राजनीति

मन्त्री श्रेष्ठद्वारा म्याग्दी र पर्वतका बाढी प्रभावित क्षेत्रको निरीक्षण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कालीगण्डकी नदीमा आएको बाढीबाट क्षति पुगेका म्याग्दी र पर्वतका विभिन्न क्षेत्रको शनिबार स्थलगत निरीक्षण गर्नुभएको छ ।

सिँचाइ विभाग, नेपाल विद्युत् प्राधिकरण, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीसहित मन्त्री श्रेष्ठले म्याग्दीको बेनी, गलेश्वर र पर्वतको जलजलामा गत असोज दोस्रो साता कालीगण्डकीमा आएको बाढीले पुर्‍याएको क्षतिको निरीक्षण गर्नुभएको हो ।

गत असोज ८ देखि ११ गतेसम्मको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दी, पर्वत, बागलुङ र स्याङ्जामा सडक, सिँचाइ, खानेपानी, विद्युत्, तटबन्ध, सार्वजनिक भवन तथा निजी आवासमा ठूलो क्षति पुर्‍याएको थियो ।

क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि आवश्यक योजना बनाउन, सरोकारवालाका सुझाव लिन तथा प्रभावितसँग भेटघाट र छलफल गर्न स्थलगत निरीक्षणमा आएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

यस वर्ष भोटेकोशी, कालीगण्डकी र बूढीगण्डकी नदीमा आएको अकल्पनीय बाढीले ठूलो क्षति पुर्‍याउनुका साथै पूर्वाधार क्षेत्रमा गम्भीर चुनौती सिर्जना गरेको उहाँले उल्लेख गर्नुभयो । भइरहेका कामको निरीक्षण र आवश्यक योजनाको पहिचान गरी प्राथमिकता निर्धारण गर्न स्थलगत निरीक्षण गरिएको उहाँको भनाइ थियो ।

बेनी नगरपालिका–८ गणेशटोल पछाडिको क्षेत्रमा कालीगण्डकीको कटानबाट भत्किएको करिब एक सय मिटर पक्की पर्खाल पुनर्निर्माण गर्न तथा बेनी नगरपालिका–२ भसभसे, सिङ्गा, तातोपानी कुण्ड, गलेश्वर, कालीपुल र मङ्गलाघाट क्षेत्रमा तत्काल नदी नियन्त्रणको काम अघि बढाउन नगरप्रमुख सुरत केसीले मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराउनुभयो ।

त्यसैगरी, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले कालीगण्डकीको बाढीले बस्ती नै बगाएको फर्से क्षेत्रमा नदी नियन्त्रण, विस्थापितको पुन:स्थापना र कालीगण्डकीमा पुल निर्माणका लागि मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराउनुभयो ।

मन्त्री श्रेष्ठले बेनी क्षेत्रमा नदी नियन्त्रणको काम अघि बढाउन बजेटको स्रोत सुनिश्चितता गरिसकिएको जानकारी दिनुभयो । कालीगण्डकी बेसिनका जोखिमयुक्त तथा क्षतिग्रस्त बस्तीको संरक्षणका लागि बेनीमा कार्यालय स्थापना गरिएको र सोही कार्यालयमार्फत योजना सञ्चालन गरिने उहाँले बताउनुभयो ।

बाढीबाट अकल्पनीय क्षति भएकाले बस्ती संरक्षण र तटबन्ध निर्माणका योजनाका लागि स्रोत व्यवस्थापन चुनौतीपूर्ण बनेको उहाँको भनाइ थियो । प्रधानमन्त्री राहत कोषमा प्राप्त सहयोग रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणमार्फत पुनर्निर्माणमा परिचालन गरिने उहाँले जानकारी दिनुभयो ।

यस वर्षको विपद्ले जलवायु अनुकूल पूर्वाधार निर्माणलाई विकासको अनिवार्य सर्त बनाएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले विद्युत् नियमन आयोगले निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाका संरचनालाई सुरक्षित बनाउने विषयमा अध्ययन गरेको बताउनुभयो ।

भोटेकोशीको बाढीबाट ऊर्जा क्षेत्रसँगै मानवीय जनशक्तिमा समेत ठूलो क्षति भएको उहाँले उल्लेख गर्नुभयो । यस्ता विपद्को सामना गर्न अन्तरराष्ट्रिय साथ र सहयोग मागिएको जानकारी दिँदै उहाँले विकास संरचना निर्माण गर्नुमात्र पर्याप्त नहुने, त्यसको सुरक्षा, दिगोपना र नागरिकको जीवनको सुनिश्चितता पनि उत्तिकै महत्त्वपूर्ण हुने बताउनुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.