अर्थराजनीति

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन गरिने बताउनुभएको छ ।

शुक्रबार हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रमा रहेको उद्योगको अवलोकन गर्दै उहाँले मेसिनको अवस्था र पुनः सञ्चालनका चुनौतीबारे जानकारी लिनुभएको हो ।

मन्त्री पुनले उद्योगका मेसिन निर्माण गर्ने चिनियाँ कम्पनी नै बन्द भइसकेकाले आवश्यक पार्टपुर्जा पाउन कठिनाइ रहेको बताउनुभयो । तथापि, पुराना मेसिनलाई आधुनिक प्रविधिबाट सुधार गर्न सके उत्पादन सम्भव हुने उहाँको भनाइ थियो ।

सरकारको स्वामित्वमा रहेका पुराना उद्योगलाई अनुसन्धान, नवप्रवर्तन र प्रविधिको प्रयोगमार्फत पुनः सञ्चालन गर्न सकिने सम्भावना खोज्न आफू उद्योगको अवस्था बुझ्न आएको उहाँले बताउनुभयो । यसका लागि छुट्टै अनुसन्धान तथा नवप्रवर्तन इकाइ स्थापना गर्नुपर्ने उहाँको धारणा थियो ।

उहाँले वीरगञ्जस्थित कृषि औजार कारखानामा करिब चार बिघा क्षेत्रफलमा अनुसन्धान केन्द्र स्थापना गर्ने र त्यसका लागि रु ७० देखि ८० करोड लगानी आवश्यक पर्ने प्रस्ताव पनि अघि सार्नुभयो । अनुसन्धान तथा प्रविधि विकासमा नेपाली सेनासँग सहकार्य गर्न सकिने उहाँको भनाइ थियो ।

अवलोकनका क्रममा सैनिक सामग्री उत्पादन निर्देशनालयका निर्देशक प्राविधिक सहायक रथी मुकेश बाटाजुले मन्त्री पुनलाई उद्योगको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

विसं २०५७ देखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारी निर्णयअनुसार अहिले परीक्षण उत्पादन भइरहेको छ । उद्योगका ४८८ मेसिनमध्ये नेपाली सेनाले मर्मत तथा सरसफाइ गरेपछि २० वटा लुमबाट कपडा बुन्ने परीक्षण सुरु गरिएको हो । बाँकी मेसिन मर्मतको क्रममा छन् ।

सरकारले गत असार १८ गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि सरसफाइ, विद्युत् प्रणाली सुधार र मेसिन मर्मतको काम अघि बढाएको थियो । परीक्षण उत्पादनका लागि सरकारले रु ३३ लाख बजेट उपलब्ध गराएको छ । हाल बाहिरबाट धागो ल्याएर पुराना मेसिनबाट कपडा बुन्ने परीक्षण भइरहेको छ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.