नेपालको औद्योगिक इतिहास, प्रजातान्त्रिक आन्दोलन र श्रमिक चेतनासँग जोडिएको विराटनगर जुट मिल्स पुनः सञ्चालनमा ल्याउने प्रयास सुरु भएको छ।
दशकौँदेखि रुग्ण अवस्थामा रहेको देशको पहिलो आधुनिक उद्योगलाई सरकारले दीर्घकालीन लिजमा निजी क्षेत्रको रणनीतिक लगानीमार्फत सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा विराटनगर जुट मिल्स लिमिटेडले आधुनिक प्रविधि, नयाँ व्यवस्थापन र दीर्घकालीन लगानीसहित उद्योग पुनरुत्थान गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताबाट आशयपत्र आह्वान गरेको छ।
विसं १९९३ मा स्थापना भएको विराटनगर जुट मिल नेपालको औद्योगिक यात्राको सुरुआती प्रतीक हो। कृषि उत्पादनलाई औद्योगिक वस्तुमा रूपान्तरण गर्ने, किसानलाई बजारसँग जोड्ने, रोजगारी सिर्जना गर्ने र देशभित्रै उत्पादनको आधार खडा गर्ने उद्देश्यले स्थापित यो उद्योग कुनै सामान्य व्यावसायिक प्रतिष्ठान मात्र थिएन।
नेपालमा आधुनिक उद्योगको विकास, श्रम सम्बन्धको स्थापना र आर्थिक आत्मनिर्भरताको सोचसँग यसको इतिहास जोडिएको छ। जुट खेती गर्ने किसानदेखि उद्योगमा काम गर्ने मजदूर र उत्पादनको बजारसम्म जोड्ने शृंखलाका रूपमा यसले तत्कालीन अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो।
विराटनगर जुट मिलको इतिहास नेपालको राजनीतिक परिवर्तनसँग पनि जोडिएको छ। उद्योग स्थापना र सञ्चालनसँगै विराटनगर औद्योगिक क्षेत्र श्रमिक संगठन, मजदूर चेतना र प्रजातान्त्रिक आन्दोलनको महत्त्वपूर्ण केन्द्र बन्यो।
राणा शासनविरुद्धको राजनीतिक जागरणका क्रममा विराटनगरका मजदूर आन्दोलनले संगठित प्रतिरोधको स्वरलाई बलियो बनाएको थियो। मजदूरहरूको हक, श्रमको सम्मान र राजनीतिक स्वतन्त्रताका लागि भएका संघर्षले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ऐतिहासिक महत्त्व राख्छन्।
त्यसैले विराटनगर जुट मिलको इतिहास उद्योगको उत्पादन र कारोबारमा मात्र सीमित छैन, नेपालको राजनीतिक तथा सामाजिक चेतना विकासको इतिहासमा समेत यसको स्थान छ।
कृषि र उद्योगबीचको सम्बन्ध स्थापित गर्ने कडीका रूपमा पनि जुट मिलको भूमिका उल्लेखनीय थियो। जुट खेतीबाट प्राप्त कच्चा पदार्थलाई उद्योगमा प्रशोधन गरी बोरा, डोरी र अन्य जुटजन्य सामग्री उत्पादन गरिन्थ्यो।
यसले कृषकलाई उत्पादनको बजार उपलब्ध गराउनुका साथै औद्योगिक रोजगारी र व्यापारिक गतिविधि विस्तार गरेको थियो। जुटजस्ता प्राकृतिक र स्थानीय कच्चा पदार्थमा आधारित उद्योगले कृषि उत्पादनलाई मूल्य अभिवृद्धि गर्दै औद्योगिक अर्थतन्त्रको आधार बनाउन सक्ने सम्भावना देखाएको थियो।
आज आयात प्रतिस्थापन, स्वदेशी उत्पादन प्रवर्द्धन र कृषिमा आधारित उद्योग विकासको बहस भइरहेका बेला विराटनगर जुट मिलको पुनरुत्थानले पुरानो औद्योगिक अवधारणालाई नयाँ प्रविधिसँग जोड्ने अवसर पनि प्रदान गर्न सक्छ।
तर ऐतिहासिक महत्त्व र सम्भावना हुँदाहुँदै विराटनगर जुट मिल लामो समयदेखि सञ्चालनमा टिक्न सकेको छैन। राजनीतिक अस्थिरता, व्यवस्थापकीय कमजोरी, आर्थिक समस्या, प्रविधिगत पिछडापन र औद्योगिक प्रतिस्पर्धाका कारण उद्योग पटकपटक बन्द हुँदै र आंशिक रूपमा सञ्चालन हुँदै आएको छ।
देशको औद्योगिक प्रतिष्ठासँग जोडिएको उद्योग दशकौँसम्म रुग्ण रहनु नेपालको औद्योगिक विकासमा देखिएको निरन्तरता अभावको एउटा उदाहरण बनेको छ। यसअघि पनि उद्योग सञ्चालनका विभिन्न प्रयास भए, तर ती दीर्घकालीन रूपमा सफल हुन सकेनन्।
सन् २०१२ मा कोलकाताको विनसम इन्टरनेसनलले २५ वर्षका लागि सञ्चालन सम्झौता गरे पनि १८ महिनामै उद्योगबाट बाहिरिएको थियो। यसले लगानीकर्ता भित्र्याउनु मात्रै पर्याप्त नहुने, सञ्चालन मोडेल, बजार, व्यवस्थापन र नीतिगत स्थिरता पनि उत्तिकै महत्त्वपूर्ण हुने देखाउँछ।
यसपटक सरकारले सार्वजनिक–निजी साझेदारी ९पिपिपी) मोडेलमार्फत दीर्घकालीन लिजमा उद्योग सञ्चालन गर्ने विकल्प रोजेको छ। सरकारले गठन गरेको जुट मिल पुनः सञ्चालन अध्ययन कार्यदलले सरकार आफैँले सञ्चालन गर्ने, दीर्घकालीन लिजमा दिने वा व्यवसायीमार्फत सञ्चालन गर्ने तीन विकल्प सुझाएको थियो।
तीमध्ये दीर्घकालीन लिज मोडेललाई अघि बढाउँदै ३५ वर्षसम्म उद्योग सञ्चालन गर्न पाउने गरी रणनीतिक लगानीकर्ता खोजिएको हो। आशयपत्र आह्वानमा नेपाल, भारत, बङ्गलादेश र चीनका कम्पनी सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। नेपालमा जुट उद्योग सञ्चालन गर्दै आएका व्यवसायीले विदेशी कम्पनीसँग साझेदारी गरेर पनि प्रस्ताव पेस गर्न सक्नेछन्।
नयाँ व्यवस्थापन समूहले दैनिक १२५ टन जुट तथा जुटजन्य सामग्री उत्पादन गर्ने लक्ष्य राखिएको छ। विगतमा उद्योगको दैनिक उत्पादन क्षमता ५० टन रहेको र पूर्ण सञ्चालन हुँदा पनि करिब ४७ टन उत्पादन भएको अभिलेख छ।
आधुनिक प्रविधि र नयाँ उत्पादन प्रणालीमार्फत क्षमता विस्तार गर्ने लक्ष्यसहित लगानीकर्ता खोजिएको हो। पूर्ण क्षमतामा सञ्चालन हुँदा पाँच सयभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ।
विराटनगर र दमकमा रहेका मिलको ६७ बिघा औद्योगिक जग्गा लिज वा साझेदारी अवधारणामा उपलब्ध गराइनेछ। नयाँ लगानीकर्ताले विगतका दायित्व वहन गर्नुपर्ने सर्त नराखिएको पनि जनाइएको छ, जसले नयाँ व्यवस्थापनलाई वित्तीय रूपमा उद्योग पुनरुत्थान गर्न सहज बनाउन सक्छ।
भारतको बिड्ला समूहले तीन वर्षअघि उद्योगको अध्ययन गरेको थियो। अहिले भारतका साथै बङ्गलादेशका जुट उद्योग र कोलकाताका उद्योगीले पनि चासो देखाएको मिल्स सञ्चालक समितिका अध्यक्ष नन्दलाल देवकोटाले बताउनुभएको छ।
जुट उद्योगमा अन्तर्राष्ट्रिय अनुभव, प्रविधि र बजार पहुँच भएका लगानीकर्ता भित्रिएमा नेपालमा उत्पादित जुटजन्य सामग्रीको प्रतिस्पर्धात्मक क्षमता बढाउन सकिने अपेक्षा छ। औद्योगिक व्यवसाय ऐन तथा विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐनअनुसार उपलब्ध सुविधा प्रदान गर्ने गरी लगानी आकर्षित गर्ने सरकारको योजना छ।
मन्त्रालयले आशयपत्र पेस गर्ने म्याद सकिएको एक महिनाभित्र योग्य रणनीतिक लगानीकर्ता छनोट गरी समझदारीपत्रमा हस्ताक्षर गर्ने र सञ्चालन प्रक्रिया अघि बढाउने लक्ष्य राखेको छ। तर विराटनगर जुट मिलको पुनरुत्थानलाई यसको ऐतिहासिक विरासत, मजदूर आन्दोलनसँगको सम्बन्ध, किसान र उद्योगबीचको कडी तथा नेपालको औद्योगिक प्रतिष्ठालाई समेत पुनर्जीवित गर्ने दृष्टिकोण आवश्यक छ।
विराटनगर जुट मिल पुनः सञ्चालनमा आएमा त्यो एउटा बन्द उद्योग खुल्नु मात्र हुनेछैन, नेपालको औद्योगिक इतिहाससँग जोडिएको महत्त्वपूर्ण अध्यायलाई पुनः सक्रिय बनाउने प्रयास हुनेछ। विगतमा राजनीतिक परिवर्तन र श्रमिक आन्दोलनको प्रतीक बनेको उद्योग अब आधुनिक उत्पादन, रोजगारी, कृषि–औद्योगिक सम्बन्ध र स्वदेशी उत्पादनको पुनर्जागरणको प्रतीक बन्न सक्छ।
त्यसका लागि लगानीकर्ता छनोटमा पारदर्शिता, दीर्घकालीन सञ्चालन सुनिश्चितता, श्रमिकको हित, कच्चा पदार्थको आपूर्ति र बजारको स्थायित्वलाई प्राथमिकता दिनु आवश्यक छ। इतिहास बोकेको उद्योगलाई पुनर्जीवित गर्ने चुनौती केवल सञ्चालन सुरु गर्नु होइन, फेरि बन्द नहुने आधार तयार गर्नु हो।




प्रतिक्रिया राख्नुहोस्