरमा १६८ रनमा समेटियो । पाकिस्तानको लागि रोहेल नजीरले ८३ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अविजित रहँदै ६४ रनको अर्धशतकीय पारी खेले भने हसन नवाजले २८ रन बनाए । त्यस्तै अहमद दनियालले १६ रन जोड्दा हेदर अलीले १५ तथा माज सदाकत र अब्दुल समदले समान १३-१३ रन बनाए ।

नेपालका लागि रासिदले पाँच विकेट लिए भने लिस्ट ए डेब्यू गरेका अभिशेष गौतमल दुई विकेट लिँदा कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलको भागमा समान एक-एक विकेट रह्यो । पाकिस्तान ‘ए; ले दिएको १६९ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल १७ दशमलव ३ ओभरमा ७२ रनमा समेटियो ।

नेपालको लागि मयन यादवले ५० बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४१ र बसिर अहमदले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । पाकिस्तानको लागि मोहम्मद हसनैन र सुफयान मोकिमले समान तीन-तीन विकेट लिए भने मोहम्मद इमरानले दुई विकेट लिँदा माज सदाकातको भागमा एक विकेट रह्यो ।

प्रतियोगितामा नेपाल यो दोस्रो हार हो । नेपालले पहिलो खेलमा भारतविरुद्ध ३०६ रनको हार व्यहोरे पनि दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) उत्कृष्ट पुनरागमन गर्दै छ विकेटको जित निकालेको थियो ।

उता एक खेलअगावै सेमिफाइनल पुगिसकेको पाकिस्तान लगातार तेस्रो जित निकाल्दै समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । उसले पहिलो खेलमा युएई र दोस्रो म्याचमा भारत ‘ए’ लाई हराएको थियो ।

जारी प्रतियोगितामा नेपाल दुई अङ्कका साथ तालिकाको तेस्रो स्थानमा रहँदै प्रतियोगिता सकाएको छ । समूह ‘बी’ मै रहेको पाकिस्तान छ अङ्कसहित तालिकाको शीर्ष स्थानमा, भारत ‘ए’ चार अंक सहित दोस्रो स्थानमा र यूएई अंक विहिन रहँदै पुछारमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.