जन सरोकार

अटो चलाएर आत्मनिर्भर बन्ने बाटोमा सञ्जु

स्याङ्जाको वालिङस्थित गाउँ नगर अटो यातायात प्रालिमा दर्ता भएर सञ्चालन भएका एक सय बढी अटो छन् । अटो चालकमा सबै पुरुष छन् भने एकमात्रै महिला चालक हुन् सञ्जु हिताङ । स्याङ्जाको वालिङ नगरपालिका–२ छप्राक बस्ने सञ्जुले घरमै भएको अटो सिकेर त्यसैबाट आत्मनिर्भर बन्ने बाटोमा हुनुहुन्छ ।

“श्रीमान् र देवर दुवैले अटो चलाउनुहुन्थ्यो”, उहाँहरूले अटो चलाउन छाडेपछि आफूले सिकेर त्यही अटो चलाउन थालेकी हुँ”, उहाँले भन्नुभयो ।

ज्याला मजदुरी गर्दै आउनुभएकी सञ्जु बिरामी भएपछि त्यो पेसा छाडेर अटो चलाउन थल्नुभएको हो । विगतमा उहाँ पैसा चाहिएमा श्रीमान्सित माग्नुपर्ने अवस्था थियो भने अहिले अटो चलाउन थालेपछि घर खर्चसहित अन्य खर्च आफैँले गर्न सक्ने हुनुभएको छ ।

महिलाले अटो चलाएको देख्दा कतिपय यात्रुहरूले महिलाले पनि अटो चलाउँछन् र ? भनेर प्रश्न गर्ने गरेको सम्झना छ । सुरुमा पुरुषहरूले मात्रै अटो चलाएको देखेका यात्रुले महिला चालक भएको अटोमा यात्रा गर्न नमान्ने, विश्वास नगर्ने गरेकामा अहिले भने सहज भएको उहाँले बताउनुभयो ।

“सुरु सुरुका दिनमा महिलाले चलाएको अटो रहेछ भनेर यात्रु चढ्न मान्नुहुन्थेन, महिला भनेर पत्याउनुहुन्थेन, विश्वास गर्नुहुन्थेन”, उहाँले भन्नुभयो, “कतिपय भने महिला चालक भएको अटोमा चढेर उहाँलाई हौसला दिनुपर्छ भनेर यात्रा गर्नुहुन्थ्यो, आजभोलि त झन् सहज भएको छ ।”

बिहान र साँझ घरधन्दा सकेर दिनभरि अटो लिएर सडकमा दौडिने सञ्जुले सबै खर्च कटाएर दैनिक रु एक हजार २०० देखि एक हजार ५०० सम्म बचाउनुहुन्छ । बिहानदेखि रातिसम्म यसमै खटेर लाग्ने हो भने त राम्रै आम्दानी हुने उहाँले बताउनुभयो ।

“महिलाले यो काम गर्ने, पुरुषले त्यो काम गर्ने भन्ने हुन्छ जस्तो लाग्दैन”, उहाँले भन्नुभयो, “यो गर्न हुन्छ, त्यो गर्न हुन्न भन्ने हुँदैन, आफूले जे सकिन्छ त्यो गरेर आम्दानीसित जोडिनु राम्रो हो भन्ने लाग्छ ।”

सयौँ पुरुषले यहाँ दर्ता गरेर अटो चलाउनुभएको छ भने एक जनामात्रै महिलाले अटो चलाउँदै आउनुभएको गाउँ नगर अटो यातायात प्रालिका उपाध्यक्ष लालबहादुर सार्कीले बताउनुभयो ।

अटो चलाएर राम्रो आम्दानी गर्दै आउनुभएकी सञ्जुलाई हामीले पनि हौसला दिएका छौँ, जसले गर्दा उहाँ अझ उत्साहित भएर अटो हाँकिरहनुभएको उहाँले बताउनुभयो ।

उपाध्यक्ष सार्कीले भन्नुभयो, “सञ्जुजस्तै मासिक रु ५०–६० हजार कमाउन विदेश गइरहनुपर्दैन, आफ्नै परिवारसित बसेर यहीँ पनि राम्रो आम्दानी गर्न सकिन्छ ।”(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.