जल/वातावरणस्वास्थ्य

जलवायु परिवर्तनको स्वास्थ्य संकट : मलेरिया सार्ने लामखुट्टेमा नयाँ आनुवंशिक परिवर्तन

जलवायु परिवर्तनका कारण विश्वको तापक्रम निरन्तर बढ्दै जाँदा विगतमा नियन्त्रणमा आएका तथा उन्मूलनको चरणमा पुगेका संक्रामक रोग पुनः फैलिने जोखिम बढ्न थालेको छ।

तापक्रम र वर्षाको स्वरूपमा आएको परिवर्तनले रोग सार्ने लामखुट्टे, किर्ना तथा अन्य कीराको प्रजनन र भौगोलिक विस्तारमा प्रभाव पारिरहेको छ। यसले मानिसमा मात्र नभई पशुपक्षीमा समेत नयाँ तथा पुराना संक्रामक रोगको जोखिम बढाएको छ।

यसैबीच वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।

नयाँ अध्ययनअनुसार यो जीनको परिवर्तनले भाले लामखुट्टेलाई गर्मीमा बढी प्रजनन गर्न सहयोग गर्छ भने पोथी लामखुट्टेलाई मलेरियाको परजीवीबाट संक्रमित हुने जोखिम बढाउँछ। यसले तापक्रम वृद्धिसँगै मलेरिया फैलिने सम्भावना थप बढ्न सक्ने संकेत गरेको छ।

चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको अनुसन्धान केन्द्रका वैज्ञानिकहरूले गरेको यो अध्ययन हालै ‘सेल’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको हो।

सिन्ह्वाका अनुसार यस अध्ययनले अफ्रिकामा मलेरिया सार्ने एक प्रकारको लामखुट्टे तीव्र गतिमा फैलिनुको कारण बुझ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मलेरिया संक्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो विश्वका घातक संक्रामक रोगमध्ये एक मानिन्छ। अध्ययन गरिएको एनोफिलिज स्टेफेन्सी नामक लामखुट्टे अन्य मलेरिया सार्ने लामखुट्टेभन्दा फरक छ।

यो ग्रामीण क्षेत्रमा मात्र नभई सहरमा पनि सजिलै बस्न र प्रजनन गर्न सक्छ। घरमा राखिएका पानीका भाँडा, ट्याङ्की तथा अन्य पानी जम्ने ठाउँमा यसले अण्डा पार्छ।

यो लामखुट्टे सन् २०१२ मा अफ्रिकी देश जिबुटीमा पहिलोपटक भेटिएको थियो। त्यसपछि अफ्रिकाका विभिन्न देशमा फैलिएको छ। बढ्दो तापक्रम सहन सक्ने क्षमता भएकाले जलवायु परिवर्तनसँगै यसको विस्तार अझ बढ्न सक्ने वैज्ञानिकहरूको चिन्ता छ।

अनुसन्धानका क्रममा वैज्ञानिकहरूले लामखुट्टेको शरीरमा हुने ‘टाइमलेस’ नामक जीनमा प्राकृतिक परिवर्तन फेला पारेका छन्। यो जीनले शरीरको जैविक घडी अर्थात् सुत्ने, उठ्ने र दैनिक गतिविधिको समय नियन्त्रण गर्न मद्दत गर्छ।

अध्ययनअनुसार उक्त जीनमा परिवर्तन भएका भाले लामखुट्टेले उच्च तापक्रममा सामान्य लामखुट्टेको तुलनामा ३.६ देखि ४.७ गुणासम्म बढी प्रजनन सफलता हासिल गरेका छन्। उनीहरू बढी सक्रिय भएर उड्न सक्छन् र पोथीलाई आकर्षित गर्ने रासायनिक पदार्थ पनि बढी उत्पादन गर्छन्।

तर पोथी लामखुट्टेमा भने यसको असर फरक देखिएको छ। उक्त जीनमा परिवर्तन भएका पोथी लामखुट्टे मलेरिया परजीवीबाट सामान्य पोथीको तुलनामा बढी संक्रमित हुने अध्ययनले देखाएको छ। यसको कारण उनीहरूको रोगसँग लड्ने क्षमता कमजोर हुनु रहेको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ।

अनुसन्धानकर्ता वाङ सिबाओका अनुसार अब लामखुट्टेको फैलावटसँगै त्यसमा हुने आनुवंशिक परिवर्तनको पनि निगरानी गर्न आवश्यक छ।

उहाँले यस अध्ययनले जलवायु परिवर्तनले रोग फैलाउने लामखुट्टेको विकासमा कस्तो प्रभाव पार्छ भन्ने बुझ्न मद्दत गर्ने बताउनुभएको छ। साथै, यसले मलेरियाको जोखिम पहिचान गर्न र नियन्त्रणका कार्यक्रम प्रभावकारी बनाउन वैज्ञानिक आधार प्रदान गर्ने उहाँको भनाइ छ।

नियन्त्रणमा आएका रोग पुनः फैलिने जोखिम

नेपालमा पनि मलेरिया नियन्त्रणका लागि लामो समयदेखि अभियान सञ्चालन हुँदै आएको छ। विगतमा तराईका जिल्लामा ठूलो जनस्वास्थ्य समस्याका रूपमा रहेको मलेरिया नियन्त्रणका कार्यक्रम, औषधि उपचार, लामखुट्टे नियन्त्रण र जनचेतनाका कारण संक्रमण उल्लेख्य रूपमा घटेको छ।

नेपालले सन् २०२५ सम्म मलेरिया उन्मूलन गर्ने लक्ष्य राखेको थियो। तर, संक्रमण शून्यमा पुर्‍याउन नसकिएको र आयातित तथा स्थानीय संक्रमणको जोखिम कायमै रहेकाले यसलाई पूर्ण रूपमा उन्मूलन भएको रोगका रूपमा बुझ्न मिल्दैन।

पछिल्ला वर्षहरूमा तापक्रम वृद्धि, वर्षाको अनियमितता, बाढीपहिरो र वातावरणीय परिवर्तनले लामखुट्टेको बासस्थान तथा प्रजनन क्षेत्र विस्तार गर्न सक्ने जोखिम बढाएको छ।

विगतमा मलेरिया कम देखिएका पहाडी तथा उच्च भूभागमा समेत रोग सार्ने लामखुट्टे पुग्न सक्ने सम्भावनाबारे स्वास्थ्य वैज्ञानिकहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। त्यसैले पहिले रोग नियन्त्रणमा आएको क्षेत्र सुरक्षित नै रहन्छ भन्ने निश्चित छैन।

जलवायु परिवर्तनले मलेरिया मात्र होइन, डेंगु, चिकनगुनिया र अन्य लामखुट्टेबाट सर्ने रोगको जोखिम पनि बढाउन सक्छ। तापक्रम बढ्दा लामखुट्टेको जीवनचक्र छोटिनु, प्रजनन अवधि बढ्नु र रोग सार्ने क्षमता परिवर्तन हुनुजस्ता असर देखिन सक्छन्।

वर्षाको स्वरूप बदलिँदा पानी जम्ने स्थान बढ्न सक्छन् भने अत्यधिक गर्मी र खडेरीले मानिसलाई पानी भण्डारण गर्न बाध्य पार्दा लामखुट्टेको प्रजननका लागि थप ठाउँ उपलब्ध हुन सक्छ।

यसको असर मानिसमा मात्र सीमित छैन। तापक्रम, वर्षा र पारिस्थितिक प्रणालीमा आएको परिवर्तनले पशुपक्षीमा लाग्ने रोगका जीवाणु, विषाणु र परजीवीको फैलावटमा पनि प्रभाव पार्न सक्छ।

किर्ना, लामखुट्टे तथा अन्य रोगवाहक जीव नयाँ क्षेत्रमा फैलिँदा पशुमा लाग्ने रोगको जोखिम बढ्न सक्छ। वन्यजन्तु, घरपालुवा पशु र मानिसबीचको सम्पर्क बढ्दा जनावरबाट मानिसमा सर्न सक्ने रोगको जोखिमसमेत थपिन सक्छ।

विश्वका विभिन्न क्षेत्रमा नयाँ संक्रामक रोग देखा पर्नुका साथै पहिले नियन्त्रणमा रहेका रोग पुनः देखिन थालेका घटनाले स्वास्थ्य प्रणालीका लागि नयाँ चुनौती थपेका छन्।

तापक्रम वृद्धि, वन विनाश, जैविक विविधताको ह्रास, अनियन्त्रित सहरीकरण र मानिस तथा वन्यजन्तुबीच बढ्दो सम्पर्कले रोग फैलिने वातावरण बनाउन सक्छ। त्यसैले रोग नियन्त्रणलाई अस्पताल र औषधिमा मात्र सीमित नराखी वातावरण, पशु स्वास्थ्य र मानव स्वास्थ्यलाई एकीकृत रूपमा हेर्नुपर्ने आवश्यकता बढेको छ।

नेपालजस्तो भौगोलिक र जैविक विविधता भएको मुलुकमा जलवायु परिवर्तनको प्रभाव अझ जटिल हुन सक्छ। तराईदेखि हिमाली क्षेत्रसम्म फरक–फरक तापक्रम र वातावरणीय अवस्था रहेकाले रोगवाहक जीवको विस्तार र रोगको स्वरूप पनि क्षेत्रअनुसार फरक हुन सक्छ।

हिमाली क्षेत्रमा तापक्रम बढ्दै जाँदा पहिले चिसोका कारण बाँच्न नसक्ने कीरा तथा रोगवाहक जीव उच्च भूभागमा पुग्न सक्ने सम्भावना रहन्छ।

यस अवस्थामा मलेरिया नियन्त्रणका लागि विगतमा प्राप्त उपलब्धि जोगाउनुका साथै नयाँ जोखिमको समयमै पहिचान आवश्यक छ। लामखुट्टेको प्रजाति, प्रजनन क्षेत्र र आनुवंशिक परिवर्तनको निगरानी, रोगको नियमित परीक्षण, स्थानीय स्वास्थ्य संस्थाको क्षमता विकास तथा सीमा क्षेत्रमा रोग निगरानीलाई प्रभावकारी बनाउनुपर्छ। पशुपक्षीमा देखिने असामान्य रोगको पनि समयमै पहिचान र रिपोर्टिङ गर्न आवश्यक छ।

जलवायु परिवर्तनलाई वातावरणीय समस्या मात्र ठान्ने हो भने यसको स्वास्थ्यसम्बन्धी असर नियन्त्रण गर्न कठिन हुनेछ। तापक्रम वृद्धिसँगै रोग फैलिने भूगोल र प्रकृति बदलिँदै गएको अवस्थामा मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणलाई एकैसाथ जोडेर हेर्ने ‘एक स्वास्थ्य’ अवधारणालाई व्यवहारमा लागू गर्नु आवश्यक छ।

विगतमा नियन्त्रणमा ल्याइएका रोग पुनः फैलिन नदिन वैज्ञानिक अनुसन्धान, नियमित निगरानी र प्रभावकारी सार्वजनिक स्वास्थ्य तयारी अबको प्राथमिकता बन्नुपर्छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.