नेपालमा वैदेशिक रोजगारीबाट भित्रिने रकमको उल्लेख्य हिस्सा अझै पनि हुण्डीजस्ता अनौपचारिक माध्यमबाट कारोबार हुने आशंका छ। यसले मुलुकमा भित्रिने विदेशी मुद्रा औपचारिक वित्तीय प्रणालीमा अभिलेख नहुने मात्र होइन, नेपालबाट अवैध रूपमा रकम बाहिरिने प्रवृत्तिले समेत अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ।
विदेशी मुद्रा आर्जन गर्ने ठूलो स्रोत विप्रेषण भए पनि त्यसको प्रवाह र उपयोग पारदर्शी नहुँदा वित्तीय प्रणाली, लगानीको वातावरण र आर्थिक विकासमा प्रतिकूल असर परेको छ।
नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइ (एफआईयू) ले सार्वजनिक गरेको ‘स्ट्राटेजिक एनालसिस रिपोर्ट २०२६’ ले हुण्डी कारोबारको बढ्दो जोखिम औंल्याएको छ।
प्रतिवेदनअनुसार पुस २०८१ देखि असार २०८३ सम्म हुण्डीको आशंकामा रिपोर्टिङ भएका शंकास्पद कारोबारमध्ये करिब ९० प्रतिशत वाणिज्य बैंकबाट रिपोर्टिङ भएका छन्। बाँकी कारोबार विकास बैंक, वित्त कम्पनी, भुक्तानी सेवा प्रदायक र रेमिट्यान्स कम्पनीबाट रिपोर्टिङ भएका हुन्।
हुण्डी कारोबार सीमापार रकम पठाउन अनौपचारिक माध्यम प्रयोग गर्ने प्रक्रियामा सीमित छैन। नेपालभित्र रकम संकलन र वितरण गर्न बैंक खाता तथा डिजिटल वालेट प्रयोग हुने गरेको प्रतिवेदनले देखाएको छ।
धेरै व्यक्तिबाट एउटै खातामा रकम जम्मा गर्ने र तत्कालै अन्य खातामा स्थानान्तरण गर्ने प्रवृत्तिले रकमको वास्तविक स्रोत तथा अन्तिम लाभग्राहीको पहिचान लुकाउने जोखिम बढाएको छ।
खुद्रा व्यापार गर्ने फर्म र मनी ट्रान्सफर एजेन्टमार्फत शंकास्पद कारोबारको ८४ प्रतिशत रिपोर्टिङ भएको तथ्यले व्यावसायिक आवरणमा समेत यस्तो गतिविधि हुन सक्ने देखाउँछ।
रकम बाहिरिँदा अर्थतन्त्रमा थप दबाब
हुण्डीबाट रकम भित्रिने मात्र होइन, नेपालबाट अनौपचारिक रूपमा रकम बाहिरिने प्रवृत्तिले पनि अर्थतन्त्रमा नकारात्मक असर पार्छ। औपचारिक बैंकिङ प्रणालीबाहिरबाट हुने भुक्तानीले विदेशी मुद्रा बाहिरिने वास्तविक परिमाण अभिलेखमा नदेखिने जोखिम हुन्छ।
यसले विदेशी मुद्रा सञ्चितिको व्यवस्थापन, भुक्तानी सन्तुलन र मुद्रा विनिमयसम्बन्धी नीतिगत विश्लेषणलाई जटिल बनाउन सक्छ। साथै, अवैध रूपमा रकम बाहिरिँदा स्वदेशमा लगानी हुन सक्ने पूँजी पलायन हुने र उत्पादन, रोजगारी तथा व्यवसाय विस्तारका अवसर गुम्ने सम्भावना रहन्छ।
अवैध मुद्रा प्रवाहले विदेशी लगानीको वातावरणमा पनि असर पार्न सक्छ। वित्तीय कारोबार पारदर्शी नहुने, रकमको स्रोत र गन्तव्य पहिचान गर्न कठिन हुने तथा सम्पत्ति शुद्धीकरण नियन्त्रण कमजोर देखिने अवस्थाले अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास घटाउन सक्छ।
यस्तो परिस्थितिमा वैध लगानीकर्ताले थप निगरानी, अनुपालन लागत र प्रक्रियागत जोखिम सामना गर्नुपर्ने हुन सक्छ। त्यसैले हुण्डी नियन्त्रण वित्तीय अपराध रोक्ने विषय मात्र नभई पूँजी पलायन नियन्त्रण र लगानीको वातावरण सुधारसँग पनि जोडिएको छ।
प्रतिवेदनअनुसार हुण्डी कारोबारमा संलग्न रहेको आशंका गरिएका व्यक्तिमध्ये ६५.३ प्रतिशत २५ देखि ४४ वर्ष उमेर समूहका पुरुष छन्। त्यस्तै, ५२.७६ प्रतिशत मधेश प्रदेशसँग सम्बन्धित छन्।
भारतसँगको खुला सीमा र वैदेशिक रोजगारीमा जाने ठूलो जनसंख्यालाई यसको सम्भावित कारण मानिएको छ। डिजिटल माध्यम र क्रिप्टोकरेन्सीबाट कारोबारको हिसाब मिलाउने प्रवृत्तिले नियन्त्रणको चुनौती थपेको छ।
नेपाल प्रहरीले हुण्डीसम्बन्धी अनुसन्धान अघि बढाएका घटना आर्थिक वर्ष २०७८/७९ मा १८ रहेकामा २०८१/८२ मा बढेर ६० पुगेका छन्। पाँच वर्षमा यस्ता मुद्दासँग सम्बन्धित दुई अर्ब ७३ करोड रुपैयाँ बराबरको रकम जफत गरिएको प्रतिवेदनले जनाएको छ।
विप्रेषणलाई उत्पादनसँग जोड्नुपर्ने
हुण्डी नियन्त्रणका लागि निगरानी र कारबाहीसँगै औपचारिक रेमिट्यान्स प्रणालीलाई सस्तो, छिटो र सहज बनाउन आवश्यक छ। बैंक तथा रेमिट्यान्स कम्पनीको सेवा शुल्क घटाउने, डिजिटल भुक्तानी प्रणाली विस्तार गर्ने र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक माध्यमको प्रयोग गर्न प्रोत्साहित गर्ने नीति आवश्यक देखिन्छ।
त्यसैगरी, औपचारिक माध्यमबाट भित्रिएको विप्रेषणलाई उपभोगमा मात्र सीमित नराखी कृषि, ऊर्जा, पर्यटन, उद्योग र साना तथा मझौला उद्यममा लगानी गर्ने वातावरण बनाउनुपर्छ।
विदेशमा कमाएको रकम स्वदेशमा सुरक्षित रूपमा लगानी गर्न सकिने अवसर र विश्वास सिर्जना गर्न सके विप्रेषण उत्पादन, रोजगारी र आय वृद्धिको आधार बन्न सक्छ।
एफआईयूले वित्तीय संस्थाको कारोबार अनुगमन प्रभावकारी बनाउन कृत्रिम बुद्धिमत्ता र मेसिन लर्निङमा आधारित प्रणाली प्रयोग गर्न, ग्राहकको वास्तविक पहिचान तथा रकमको स्रोत पत्ता लगाउन र शंकास्पद कारोबारको तत्काल रिपोर्टिङ गर्न सुझाव दिएको छ।
भन्सार, बैंक र आन्तरिक राजस्व विभागबीच तथ्यांक आदानप्रदान तथा मिलान प्रणाली सुदृढ गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।
नेपालका लागि चुनौती अवैध मुद्रा प्रवाह रोक्नु मात्र होइन, भित्रिने विप्रेषणलाई औपचारिक प्रणालीमा ल्याउनु र बाहिरिने अवैध पूँजी नियन्त्रण गर्नु पनि हो।
यी दुवै पक्षमा प्रभावकारी नियमनसँगै उत्पादनमूलक लगानीको वातावरण बनाउन सके विदेशी मुद्रा सञ्चिति र वित्तीय पारदर्शिता बलियो हुनुका साथै स्वदेशमै पूँजी परिचालन, रोजगारी सिर्जना र आर्थिक विकासलाई गति दिन सकिन्छ।




प्रतिक्रिया राख्नुहोस्