प्रबास

पोर्चुगलको मदेइरामा घुम्ती शिविर सुरु, पहिलो दिन ५५ नेपालीले लिए सेवा

पोर्चुगलको लिस्बनस्थित रहेको नेपाली दूतावासले सामुद्रिक टापु ‘मदेइरा’मा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको छ ।

पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलको नेतृत्वमा गएको टोलीले मदेइरा आइल्यान्डको फुन्चालमा घुम्ती शिविर सञ्चालन गरेर शनिबारदेखि राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको हो । घुम्ती सेवाको पहिलो दिन आज ५५ जना सेवाग्राही नेपालीले सेवा लिएको टोलीले जनाएको छ ।

राहदानी नवीकरण तथा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई घुम्ती शिविरमार्फत मदेइरामै सेवा दिन सुरु गरिएको राजदूत पौडेलले बताउनुभयो । दुई दिनसम्म सञ्चालन हुने घुम्ती शिविरबाट मदेइरा क्षेत्रमा बसोबास गर्ने एक सय बढी नेपालीले सेवा लिने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

आइतबारसम्म सञ्चालन हुने शिविरमा उपस्थित भई राहदानी नवीकरणलगायतका कागजात प्रमाणीकरणसम्बन्धी सेवा लिन राजदूत पौडेलले मदेइरावासी नेपाली समुदायलाई विशेष आग्रहसमेत गर्नुभयो ।

शिविर अवधिभर दूतावासको टोलीले राहदानीको म्याद सकिएका, हराएका, क्षति भएका तथा राहदानीको म्याद छ महिनाभन्दा कम रहेकाको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गर्नेछ ।

यस्तै प्रहरी रिपोर्ट, पारिवारिक कागजातलगायत अन्य कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा प्रमाणीकरणलगायतका सेवा प्रदान गरिने दूतावासले जनाएको छ । दूतावासले मदेइरा टापुमा पहिलोपटक घुम्ती शिविर सञ्चालन गरेको हो ।

घुम्ती शिविरले राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका मदेइरावासी नेपालीलाई राहत मिलेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्वमहासचिव निराजन सुवेदीले बताउनुभयो ।

विशेषतः शिविरबाट पोर्चुगलको कागजी प्रक्रियामा रहेका तर राहदानी नै नभएका, म्याद सकिएका, हराएका र अन्य कागजात प्रमाणीकरण गर्नुपर्ने नेपालीहरूलाई राहत मिलेको उहाँको भनाइ छ ।

घुम्ती शिविरबाटै दूतावासको सेवा पाउँदा सामुद्रिक टापु मदेइरा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूका लागि अत्यन्तै सहज भएको सुवेदीले बताउनुभयो ।

यसअघि गत महिना पनि दूतावासले पोर्चुगलको फारो सहरमा घुम्ती शिविर सञ्चालन गरेर दुई सय नेपालीलाई सेवा दिएको थियो । पोर्चुगलमा नेपालीको यकिन तथ्याङ्क नभए पनि अनुमानित ७० हजारको हाराहारीमा रहेको अनुमान छभने मदेइरामा दुई हजार बढीको हाराहारीमा नेपाली रहेको अनुमान छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.