बिचारबिशेष

हिमालको आवाज विश्वमञ्चमा, जलवायु न्याय अझै प्रतीक्षामा

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धिअन्तर्गत पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) विश्वव्यापी जलवायु संकटको गम्भीरताअनुसार ठोस सहमतिमा पुग्न सकेन ।

जीवाश्म इन्धनको प्रयोग घटाउने विषय र विकासशील मुलुकलाई उपलब्ध गराउनुपर्ने जलवायु वित्तमा मतभेद चुलिँदा सम्मेलनको समग्र राजनीतिक सम्झौता पारित हुन सकेन ।

तर नेपालको निरन्तर कूटनीतिक पहलले हिमाली क्षेत्रको संकटलाई विश्व जलवायु वार्ताको संस्थागत छलफलमा पुर्‍याउने अवसर सिर्जना गरेको छ ।

सम्मेलनको अध्यक्षताले तयार पारेको मस्यौदामा हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी दुईवर्षे कार्ययोजना प्रस्ताव हुनु नेपालको महत्वपूर्ण कूटनीतिक उपलब्धि हो । यद्यपि अन्तिम सहमति नजुट्दा उक्त प्रस्ताव औपचारिक निर्णयका रूपमा पारित हुन सकेन ।

२०८३ भदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिमको भयावह चित्र प्रस्तुत गरेको थियो ।

हिमपहिरो र बाढीको प्रभाव नदी करिडोर हुँदै तल्लो तटीय क्षेत्रसम्म फैलिँदा सडक, जलविद्युत्, व्यापारिक पूर्वाधार र स्थानीय जीविकोपार्जनमा ठूलो क्षति पुग्यो ।

हिमाली क्षेत्रमा देखिएको विपद् स्थानीय समस्या मात्र नभई राष्ट्रिय अर्थतन्त्र र क्षेत्रीय सुरक्षासँग जोडिएको विषय हो भन्ने यस घटनाले देखायो । यही विपद्को अनुभव र पीडा बोकेर नेपाल कोप–३१ मा सहभागी भएको थियो ।

यसपटक नेपालको प्रयास जलवायु परिवर्तनको असर भोगिरहेका मुलुकको समस्या सुनाउनेमा मात्र सीमित रहेन । हिमाली क्षेत्रको विशिष्ट जोखिमलाई विश्व जलवायु वार्ताको नियमित र संस्थागत एजेन्डा बनाउनुपर्ने माग नेपालले अघि सार्‍यो ।

ध्यानाकर्षणबाट संस्थागत मान्यतातर्फ

हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम, हिमताल विस्फोटको जोखिम, भूभागको अस्थिरता तथा अतिवृष्टि र बाढीपहिरोका घटना बढ्दै जानु जलवायु परिवर्तनका गम्भीर प्रभाव हुन् ।

हिमालयबाट उत्पन्न नदी प्रणालीमा निर्भर दक्षिण एसियाका करोडौँ मानिसको पानी, कृषि, ऊर्जा र खाद्य सुरक्षासमेत यससँग जोडिएको छ । त्यसैले हिमालको संकट नेपाल वा पर्वतीय मुलुकको मात्र समस्या नभई क्षेत्रीय र विश्वव्यापी सरोकारको विषय हो ।

विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि जलवायु परिवर्तनको असर भने असमान रूपमा भोग्नुपरेको छ ।

वन संरक्षण, जलविद्युत् र स्वच्छ ऊर्जाको विस्तारमार्फत न्यून कार्बन उत्सर्जनको बाटो अपनाइरहेको नेपालले जलवायुजन्य विपद्का कारण ठूलो आर्थिक तथा सामाजिक क्षति बेहोर्नुपरेको छ । यही असमानतालाई नेपालले जलवायु न्यायको मुख्य आधारका रूपमा प्रस्तुत गर्दै आएको छ ।

यसपटक परराष्ट्रमन्त्री शिशिर खनालले उद्घाटन सत्रदेखि नै हिमाली क्षेत्रको जोखिम र जलवायु अनुकूलनका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता उठाउनुभयो । नेपालले भुटानसँग मिलेर ‘१.५ डिग्री सेल्सियस तापक्रम वृद्धिले हिमाली क्षेत्रमा पार्ने प्रभाव’ विषयलाई औपचारिक एजेन्डामा समावेश गर्न प्रस्ताव अघि सारेको थियो ।

अक्टोबर २९ मा सम्मेलनको अध्यक्षता र संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सचिवालयसमक्ष प्रस्तुत प्रस्तावमा वैज्ञानिक अनुसन्धान, वार्षिक उच्चस्तरीय संवाद, हिमाली क्षेत्रका लागि छुट्टै कार्ययोजना तथा अनुकूलन र जलवायु वित्तमा विशेष आवश्यकता समेट्नुपर्ने विषय थिए ।

तर हिमाली मुद्दा सम्मेलनको प्रारम्भिक औपचारिक कार्यसूचीमा समावेश हुन सकेन । त्यसपछि नेपालले भुटान र किर्गिस्तानसँग सहकार्य गर्दै उच्चस्तरीय राजनीतिक संवाद र प्राविधिक छलफललाई तीव्रता दियो ।

पाकिस्तान र ताजिकिस्तानलगायतका मुलुकलाई समेत जोडेर साझा आवाज निर्माण गर्ने प्रयास गरियो । यसले हिमाली क्षेत्रको मुद्दालाई नेपालको एकल मागभन्दा साझा क्षेत्रीय सरोकारका रूपमा प्रस्तुत गर्न सहयोग पुर्‍यायो ।

मस्यौदामा प्रस्ताव, अन्तिम निर्णयमा अवरोध

नेपालको निरन्तर पहलपछि नोभेम्बर १६ मा सार्वजनिक सम्मेलनको अध्यक्षताले तयार पारेको मस्यौदा निर्णयमा हिमाली क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्ययोजना प्रस्ताव समेटियो ।

प्रस्तावमा हिमाली पारिस्थितिक प्रणाली, हिमनदीमा निर्भर समुदायको जोखिम, वैज्ञानिक अध्ययन, अनुकूलन, विपद् जोखिम न्यूनीकरण, तथ्यांक संकलन र पूर्वसूचना प्रणालीलाई प्राथमिकता दिने विषय उल्लेख थियो । दुईवर्षे कार्ययोजना स्थापना गर्ने प्रस्तावले हिमाली मुद्दालाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन प्रक्रियाभित्र संस्थागत रूपमा अघि बढाउने बाटो खोल्ने अपेक्षा गरिएको थियो ।

तर सम्मेलनको अन्तिम चरणमा जीवाश्म इन्धनको प्रयोग घटाउने स्पष्ट प्रतिबद्धता, जलवायु वित्त र अन्य विषयमा पक्ष राष्ट्रहरूबीच सहमति जुट्न सकेन ।

अध्यक्षताले अघि सारेको ‘एन्टाल्या प्याक्ट’ अस्वीकृत भएपछि त्यसमा समेटिएको हिमालसम्बन्धी कार्ययोजना पनि औपचारिक निर्णय बन्न सकेन । सम्मेलन नोभेम्बर २२ मा टुंगिए पनि समग्र राजनीतिक सम्झौता पारित हुन नसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

यसले नेपालको पहल असफल भएको अर्थ दिँदैन । पहिलोपटक हिमाली मुद्दालाई छुट्टै कार्ययोजनाका रूपमा अध्यक्षताको मस्यौदामा समेटिनु र त्यसबारे उच्चस्तरीय छलफल हुनु महत्वपूर्ण कूटनीतिक उपलब्धि हो ।

तर मस्यौदामा परेको प्रस्तावलाई अन्तर्राष्ट्रिय प्रतिबद्धता र कार्यान्वयनमा रूपान्तरण गर्न नसक्नु यसको सीमा हो । नेपालले अब कोप–३२ लगायतका आगामी वार्तामा यस विषयलाई पुनः अघि बढाउनुपर्नेछ ।

साझा आवाज र ठूला मुलुकको भूमिका

कोप–३१ मा नेपालको अर्को महत्वपूर्ण प्रयास समान प्रकृतिका जोखिम भोगिरहेका मुलुकसँग सहकार्य विस्तार गर्नु थियो । नेपाल, भुटान, किर्गिस्तान, पाकिस्तान र ताजिकिस्तानले हिमाली एजेन्डाको प्रवर्द्धन, हिमनदी, क्रायोस्फियर, जलवायु जोखिम र दिगो वित्तका विषयमा उच्चस्तरीय कार्यक्रम आयोजना गरे ।

उक्त कार्यक्रममा परराष्ट्रमन्त्री खनालले हिमाल संकटमा पर्दा त्यसको प्रभाव मानवतासम्म पुग्ने बताउँदै हिमाली क्षेत्रमा अनुकूलनका लागि ऋणभन्दा अनुदानमा आधारित, सहज र पूर्वानुमानयोग्य वित्तीय सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।

हानि तथा नोक्सानीसम्बन्धी कोषबाट विपद् प्रभावित समुदायले छिटो र प्रत्यक्ष रूपमा सहयोग पाउनुपर्ने नेपालको माग पनि उहाँले दोहोर्‍याउनुभयो ।

तर हिमालयसँग प्रत्यक्ष सम्बन्ध राख्ने भारत र चीनजस्ता ठूला मुलुकको सक्रिय सहभागिताबिना क्षेत्रीय सहकार्यलाई प्रभावकारी बनाउन कठिन हुनेछ ।

जलवायु वार्तामा नयाँ कार्यसूची थपिँदा त्यससँगै अनुसन्धान, संस्थागत संरचना र वित्तीय दायित्व पनि जोडिने भएकाले कतिपय मुलुकले नयाँ संयन्त्रप्रति आशंका व्यक्त गर्दै आएका छन् । यस्तो अवस्थामा हिमाली मुलुकको साझा आवाजलाई अझ व्यापक समर्थनमा रूपान्तरण गर्नु नेपालको कूटनीतिक चुनौती हो ।

जलवायु न्याय र क्षतिपूर्तिको प्रश्न

नेपालले कोप–३१ मा उठाएको अर्को महत्वपूर्ण विषय जलवायु न्याय र हानि तथा नोक्सानीको क्षतिपूर्ति हो । भोटेकोशी–त्रिशूली बाढीले निम्त्याएको क्षति र पुनःनिर्माणको आर्थिक भार नेपालको सीमित स्रोतसाधनका लागि ठूलो चुनौती बनेको छ ।

जलवायु परिवर्तनमा नगण्य योगदान गर्ने मुलुकले त्यसको असरका कारण ठूलो आर्थिक तथा गैरआर्थिक क्षति बेहोर्नुपरेको अवस्थामा विकसित मुलुकले ऐतिहासिक उत्सर्जन र क्षमताका आधारमा जिम्मेवारी लिनुपर्ने नेपालको तर्क छ ।

हानि तथा नोक्सानीसम्बन्धी कोषबाट नेपालका लागि २१.६ मिलियन अमेरिकी डलर प्रारम्भिक रूपमा स्वीकृत भएको विषय पनि महत्वपूर्ण छ । तर भोटेकोशी–त्रिशूली बाढीबाट भएको क्षति र पुनःनिर्माणको आवश्यकतासँग तुलना गर्दा यो रकम सीमित छ । स्वीकृत रकम प्रभावित समुदायसम्म छिटो र प्रभावकारी रूपमा पुर्‍याउने प्रक्रिया पनि उत्तिकै महत्वपूर्ण हुनेछ ।

कोप–३१ मा जलवायु वित्तको परिमाण र वितरणबारे मतभेद कायमै रह्यो । विकसित मुलुकले सन् २०३५ सम्म प्रतिवर्ष ३०० अर्ब अमेरिकी डलर जलवायु वित्त उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि विकासशील मुलुकले यसलाई आवश्यकता र जिम्मेवारीको तुलनामा अपर्याप्त भन्दै आएका छन् । यसपटक पनि अनुकूलन र हानि तथा नोक्सानीका लागि पर्याप्त सार्वजनिक वित्त जुटाउने विषयमा ठोस सहमति हुन सकेन ।

अबको बाटो : प्रस्तावलाई निर्णयमा बदल्ने

कोप–३१ को समग्र परिणाम निराशाजनक रहे पनि सम्मेलनमा केही विषयमा प्रगति भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सचिवालयले जनाएको छ । न्यायोचित ऊर्जा रूपान्तरण, जलवायु वित्त र अनुकूलनसम्बन्धी वार्तामा केही निर्णय भएका छन् । तर अध्यक्षताको समग्र राजनीतिक सम्झौतामा सहमति नजुट्दा धेरै महत्वपूर्ण विषय अधुरै रहे ।

नेपालका लागि अबको मुख्य काम हिमाली कार्ययोजनाको प्रस्तावलाई आगामी सम्मेलनको वार्तामा निरन्तरता दिनु हो । त्यसका लागि भुटान, किर्गिस्तान, पाकिस्तान र ताजिकिस्तानसँगको सहकार्यलाई संस्थागत गर्दै भारत, चीनलगायत हिमाली प्रणालीसँग प्रत्यक्ष सम्बन्ध राख्ने मुलुकको समर्थन जुटाउनुपर्छ ।

हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी र हिमतालको अवस्था, विपद् जोखिम, नदी प्रणाली र प्रभावित समुदायबारे विश्वसनीय वैज्ञानिक तथ्यांक संकलन तथा साझा अनुसन्धानलाई पनि प्राथमिकता दिनुपर्छ ।

त्यस्तै, जलवायु वित्त र हानि तथा नोक्सानीसम्बन्धी कोषमा हिमाली क्षेत्रका विशेष जोखिमलाई समेट्ने, अनुदानमा आधारित सहयोग सुनिश्चित गर्ने र प्रभावित समुदायसम्म रकम पुर्‍याउने स्पष्ट संयन्त्रका लागि नेपालले निरन्तर पहल गर्नुपर्छ ।

कोप–३१ मा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा हिमालको आवाज सुनाउन र त्यसलाई संस्थागत कार्यसूचीमा पुर्‍याउने आधार तयार गर्न सफलता हासिल गरेको छ ।

तर मस्यौदामा परेको प्रस्ताव पारित नहुनु र जलवायु वित्त तथा क्षतिपूर्तिमा ठोस सहमति नजुट्नुले वास्तविक जलवायु न्यायको बाटो अझै लामो रहेको देखाउँछ ।

हिमालको मुद्दा छलफलमा पुग्नु सुरुवात हो; त्यसलाई बाध्यकारी प्रतिबद्धता, पर्याप्त वित्तीय सहयोग र व्यवहारिक कार्यान्वयनमा बदल्नु नै नेपालको आगामी कूटनीतिक परीक्षाको विषय हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.