विपद् आउनुअघि नै सुरक्षा : हिमताल जोखिम न्यूनीकरणमा ५० मिलियन डलरको परियोजना
हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिम न्यूनीकरण गरी जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको सुरक्षा गर्ने उद्देश्यले नेपालमा करिब ५० मिलियन अमेरिकी डलरको परियोजना सञ्चालन हुने भएको छ ।
‘जिएलओएफ सञ्जिवनी परियोजना’ अन्तर्गत उच्च हिमाली क्षेत्रका चार जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने, मौसम तथा जलविज्ञान अनुगमन प्रणाली विस्तार गर्ने र तल्लो तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली सुदृढ बनाउने काम गरिनेछ ।
कुल ४९.९४ मिलियन अमेरिकी डलर लागतको यो परियोजना सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुनेछ । परियोजनाका लागि हरित जलवायु कोष (जिसिएफ) बाट ३६.१६ मिलियन डलर अनुदान, नेपाल सरकारबाट ११.३२ मिलियन डलर सहवित्तीय योगदान, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) बाट २.१४ मिलियन डलर र निजी क्षेत्रका साझेदारबाट ०.३२ मिलियन डलर योगदान प्राप्त हुनेछ ।
परियोजनाबाट प्रत्यक्ष रूपमा तीन लाख ८५ हजारभन्दा बढी मानिस लाभान्वित हुने अनुमान गरिएको छ । लाभान्वितमध्ये ५५ प्रतिशत महिला रहनेछन् । त्यस्तै, तल्लो तटीय जलाधार क्षेत्रमा बसोबास गर्ने करिब २० लाख मानिसले अप्रत्यक्ष रूपमा बाढी जोखिम न्यूनीकरण तथा सुरक्षाको लाभ प्राप्त गर्नेछन् ।
परियोजनाको उद्घाटन कार्यशालामा जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव नवीनराज सिंहले समयमै प्रभावकारी कार्यान्वयनका लागि एकीकृत तथा सहकार्यमा आधारित दृष्टिकोण अपनाइने बताउनुभयो ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्ने, जलविद्युत् विकासकर्ता, निजी क्षेत्र तथा अन्य सरोकारवालासँग सहकार्य विस्तार गर्ने र परियोजनालाई दीर्घकालीन प्रभावकारी बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
नेपालका हिमाली क्षेत्रमा तापक्रम वृद्धिसँगै हिमनदी पग्लिने क्रम तीव्र भएको र उच्च हिमाली क्षेत्रमा रहेका हिमतालको आकार तथा पानीको मात्रा बढ्दै गएको छ । यसले हिमतालको प्राकृतिक बाँध कमजोर बनाउने, हिमताल विस्फोट र त्यसबाट उत्पन्न बाढीको जोखिम बढाउने सम्भावना छ ।
परम्परागत रूपमा विपद् आएपछि उद्धार तथा राहतमा केन्द्रित हुने अभ्यासलाई परिवर्तन गर्दै जोखिमको पूर्वानुमान, रोकथाम र पूर्वतयारीमा लगानी बढाउनुपर्ने आवश्यकता परियोजनाले औँल्याएको छ ।
विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु परिवर्तनका गम्भीर असर भोगिरहेको छ ।
रसुवा–भोटेकोशी र गण्डकी जलाधार क्षेत्रमा हालै देखिएका आकस्मिक बाढीले हिमाली क्षेत्रको जोखिम र त्यसले निम्त्याउने मानवीय तथा आर्थिक क्षति पुनः उजागर गरेको अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालले बताउनुभयो ।
जलवायुजन्य विपद् जोखिम न्यूनीकरणलाई राष्ट्रिय विकास प्राथमिकता र जवाफदेहितासँग जोडेर अघि बढाउन मन्त्रालय प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
नेपालका लागि युएनडिपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले पछिल्ला विनाशकारी बाढीले जलवायु जोखिम कति छिटो मानवीय र आर्थिक विपत्तिमा परिणत हुन सक्छ भन्ने देखाएको बताउनुभयो ।
विपद् आएपछि प्रतिक्रिया जनाउनेभन्दा जोखिमको पूर्वानुमान गर्ने, न्यूनीकरण गर्ने र विकासका लगानीलाई विपद् आउनुअघि नै सुरक्षित बनाउने दिशामा परियोजनाले महत्वपूर्ण योगदान गर्ने उहाँको भनाइ थियो ।
परियोजनाअन्तर्गत उच्च हिमाली क्षेत्रका चार हिमतालको पानीको सतह घटाइनेछ । डोना, लुम्दिङ छ्यो र तल्लो बरुण हिमतालको सतह तीन–तीन मिटर तथा हङ्गु–२ हिमतालको सतह एक मिटर घटाउने लक्ष्य राखिएको छ ।
हिमतालको पानीको मात्रा नियन्त्रित रूपमा घटाउँदा प्राकृतिक बाँधमा पर्ने दबाब कम गरी विस्फोटजन्य बाढीको जोखिम न्यूनीकरण गर्न सकिने अपेक्षा गरिएको छ ।
हिमतालको सतह घटाउने कार्यसँगै जलवायु जोखिमसम्बन्धी सूचना तथा योजना प्रणाली सुधार, जलविज्ञान र मौसम अनुगमन विस्तार, पूर्वसूचना प्रणाली स्थापना तथा स्तरोन्नति र तल्लो तटीय क्षेत्रमा बाढीको प्रभाव कम गर्न प्रकृतिमा आधारित समाधान तथा सुरक्षात्मक पूर्वाधार निर्माण गरिनेछ । जोखिमसम्बन्धी वैज्ञानिक सूचना समयमै प्रभावित समुदायसम्म पुर्याउने व्यवस्था मिलाइने परियोजनाले जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेतीले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनु भनेको विज्ञानमा आधारित जानकारी जोखिममा रहेका समुदायसम्म पर्याप्त समयअघि पुर्याउनु भएको बताउनुभयो ।
यसबाट जोखिम विपद्मा परिणत हुनुअघि समुदायले सुरक्षित स्थानमा जाने, सम्पत्ति जोगाउने र आवश्यक तयारी गर्न सक्ने उहाँको भनाइ थियो । उत्थानशीलता निर्माणका लागि सरकार, विकास साझेदार, निजी क्षेत्र र स्थानीय समुदायको सामूहिक सहभागिता आवश्यक रहेको उहाँले बताउनुभयो ।
जल तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालले हिमाली क्षेत्र तीव्र गतिमा परिवर्तन भइरहेको र हिमतालहरू जोखिमपूर्ण अवस्थामा पुग्न सक्ने बताउनुभयो ।
सानो हिमतालको बाँध भत्किँदा समेत तल्लो तटीय क्षेत्रमा ठूलो आर्थिक क्षति हुन सक्ने भएकाले वातावरणीय तथा सामाजिक सुरक्षाका मापदण्ड पालना गर्दै पानीको सतह घटाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
परियोजना कार्यान्वयनमा स्थानीय सरकार र छनोट गरिएका नगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । जोखिममा रहेका समुदायलाई पूर्वसूचनाका आधारमा आवश्यक प्रतिक्रिया जनाउन सहयोग गर्ने, भू–उपयोग योजना सुधार गर्ने र स्थानीय सहभागिता सुनिश्चित गर्ने जिम्मेवारी स्थानीय तहको हुनेछ ।
नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले परियोजनाले सुरक्षित बस्ती, जीविकोपार्जन सुधार र जलविद्युत् तथा पर्यटन विकासका अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कार्यान्वयनमा पालिकाको पूर्ण प्रतिबद्धता रहने बताउनुभयो ।
‘जिएलओएफ सञ्जिवनी परियोजना’ जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जल तथा जलस्रोत अनुसन्धान केन्द्रमार्फत कार्यान्वयन हुनेछ ।
चुरे तथा जलाधार संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहकार्य गर्ने निकाय हुन् । अर्थ मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाललगायत साझेदार पनि परियोजनामा संलग्न छन् ।
हरित जलवायु कोष के हो ?
हरित जलवायु कोष संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचनाभित्र स्थापना गरिएको अन्तर्राष्ट्रिय वित्तीय संयन्त्र हो । यसले विकासशील देशहरूलाई जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न तथा त्यसको प्रभावसँग अनुकूलन गर्न अनुदान र अन्य वित्तीय सहयोग उपलब्ध गराउँछ ।
विशेषगरी जलवायु जोखिममा रहेका तर आर्थिक तथा प्राविधिक क्षमता सीमित भएका देशहरूमा स्वच्छ ऊर्जा, वन संरक्षण, जलस्रोत व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण र समुदायको उत्थानशीलता बढाउने परियोजनामा लगानी गर्छ ।
नेपालमा हिमताल विस्फोटको जोखिम घटाउन सञ्चालन हुन लागेको सञ्जिवनी परियोजनामा पनि यही कोषको ठूलो वित्तीय योगदान रहनेछ ।




प्रतिक्रिया राख्नुहोस्